Play

लामिछानेका समर्थक र सहकारी पिडितहरुबीच पोखरामा द्वन्दको सम्भावना, कास्की प्रशासन सचेत

लामिछाने र जोशीलाई कास्की प्रहरी हिरासतमा छुट्टाछुट्टै कोठा


गुरुकुल खबर


पोखरा, रास्वपाका सभापति एबम पूर्व गृहमन्त्री रबि लामिछानेलाई शुक्रबार पक्राउ गरेर पोखरा ल्याई हिरासतमा राखिएको बिरोधमा रास्वपाका कार्यकर्ताहरु सडकमा उत्रिएका छन्। रास्वपा सडकमा उत्रिने भएपछि सहकारी पिडितहरु समेत सडकमा उत्रिने कार्यक्रम तय गरेको कारण लामिछानेका समर्थ र सहकारी पिडितबीच द्वन्दको सम्भावना बढेको छ।

काठमाडौँबाट शुक्रबार बेलुका पक्राउ गरेपछि लामिछानेलाई शनिबार बिहान पोखरा ल्याएर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेपछि नै रास्वपा कार्यकर्ताहरु प्रहरी कार्यालय अगाडी नाराबाजीमा उत्रिएका थिए। उनीहरुको बिरोधलाई कतिपयले लामिछानेलाई चोखो बनाउन शक्ति प्रदर्शनमा लामिछानेका समर्थखरु लागेको बताएका छन।

प्रहरीले लामिछानेलाई पक्राउ गरेर पोखरा ल्याएदेखि नै लामिछानेका समर्थक रास्वपाका नेता तथा कार्यकर्ताहरुले बिरोध गरिरहेका छन । लामिछानेलाई फसाउन खोजेको र प्रतिशोध लिन खोजेको भन्दै शनिबार पनि पोखरामा रास्वपा उपसभापति स्वर्णिम वाग्ले र डिपी अर्याल लगायतले लामिछाने निर्दोष भएको तर लामिछानेसँग सरकारले बदला लिएको दाबि गरे।

रास्वपा प्रवक्ता समेत रहेका सांसद मनीष झाले लामिछानेलाई फसाउनकै लागि संगठित अपराधको मुद्दा चलाएको दाबी गरे। ‘हाम्रो सभापतिलाई पक्राउ गरेर कांग्रेस र एमालेले आफ्ना कार्यकर्ता चोख्याउन खोजेका हुन्। संगठित अपराधका मुद्दा लगाएपछि अधिकतम ९५ दिन थुन्न पाइन्छ भनेर लगाएका छन्,’ उनले भने।

लामिछानेका समर्थकहरुले सहकारी पिडितकै लागि आफुहरु सडकमा आएको भनि भाषण गरेपनि स्वयम् सहकारी पिडितहरु भने लामिछाने पक्राउ परेपछि सहकारीमा डुबेको आफुहरुको पैसा आउने विश्वासमा छन्। लामिछानेलाई पक्राउ गरेपछि अन्य दोषीहरु समेत पक्राउ पर्ने र सहकारीको बिषय टुंगोमा पुग्ने उनीहरुको बिश्वास छ।

लामिछानेलाई सहकारी ठगीको बिषयमा छानबिन र अनुसन्धान गर्न पक्राउ गर्दा बिरोध नगर्न र निष्पक्ष छानबिनमा सघाउन सहकारी पिडितले आग्रह गरिरहेका छन्। तर त्यस बिपरित लामिछानेका कार्यकर्ता सडकमा उत्रिएपछि सहकारी पिडितपनि सडकमा उत्रिने योजना बनाएका हुन्।

यसै क्रममा कास्की प्रहरी कार्यालयअगाडि सहकारी पीडितले शनिबार मौन प्रदर्शन गरेका थिए भने आइतबार पनि दुवै पक्षले सडकमा प्रदर्शन गर्ने योजना बनाएका छन्। लामिछानेमाथि भइरहेको अनुसन्धान प्रभावित गर्न पार्टीको शक्ति दुरूपयोग गरेकाले निष्पक्ष छानबिनको माग राखेर सहकारीमा रकम डुबेका हामी सहकारी पिडितहरुले पनि मिलेर  खबरदारी गरेको सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए।

‘रास्वपाका साथीहरू अनुसन्धानलाई प्रभावित हुन नदिन तयार हुनुहुन्छ भने हामी पनि सडकमा आउँदैनौं भनेका छौं,’ संयोजक श्रेष्ठले भने, ‘सहकारी ठगीको आरोप लागेका व्यक्तिका पक्षमा सडक आन्दोलन हुन्छ भने पीडितका पक्षमा पनि आन्दोलन हुनुपर्‍यो नि।’

तर रास्वपाका प्रबक्ता मनिष झाले भने सहकारी पीडितका नाममा कांग्रेस र एमालेका मान्छे सडकमा देखिएको आरोप लगाए। सहकारी पीडितलाई अवरोध नगरेको भन्दै प्रवक्ता झाले सहकारी पीडितलाई भेटेर आफूहरूले कुराकानी गरेको र आफूहरू पनि पीडितकै पक्षमा रहेको दाबी गरे।

लामिछानेका कार्यकर्ताहरु र सहकारी पिडितहरु दुबै पक्ष आइतबार सडकमा निस्किने तयारोमा छन। लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीले आइतबार अदालतमा म्याद थपको अनुमति लिने तयारी गरेकोले अदालत नजिकै शहिद चोकमा लामिछानेका समर्थकहरुले बिरोध प्रदर्शन गर्ने योजना बनाएका छन् । सहकारी पीडितले पनि पोखरामा सडकमा नारा जुलुस गर्ने जनाएका छन्।

शनिबार रास्वपा कार्यकर्ताले मानबअधिकार चोकमा प्रदर्शन गरेपछी सहकारी पीडितले जिल्ला प्रहरी कार्यालय अगाडी मौन जुलुश गरेको भएपनि आइतबार भने उनीहरुले सडकमा नाराबाजी गर्ने जनाएपछि दुवै पक्ष बीच द्वन्द हुने सम्भावना बढेको हो । आमने सामने भएर द्वन्द हुन नदिन प्रहरी सहित कास्कीका प्रमुख जिल्ला अधिकारीले सजगता अपनाउन खोजेको छन्।

दुई पक्षबिच सडकमा द्वन्दको स्थिति आउन नदिन कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले शनिबार बिहान दुवै पक्षसँग छुट्टाछुट्टै छलफल गरेका थिए। उनीहरूलाई आफ्ना कार्यक्रम शान्तिपूर्ण तरिकाले गर्न र अदालती प्रक्रियामा गएको मुद्दा प्रभावित हुने खालका गतिविधि नगर्न आग्रह गरेका थिए।

कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियासहित जिल्लाका सुरक्षा निकाय प्रमुख लगायत सम्मिलित बैठकमा दुवै पक्षले प्रशासनको आग्रहबमोजिम नै कार्यक्रम गर्ने बताएका थिए। रास्वपाले चिप्लेढुंगाको मानवअधिकार चोक र सहकारी पीडितले गैह्रापाटनको प्रहरी कार्यालयअगाडि प्रदर्शन गर्ने भने अनुरुप नै शनिबार कार्यक्रम भएकोमा आइतबार पनि सुरक्षा अधिकारीहरुले छुट्टा छुट्टै स्थानमा कार्यक्रम गर्न आग्रह गरेको बुझिएको छ।

रवि लामिछानेका समर्थक र सहकारी पीडितबीचको जुहारी गत वर्षदेखि नै चल्न थालेको हो। गत बर्ष लामिछाने पोखरा आउँदा सहकारी पीडितले विरोध प्रदर्शन गर्न खोज्दा लामिछानेले पीडितलाई भेटेर आफ्नाविरूद्ध गतिविधि नगर्न र आफू पनि पीडित भएको र पीडितको पक्षमा अग्रमोर्चामा उभिएर आन्दोलनमा होमिने वचन दिएका थिए।

उनले दिएको आश्वासन अनुरुप त्यसबेला सहकारी पिडितले नाराजुलुस र विरोध रोकेको भएपनि लामिछाने उपप्रधान तथा गृहमन्त्री भएपछि सहकारी पीडितका पक्षमा कुनै कदम चाल्न नसकेको, सहकारी ठगीका मुख्य अभियुक्त जिबी राईसहित फरार अभियुक्तलाई पक्राउ गर्न नसकेको र विभिन्न छानबिन प्रतिवेदनले लामिछाने स्वयं सहकारीको रकम हिनामिनामा सहभागी देखिएको भन्दै पीडितले उनीविरूद्ध आन्दोलन गर्न थालेका हुन।

सहकारी ठगीमा संलग्न देखिएको भन्दै पीडितले लामिछानेविरूद्ध गत माघ २२ गते जाहेरी पनि दिए। उनीहरुले दिएको जाहेरीमा सहकारीबाट गैरकानुनी ढंगले रकम लिने अरु धेरै व्यक्ति र संस्थाको नाम समेत रहेको र धेरै जना पक्राउ समेत परेको छन। शुक्रबार लामिछानेको नाममा पक्राउ पुर्जी जारी हुँदा अन्य व्यक्ति र संस्था सहित १४ जना विरूद्ध पनि पुर्जी जारी भएको छ।

जाहेरी परेपछि पनि मन्त्री भएका लामिछानेको दल रास्वपा अहिले प्रतिपक्षमा छ। प्रतिपक्षमा रहेका बेला सहकारी पीडित एकातिर र पीडकको आरोप लागेका लामिछाने र उनका कार्यकर्ता अर्कातिर हुँदा मुद्दा अझै पेचिलो बन्ने देखिएको छ। किनभने, ग्यालेक्सी टेलिभिजनका पूर्वसञ्चालक छविलाल जोशी, व्यवस्थापक कुमार रम्तेल लगायतले दिएको बयानमा सहकारीबाट टेलिभिजनमा रकम लैजान लामिछानेको भूमिका मुख्य रहेको आरोप लगाएका छन्।

सहकारी अपचलनका मुख्य योजनाकार मानिएका जिबी राई भने अझै फरार छन्। राई पक्राउ परेको खण्डमा थप तथ्य खुल्न सक्ने सूर्यदर्शन सहकारी ठगीबारे अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरू बताउँछन्।

लामिछाने र जोशी दुवै कास्की प्रहरीको हिरासतमा, कोठा भने छुट्टाछुट्टै 

सहकारी ठगीको आरोप लागेका पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशी अहिले कास्की प्रहरीको हिरासत कक्षमा छन्। उनीहरु दुबैको लागि कास्की प्रहरीले छुट्टाछुट्टै कोठा उपलब्ध गराएको छ । एउटै फ्ल्याटका दुइटा कोठामा बसे पनि उनीहरूको देखभेट भने नहुने बुझिएको छ ।

शनिबार बिहान पौने ३ बजे लामिछाने हिरासत कक्ष छिरेका उनलाई प्रहरीले बढी सुविधा दिएको छ। हिरासत कक्षका अन्य कोठामा थुनुवाको भीड भए पनि लामिछाने र जोशी एक्लै बस्न पाएका छन्। साधारण थुनुवालाई भन्दा उनीहरूलाई खुकुलो र सजिलो छ।

लामिछाने र जोशी दुवै एउटै मुद्दामा पक्राउ परेका हुन्। दुवैमाथि पोखराको सूर्यदर्शन सहकारीको बचत गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर मासेको आरोप छ। गोर्खा मिडियाबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनका सञ्चालक एवं प्रबन्ध निर्देशक लामिछाने थिए भने जोशी सञ्चालक थिए। दुवैले सहकारीको रकम अपचलन गरेको र उक्त अपचलनमा संगठित रूपले लागेको आरोप छ

सहकारीको बचत अपचलन सम्बन्धमा गठित संसदीय छानबिन समितिले सूर्यदर्शन सहकारीसहित देशका विभिन्न सहकारीबाट गैरकानुनी रूपमा ग्यालेक्सी टेलिभिजनमा ६५ करोड रूपैयाँ गएको उल्लेख गरेको छ। उक्त रकमको अधिकांश हिस्सा लामिछानेले नै चेकमा हस्ताक्षर गरेर भुक्तानी दिएको उल्लेख छ। टेलिभिजनका सेयर सदस्य र प्रबन्ध निर्देशक भएकाले उनलाई पनि सहकारी ठगीमा कारबाहीको दायरामा ल्याउन संसदीय छानबिन समितिले सिफारिस गरेपछि कास्की प्रहरीले सक्रियता बढाएको हो।

४ कार्तिक २०८१, आईतवार ०३:३७ मा प्रकाशित
Nabintech