Play

सहकारी प्रकरणमा रास्वपाका गतिबिधि: राज्यका निकायलाई आतंकित पार्ने र विधिको शासन बिपरित

गुरुकुल खबर


काठमाडौँ, नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा अनुसन्धानको क्रममा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेका समर्थकहरुले गरिरहेको हुल–हुज्जत र सडक प्रदर्शनले न्यायिक प्रकृयामा हुने प्रारम्भिक अनुसन्धानलाई नै प्रभावित गर्ने र राज्यका तटस्थ निकायहरुलाई आतङ्कित र त्रसित पारी अनुचित दवाव सिर्जना गर्न अनुचित क्रियाकलाप भैरहेको जनाएको छ । राज्यका वैधानिक निकायबाट भैरहेको निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणको कार्यलाई वाधा पुर्याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता, सामाजिक सद्भाव र स्थानीय शान्ति सुरक्षामा समेत खलल्  पुर्याउने गतिविधि भैरहेको भन्दै नेपाली काँग्रेसले खेद समेत प्रकट गरेको छ।

नेपाली काँग्रेस केन्द्रीय सूचन संचार तथा प्रचार प्रसार विभागका प्रमुख मिन बिश्वकर्मा द्वारा जारी बिज्ञप्तीमा भनिएको छ “कानून सबैका लागि समान हुन्छ र हुनु पर्छ । विधिको शासन भनेको कानूनका दृष्टिमा सबै नागरिक बराबरी हुनु हो । मुलुकका केही सहकारी संस्थामा रकम जम्मा गर्ने बचतकर्ताको बचत हिनामिना भएको, उक्त रकम बचतकर्ताले फिर्ता नपाएको र उक्त रकमहरु कानून विपरीत सहकारी संचालकहरुले निजी कम्पनीमा समेत दिई अपचलन गरेको भन्ने व्यापक गुनासो आएको र केही सहकारीको रकम अपचलन गरेको भनी गोर्खा मिडिया कम्पनीका संचालकहरु जीबी राई, छविलाल जोशी र प्रबन्ध निर्देशक एवं तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध विभिन्न निकायमा उजुर परेता पनि छानविन प्रकृया अगाडि नबढेको हुँदा  प्रतिनिधि सभाका सांसदहरुले गृहमन्त्री स्वयं संलग्न रहेकोले प्रहरी प्रशासनले समयमा छानविन गर्न नसकिरहेको अवस्थामा प्रतिनिधि सभाबाट छानविनका लागि सहकारी छानविन संसदीय विशेष समिति गठन भयो । उक्त समितिले विस्तृत अध्ययन पश्चात दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएकोले  वर्तमान मन्त्रिपरिषद्ले निर्णय गरी उक्त प्रतिवेदन कार्यान्वयनको प्रकृयामा रहेको व्यहोरा सबैमा अवगत नै छ।”

प्रतिवेदनले कार्वाहीका लागि सिफारिश गरेका विभिन्न आरोपितहरुमध्ये गोर्खा मिडिया कम्पनीका संचालक जीबी राई फरार रहेको, छविलाल जोशी केही समय पहिल्यै पक्राउ परी अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका र सोही प्रकरणमा जोडिएका अर्का आरोपित व्यक्ति रवि लामिछाने पनि केही दिन पहिले पक्राउ परी अनुसन्धानका लागि प्रहरी हिरासतमा नै रहेका उल्लेख गर्दै बिज्ञप्तीमा कुनै पनि कसुरमा आरोप लागेपछि वैधानिक निकायबाट गरिने अनुसन्धान, छानविन र न्यायिक प्रकृयालाई सहयोग गर्नु प्रत्येक नागरिक र राजनीतिक दलको कर्तब्य हो तर राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा भैरहेको गतिविधिहरुले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको जनाइएको छ ।

प्रचलित कानून बमोजिम कसुर ठहरिने कुनै पनि गतिविधिमा संलग्न जुनसुकै दल, पद वा हैसियतको व्यक्ति भए पनि उनीहरु माथि समान ढंगले अनुसन्धान गरी कानूनी दायरामा ल्याउनु पर्छ भन्ने मान्यताप्रति नेपाली काँग्रेस प्रतिवद्ध रहेको भन्दै बिज्ञप्तीमा विधिको शासन कायम गर्न, न्यायिक प्रकृयालाई विश्वसनीय बनाउन, न्याय प्रणालीलाई स्वतन्त्र र निष्पक्ष बनाई राख्नु हामी सबैको कर्तव्य भएकोले हुनाले उत्तेजित र उच्छृङ्खल गतिविधि नगरी संयमित भई अनुसन्धान र न्यायिक प्रकृयामा सहयोग पु¥याउन सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकमा अपिल समेत गरिएको छ।

७ कार्तिक २०८१, बुधबार १७:०३ मा प्रकाशित
Nabintech