Play

मङ्सिर १६ मा उपनिर्वाचन हुँदै, आफ्ना उमेदवार जिताउन कांग्रेसका नेताहरुलाई विभिन्न जिम्मेवारी

देशका विभिन्न ४४ स्थानमा उपनिर्बाचन हुने, मङ्सिर २ गते उमेद्वारी दर्ता


गुरुकुल खबर


काठमाडौँ, मुलुकका विभिन्न जिल्लास्थित विभिन्न निकायमा मङ्सिर १६ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीका उमेदवारलाई विजयी गराउन नेपाली कांग्रेसले आफ्नो पार्टीका नेताहरू विभिन्न जिम्मेवारी दिएको छ।

बुधबार पार्टीको केन्द्रीय कार्यालयमा सानेपामा बसेको पार्टीको स्थानीय तह उपनिर्वाचन केन्द्रिय संयोजन समितिको बैठकले पार्टीका उम्मेदवारलाई विजयी गराउन नेताहरूको जिम्मेवारी तोकेको हो । बैठक स्थानीय तह उपनिर्वाचन केन्द्रिय संयोजन समितिका संयोजक एबम पार्टीका महामन्त्री विश्वप्रकाश शर्माको सभातित्वमा बसेको थियो।

बैठकले उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक, समन्वय र सहजीकरण गर्न नेताहरुलाई जिम्मेवारी तोकेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पौडेलका अनुसार बैठकले पार्टीका सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय ‘डिना’लाई बागमती प्रदेश, भीष्मराज आङ्दम्बेलाई  कोशी प्रदेश, महेन्द्र यादवलाई मधेस प्रदेश, जीवन परियारलाई कर्णाली प्रदेश र गण्डकी प्रदेश, पार्टीका प्रबक्ता डा. प्रकाशशरण महतलाई अन्तर पार्टी समन्वय, केन्द्रीय सदस्य एनपी साउदलाई सुदूरपश्चिम प्रदेश, केन्द्रीय सदस्य पुष्पा भुसाललाई लुम्बिनी प्रदेश एवं निर्वाचन आयोग समन्वय गर्ने जिम्मेवारी दिएको छ

यसैगरी पार्टीका प्रचार बिभाग प्रमुख मिन विश्वकर्मा प्रचार प्रसार संयोजनको जिम्मेवारी दिईएको छ भने मधु आचार्यलाई  स्थानीय तह समन्वय र नानु बाँस्तोलालाई सचिवालय व्यवस्थापनको जिम्मेवारी दिईएको केन्द्रीय कार्यालयले जनाएको छ।बैठकले उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन सम्पूर्ण एकता, शालीनता र सक्रियताका साथ अघि बढ्ने निर्णय पनि गरेको छ ।

उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्नुपर्न ब्यबस्था गरिएको छ। अहिले विभिन्न पार्टीले उपनिर्बाचनको लागि आफ्ना उमेद्वार तय गर्ने र चुनाब जित्ने रणनीति तयार गर्न प्रयासरत रहेको बुझिएको छ।

आगामी मङ्सिर १६ गते जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुँदै छ । निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३, झापाको कन्काइ नगरपालिका वडा नं ६, तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपलिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहटको ईशनाथ नगरपालिका वडा नं ७, राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ को वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।

काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं १ र ४, काठमाडौँ महानगरपालिका वडा नं १६, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा नगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४, रुकुम (पूर्वी) पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ र कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं १ का वडाध्यक्ष पदमा निर्वाचन हुने निर्बाचन आयोगले जनाएको छ ।

दैलेखको दुल्लु नगरपालिका वडा नं १३, कालिकोटको तिलागुफा नगरपालिका वडा नं ४, जाजरकोट कुशे गाउँपालिका वडा नं ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका वडा नं ५, बझाङको सुर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ ।

२२ कार्तिक २०८१, बिहीबार ०४:०२ मा प्रकाशित
Nabintech