काठमाडौँ, रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरेको बिरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन गर्दा पक्राउ परेका ५१ जनालाई साँझ मुक्त गरिएको छ । सहकारी ठगी प्रकरणमा कात्तिक २ लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएकोमा मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन गरेको थियो।
सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका लामिछानेको पक्राउको विरोधमा प्रदर्शनकारीहरू बालुवाटारस्थित निषेधित क्षेत्रभित्र घुस्न खोजेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा ५१ जनामध्ये एक जना महिला र बाँकी सबै पुरुष रहेको काठमाडौँका एसपी नबराज अधिकारीले जानकारी दिए उनका अनुसार पक्राउ परेका सांसद अशोक चौधरीसहितका ५१ जना रिहा भएका हुन् । निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणलगायतमा अनुसन्धान गर्ने भन्दै म्याद थपेर कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ । लामिछानेमाथि न्यायिक प्रक्रिया चल्दै गर्दा रास्वपाका नेता कार्यकर्ताले भने निरन्तर प्रदर्शन गर्दै सरकारको कडा आलोचना गर्दै आएका छन् ।
राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेतिथिबिरुद्ध एवं सहकारी पीडितको ८८ अर्व फिर्तासहितको न्यायका लागि भन्दै आन्दोलन गर्नुपरेको रास्वपाको दाबी छ । प्रदर्शनका क्रममा रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले दुई तिहाइको सरकारले आफ्ना सभापतिलाई प्रतिशोधका आधारमा पक्राउ गरेको बताए । अर्का उपसभापति स्वर्णिम वाग्लेले रास्वपा सरकारमा आए स्वतन्त्र न्यायिक आयोग बनाएर भ्रष्टाचारको निष्पक्ष छानबिन गरिने बताए ।
सडकमा सर्बसाधारण, रास्वपा नेताहरु भने प्रम र गृहमन्त्री भेट्न बालुवाटार
यसैबीच सडकमा लामिछानेको रिहाईको लागि सर्बसाधारणलाई उतारेर आन्दोलन गरिरहेको रास्वपाका केहि नेताले मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओली र गृह मन्त्री रमेश लेखक संग भेटघाट गरेका छन्। उनीहरुको भेटलाई अर्थपूर्ण मानिएको छ । सडकमा विरोध प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री र सरकारलाई चर्को गाली गरिरहेको भएपनि प्रधानमन्त्री र मन्त्री संग गोप्य भेट हुनुले उक्त भेटलाई अर्थपूर्ण मानिएको हो ।
यसैबीच लामिछानेको सोमबार करिब साढे ८ घण्टा बयान लिएको प्रहरीले मंगलबार भने बयान नलिएको बुझिएको छ। सोमबार उनलाई सरकारी वकिलको कार्यालयबाटै बयान लिइएको थियो । कात्तिक २ गते पक्राउ परेका उनलाई दोस्रो पटक म्याद थपिएको छ । उनलाई तिहार पछि मात्रै रुपन्देही लैजाने बुझिएको छ । रुपन्देही जिल्ला अदालतबाट उनीसहित १२ जना बिरुद्द पक्राउ पुर्जी जारी भैसकेको छ ।
स्वर्णलक्ष्मी सहकारीमा पनि लामिछानेको संलग्नता रहेको प्रहरीको भनाई
यसैबीच काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनमा पनि लामिछानेको संलग्नताका प्रमाण भेटिएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त कालिमाटीको फाइल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा झिकाएर गरिएको अनुसन्धानको क्रममा जीबी र रविले संयुक्त नाममा ऋण लिएको खुलेको हो। २०७८ भदौ ४ मा उनीहरुले ‘फोर ह्विलर लोन’ र २०७८ कार्तिक १ मा ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न भनेर ऋण निकासा गराएको भेटिएको छ । ‘फोर ह्विलर लोन’ बापत ४६ लाख ९८ हजार लिएको तर, ३२ लाख २१ हजार फिर्ता नगरेको स्वर्णलक्ष्मीको रेकर्डमा भेटिएको छ ।
त्यस्तै, ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न ४६ लाख ८८ हजार लिएर २९ लाख ५२ हजार नतिरेको अनुसन्धानबाट भेटिएको छ । स्वर्णलक्ष्मीबाट गैह्रकानुनी रुपमा रवि र जीबीसहितको नाममा प्रवाह भएको लोनको ३५ थान भौचर प्रहरीले बरामद गरेको छ । स्वर्णलक्ष्मीबारे अनुसन्धान गरेका प्रहरी वृत्त कालीमाटीका एकजना अधिकृत भन्छन्, ‘रवि लामिछानेको नाम समेत भएको ३५ थान भौचर बरामद गरेका छौँ ।’ उक्त सहकारीका ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएको काठमाडौँका एसएसपी वसन्त रजौरेले जानकारी दिएका छन।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीबी राई हुन् । उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘ईन्टरपोल’बाट रेड नोटिस जारी भएको छ । पोखरास्थित सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा जीबीलाई प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरिएको छ ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा २४ जना विरुद्ध पक्राउ पुर्जी
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा जीबी राईका साढु भाइ दीपक लामासहित २४ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । गोकर्णेश्वोर नगरपालिका–६ बस्दै आएका दीपक लामा पोखरास्थित सूर्यदर्शन र बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनमा पनि संलग्न देखिएका छन् । पोखरा र रुपन्देहीबाट पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । २७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ।
स्वर्णलक्ष्मीका कोषाध्यक्ष कुमार रम्तेल पोखरास्थित जिल्ला कारागार कास्कीमा थुनामा छन् । उनलाई झिकाएर बयान गर्ने तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । प्रहरी स्रोतका अनुसार जीबी राई, कुमार रम्तेल, व्यवस्थापक नवीन अछामी र दीपक लामासहित २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जीबीभन्दा अगाडि उनका साढु भाइ दीपक स्वर्णलक्ष्मीको अध्यक्ष थिए ।
नयाँ कृषि सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेर थुनामुक्त भएका नवीन अछामी अहिले फरार छन् । स्वर्णलक्ष्मी सहकारीका पीडितहरूले नन्दु तण्डुकारको संयोजकत्वमा संघर्षसमिति बनाएर आन्दोलन गर्दै आएका थिए ।