Play

सकियो ‘तिहार पर्ब’, नेपाल लगायत बिभिन्न देशमा रहेका नेपालीले लगाए ‘भाईटिका’

गुरुकुल खबर


पोखरा, नेपालीहरुको दोश्रो ठुलो चाड मानिने तिहार पर्ब नेपाल लगायत विभिन्न मुलुकमा दाजुभाईलाई दिदी बहिनी हरुबाट टिका लगाएर मनाइएको छ प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन तिहार पर्वको उख्य दिन भाईटिकाको रुपमा यो पर्ब मनाउने गरिएको छ ।

यमपञ्चक समेत भनिने तिहारको पाँचौँ एवं अन्तिम दिन आइतबार भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो । आज भाइटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहिआएको छ।

भाइटीका लगाउन आज दिनभर बाधा नभएपनि साइत खोज्नेका लागि समितिले नेपालमा मध्याह्न ११ः३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम भनी सार्वजनिक गरेको थियो । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यता अनुसार बिहान ११ः३७ बजे नै टीका लगाएको जनाइएको छ।

दशैंको टिकाको लागि नेपाल र अन्य मुलुकमा टिकाको साईत् छुट्टाछुट्टै दिनमा परेको बताइएपनि तिहारको टिकाको साईत भने नेपाल लगायत अधिकांश मुलुकमा आइतबार नै परेको जनाइएको थियो।  सोहि अनुरुप नेपाल संगै अष्ट्रेलिया, जापान र युरोपियन मुलुक लगायतमा एकै दिन र करिब एकै समयमा टिका लगाएको भएपनि अमेरिकामा भने भोलिपल्ट मात्र टिका लगाइएको छ।

भाइटिकाको दिन लक्ष्मी पूजाका क्रममा स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिने प्रचलन रहिआएको छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिएपनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी दिए ।

टीका लगाइदिएपछि दिदी बहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदी बहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा रही आएको छ ।

दिदी बहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदी बहिनी नहुनेहरु  भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

यसैगरी दिदि बहिनी नभएर वा विभिन्न कारणले टिका लगाउन नपाउनेहरु पनि सम्भव भएसम्म परिवारका सदस्यहरु सहित भेला भएर खानपिन गरि रमाइलो गर्ने प्रचलन रहीआएको छ। तिहार पर्बमा टाढा टाढा रहेका दिदि बहिनी र दाजु भाईहरु एकै ठाउँमा भेटघाट हुने महत्वपुर्ण पर्वको रुपमा पनि लिने गरिन्छ।

कतिपय दाजु भाई दिदि बहिनीहरु भौगोलिक हिसाबले टाढा रहेको र भौतिक रुपमा उपस्थित भएर टिका लगाउन नमिल्दा अनलाईन ( सामाजिक संजाल ) बाट समेत टिका लगाउने प्रचलन बढ्न लागेको छ।

यसैगरी काठमाडौँको जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा आजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए ।

१९ कार्तिक २०८१, सोमबार ०५:५१ मा प्रकाशित
Nabintech