Play

नेपाल-बंगलादेश बिचको फाइनल खेल हेर्न दर्शकको भिड, सुरक्षा ब्यबस्था कडा, प्रम ओली पनि रंगशाला जाने

गुरुकुल खबर


काठमाडौँ, साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न काठमाडौंको दशरथ रंगशालामा दर्शकहरुको बाक्लो उपस्थिति रहेको छ आज साँझ साढे ६ बजेबाट नेपाल-बंगलादेशबीच खेल हुँदैछ।

खेलको क्रममा दर्शकले अवाञ्छनीय गतिविधि गर्नसक्ने भन्दै प्रहरीले सुरक्षा ब्यबस्था कडा बनाएको छ। रंगशाला भित्रिने दर्शकहरुलाई प्रहरीले चेकिङमा कडाइ गरेको छ। सुरक्षाकर्मीले सुरक्षा जाँचपछि टिकट भएका दर्शकलाई प्रवेश दिइरहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार खेल हुने स्थान दशरथ रंगशाला र आसपासमा सुरक्षाको राम्रो व्यवस्था गरिएको छ । उनले विभिन्न कोणबाट सुरक्षा विश्लेषण गर्दै सोही अनुसार सुरक्षाकर्मी परिचालन भएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न त्रिपुरेश्वरस्थित दशरथ रंगशालामै पुग्ने भएको कारण पनि सुरक्षा ब्यबस्थालाई कडा बनाइएको अनुमान गरिएको छ।

रंगशालाको गेट, प्याराफिट, खेल मैदान सवैतिर फरक फरक टोली खटाइएको रजौरेले बताए । ‘त्यसबाहेक बम डिष्पोजल टोली, एम्बुलेन्स पनि तयारी अवस्थामा राखेका छौ’, उनले भने, ‘आवश्यकताअनुसार बर्दी र सादा पोसाकका प्रहरीले सुरक्षा प्रदान गर्नेछन् ।’

त्यस्तै दर्शकहरू पनि खेलाडीको हौसला बढाउन नेपालको झन्डा र जर्सी लगाएर रं‌गशाला पुगेका छन्। पटक–पटक फाइनलमा पुगेर पनि हालसम्म उपाधि जित्न नसकेको नेपाली टोलीको हौसला बढाउन दर्शकहरू उत्साही छन्।

 

१४ कार्तिक २०८१, बुधबार १६:५७ मा प्रकाशित
Nabintech