Play

होटल संघ पोखराको नयाँ कार्यसमिति चयनमा सहमति, चार मनोनित सदस्य सहितको पदस्थापन

गुरुकुल खबर


पोखरा,  होटल संघ पोखरा नेपालका नवनिर्वाचित पदाधिकारी र मनोनित सदस्यहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पोखराको लेकसाइड स्थित संघको कार्यालयमा सोमबार आयोजित समारोहमा निर्वाचन मण्डलका संयोजक भरतराज पराजुलीले निर्वाचित पदाधिकारीलाई सपथग्रहण गराएका थिए  चारजना मनोनित सदस्यलाई भने नवनिर्वाचित अध्यक्ष लक्ष्मण सुवेदीले सपथग्रहण गराएका थिए । संघको विहीबार पोखरामा सम्पन्न २१ औं अधिवेशन तथा ४२ औं साधारण सभाले १२ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको थियो ।

होटल संघ पोखराको कार्यसमिति 

संघको अध्यक्षमा आगामी कार्यकालको लागि पनि लक्ष्मण सुबेदी निर्बिरोध निर्बाचित भएका हुन्। समितिको निवर्तमान अध्यक्षमा विकल तुलाचन रहेका छन् । प्रथम उपाध्यक्षमा दीपक श्रेष्ठ, द्वितीय उपाध्यक्षमा गणेशराज पहारी, महासचिवमा राजेन्द्र ढकाल र सचिवमा पार्वता पाण्डे चयन भए । कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल र सहकोषाध्यक्षमा वैभव पौडेल निर्वाचित भए ।

यसैगरी समितिको सदस्यमा भरतराज शर्मा, डिल्लीराम गौतम, पञ्चम लामा, शिवराज पहारी र प्रतीकराज पहारी निर्वाचित भएको निर्वाचन समितिका संयोजक भरतराज पराजुलीले जानकारी दिए । स्टार र नन स्टार होटलतर्फबाट छ–छ जना, निवर्तमान अध्यक्ष एक जना र मनोनित चार गरी संघको कार्यसमिति कूल १७ सदस्यीय हुन्छ । अध्यक्षमा पुनः निर्वाचित भएपछि सुवेदीले सबै क्षेत्रको साथ र सहयोग लिएर संघका गतिविधि अगाडि बढाउने र प्रवद्र्धनका कार्यक्रमहरुमा जोड दिइने बताए ।

चारजना सदस्यहरु मनोनित

यसैबीच अध्यक्ष सुबेदीले संघको बिधान बमोजिम चारजना लाई सदस्यमा मनोनित गरेका छन । मनोनित सदस्यमा ट्रेकर्स लजका सरोज अधिकारी, होटल रोमान्टिकाका मोहदत्त भुसाल, होटल सनफ्लावरका शिवप्रसाद अधिकारी र होटल ट्रेकर्स इनका महादेव भण्डारी रहेका छन् ।

अधिबेशन एबम साधारण सभाको उद्घाटन समारोह 

यस अघि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले होटल संघको अधिवेशन र साधारण सभाको उद्घाटन गरेका थिए । कार्यक्रममा उनले पोखरा पर्यटकीय राजधानी घोषणा गर्न गरिएको संघर्ष स्मरण गराउँदै यस्तो घोषणा गर्वको कुरा भएको बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्न हरसंभव पहल थालिने बताए । पोखरा आउने पर्यटकको तथ्यांक राखिने घोषणा गर्दै उनले पोखरालाई सफा राख्न सरसफाई कर्मचारीहरुको संख्या वृद्धि गरिएको जानकारी गराए ।

होटल संघ नेपाल गण्डकीका अध्यक्ष एवं होटल संघ पोखरा नेपालका पूर्व अध्यक्ष एवं सल्लाहकार हरिप्रसाद शर्मा गैह्रेले विविध समस्याका कारण अहिले होटल व्यवसाय अगाडि बढाउने कार्य चुनौतिपूर्ण भएको बताए । पर्यटक आगमन उत्साहप्रद नभएको र उनीहरुको बसाई अबधि समेत घट्न पुगेको गैह्रेले सुनाए । पोखरा पर्यटकको बाइपासमा पर्न थालेको भन्दै उनले पोखरामा अन्तर्राष्ट्रिय उडान अब अनिवार्य भएको भनाई राखे ।

होटल संघ नेपालका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपाल निर्वाचन समितिका संयोजक भरतराज पराजुलीले संघको नयाँ कार्यसमिति घोषणा गर्दै निर्वाचित सबैलाई बधाई दिए । होटल क्षेत्र सबैभन्दा ठूलो लगानी भएको क्षेत्र भन्दै उनले संघ पुरानो संस्था भएको समेत स्मरण गराए ।

उद्घाटन शत्रमा बोल्दै संघका अध्यक्ष सुवेदीले पोखरा र वरपरको होटल क्षेत्रमा पाँच खर्ब रुपैयाँको लगानी रहेको जानकारी गराउँदै हवाई र सडक यातायातलाई चुस्त र दुरुस्त बनाए मात्र पोखरामा पर्यटक बढाउन सकिने बताए । संघ, पोखरा महानगर र वायु सेवा कम्पनीका प्रतिनिधिसँग बसेर पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको पहल थालिने पनि उनले सुनाए ।  संघका महासचिव राजेन्द्र ढकालले १२ बुँदे कार्ययोजना प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा निर्वाचन समितिका संयोजक एवम् सदस्यहरु, होटल संघ नेपाल, संस्थाका अध्यक्ष, पुर्व अध्यक्षहरु संघका सदस्यहरु, अधिवेशनमा सहयोग गर्ने व्यक्ति र संस्थाहरुलाई सुवेदीले धन्यवाद ज्ञापन गरेका छन् ।  यसै गरी अघिल्लो कार्यकाललाई सफल बनाउन र संस्थाको हरेक उत्सव, महोत्सव एवम् कार्यक्रमहरुलाई सम्पन्न गर्न सहयोग गर्ने प्रति पनि उनले आभार प्रकट गरेका छन् ।

१३ कार्तिक २०८१, मंगलवार ०५:०५ मा प्रकाशित
Nabintech