काठमाडौं, आइतबार सम्पन्न स्थानीय तहको उपनिर्बाचनको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो जीत हासिल गरेको छ । काठमाडौं महानगरपालिका वडा–१६ को अध्यक्ष पदमा रास्वपाकी उमेदवार रोजिना श्रेष्ठ बिजयी भएपछि यो नै रास्वपाको पहिलो जीत भएको हो। रास्वपाको जीत संगै उक्त वडा नेपाली काँग्रेसले गुमाउन पुगेको छ।
आइतबार भएको निर्वाचनको परिणाम सोमबार बिहान सार्वजनिक भएको हो । जसअनुसार वडा नम्बर १६ को अध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ १ हजार ५८४ मत ल्याएर निर्वाचित भएकी हुन्। नेपाली कांग्रेसका देवेन्द्र पाठक २८० मतान्तरले पराजित भए। कांग्रेसका पाठकले १ हजार ३०४ मत पाए।
यो वडामा नेकपा एमाले तेस्रो भएको छ। एमालेका उमेदवार लक्ष्मीरत्न तुलाधरले १ हजार २१८ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ। एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले ६५१, राप्रपाका श्यामकृष्ण श्रेष्ठले ६२२ मत पाएका छन्।
उपनिर्वाचनमा रास्वापाले २७ स्थानमा उमेदवार उठाएको छ। मतगणना भइरहेका अन्यत्र स्थानमा भने रास्वपाको उपस्थिति खासै देखिएको छैन । ०७९ को स्थानीय तहको निर्वाचन हुँदा रास्वापाको स्थापना भइसकेको थिएन । उपनिर्वाचनमा रास्वपाले दलहरुको यसअघिको विरासत तोडेको छ।
काग्रेसले गुमायो, तुलाधर फेरि पराजित
२०७९ को निर्वाचनमा काठमाडौं–१६ को वडाध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल निर्वाचित भएका थिए । त्यस अगाडी २०७४ को निर्वाचनमा पनि वडाध्यक्षमा रिजाल नै निर्वाचित भएका थिए। वडाध्यक्षमा निर्वाचित मुकुन्द रिजालको ०८० भदौ २१ गते निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको थियो।
०७९ को निर्वाचनमा रिजालले चार हजार १९ मत पाएका थिए। निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधरले तीन हजार ३१० मत ल्याएका थिए । दोश्रो पटक पनि उमेद्वार बनेका तुलाधर उपनिर्वाचनमा फेरी पनि पराजित भएका छन्।
उक्त वडामा एकीकृत समाजवादीका लक्ष्मण गमालले एक हजार ५८९, राप्रपाकी विन्दिका गुरुङले ५५७ मत पाएका थिए। स्वतन्त्र उमेदवार शान्जे गुरुङले ३२२, अर्जुन थापा क्षेत्रीले २१६, नेमकिपाका श्रीराम महर्जनले ३२, अर्का स्वतन्त्र वसन्तराज भेटुवालले १९ र स्वतन्त्र रामशरण पौडेलले ६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।