पोखरा, पोखराको एभरेस्ट एफएमले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २५१ जनाले रक्तदान गरेका छन। पोखरामा रगतको अभाव भएपछि त्यसको पूर्ति गर्न एफएमले रक्तदान कार्यक्रम आयोजना गरेकोमा दुई सय तिनजना पुरुष र ४८ जना महिला गरेर कुल दुई सय ५१ जनाले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रममा पहिलो रक्तदाता उल्लेख्य मात्रामा सहभागी थिए ।
रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीको कालिका गण, तमु धिँ नेपाल, तमु युवा समिति, नेवा ल्याम्ह पुचः, जिफन्ट गण्डकी, सिटिजन फर्निचर, पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाप)लगायतका संघसंस्थाहरुको संस्थागत सहभागिता रहेको थियो ।
‘स्वस्थ जीवनका लागि रक्तदान, पुण्यका लागि रक्तदान’ भन्ने नाराका साथ आयोजित रक्तदान कार्यक्रमको एफएमकी कार्यकारी अध्यक्ष कर्मकुमारी गुरुङले पहिलो रक्तदाता गण्डकी प्रदेश उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटालाई ब्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गरेकी थिईन् ।
विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगतको अभाव देखिएपछि प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराको आह्वानमा रक्तदान कार्यक्रम आयोजना गरिएको एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा बोल्दै उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटाले खेर जाने रगत दान गरेर मृत्यूसँग लडिरहेका विरामीको ज्यान बचाउन सकिने भएकाले योग्य व्यक्तिले समय समयमा रक्तदान गरिरहनुपर्ने बताए ।
गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले एफएमको जीवन बचाउने अभियानमा आफू सँधै सहभागी हुँदै आएको र यसपटकपनि त्यसलाई निरन्तरता दिएको बताए ।
एफएमकी कार्यकारी अध्यक्ष कर्मकुमारी गुरुङले एफएमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको बताईन् ।
प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराका प्राविधिक प्रमुख अर्जुन ज्ञवालीले नियमित रक्तदान गरेर आफूपनि स्वस्थ बन्ने र अरुकोपनि ज्यान बचाउन सकिने बताए ।