Play

कांग्रेसको जनसम्पर्क समिति : गर्विलो इतिहास, बिबाद र अन्योलमा बर्तमान

गुरुकुल खबर


  • गंगाधर पराजुली ( हाल – अष्ट्रेलिया )

काम र शिक्षाको खोजीमा नेपाल छोडेर विदेशिने क्रम अहिले पनि बढ्दो छ, हाल लाखौँको संख्यामा नेपालीहरु विभिन्न शिक्षा र रोजगारीका लागि मेहनत गरिरहेका छन। निश्चित भूगोलमा नेपालीको बाहुल्यता नदेखिएपनि नेपाली समुदाय विश्वका कुना कुनामा फैलिँदै गएको छ। विश्वका विभिन्न भागमा छरिएर रहेका हामी नेपालीलाई सिंगो मालाको एकता सुत्रमा जोड्न बिदेशमा क्रियाशील विभिन्न संघ संस्थाको भूमिका महत्वपुर्ण छ। यस्तै एउटा बिश्वब्यापी संस्था बनेको छ।

नेपाली जनसम्पर्क समिति। विश्वब्यापी संजाल भएको र नेपाली काँग्रेसमा आस्था राख्ने प्रवाशी नेपालीहरुको संस्था भएकोले मात्र नभएर देशको लागि, लोकतान्त्रिक ब्यबस्थालाई संस्थागत बनाउनको लागि र नेपाली काँग्रेसलाई अझ बलियो बनाउनको लागि  नेपाली जनसम्पर्क समितिले महत्वपूर्ण काम गर्दै आएको छ।

नेपाली जनसम्पर्क समितिको स्थापना 

नेपालमा प्रजातन्त्र स्थापनाको लागि प्रवाशमा रहेका नेपालीहरुको सहयोग आबश्यक रहने तथ्यलाई दृष्टिगत गरि १९७७ मा भारतमा स्थापना गरिएको संस्था हो ‘नेपाली जनसम्पर्क समिति’। तत्कालिन समयमा नेपालमा निरङ्कुश र तानाशाही स्वरुपको पंचायती शासन ब्यबस्थाको बिरुद्दमा नेपाली काँग्रेसले निरन्तर आन्दोलन गरिरहेको र आन्दोलनलाई देश भित्र र बाहिरबाट समेत सबैकिसिमको सहयोगको आबश्यकता महशुस गरेर नेपाली काँग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइरालाको मार्गनिर्देशन अनुसार सन् १९७७ अर्थात २०३३  सालतिर जनसम्पर्क समितिको स्थापना गरिएको हो

नेपालमा प्रजातन्त्रको पुनस्थापना, आवधिक निर्बाचन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लगायतका विभिन्न माग राखेर नेपाली काँग्रेसले पंचायती शासन व्यवस्था बिरुद्द विभिन्न चरणको आन्दोलन गरिरहेको भएपनि आन्दोलनले लक्ष प्राप्त गर्न नसक्दा विभिन्न समस्या भोग्नुपरेको थियो। आन्दोलनको लागि आर्थिक समस्या त छंदै थियो त्यसबाहेक आन्दोलनमा लाग्ने कार्यकर्ताको संरक्षन अर्को चुनौती थियो।

यस्तै कुरालाई दृष्टिगत गरि काँग्रेस नेता एबम प्रजातन्त्रका प्रवर्तक बिपी कोइरालाको निर्देशन र भारतमा रहेका नेपालीहरुको पहलमा महाराष्ट्र राज्यमा रहेको मुम्बईको मुलुण्ड भन्ने स्थानमा नेपाली जनसम्पर्क समितिको आधिकारिक रुपमा जन्म र नामाकरण भएको थियो। भारतमा नेपालको हितको लागि स्थापना भएका थुप्रै संस्था छन्। तर नेपाल देशको हित सहित प्रजातन्त्रको स्थापनाको लागि सहयोग गर्ने मूल लक्षका साथ् स्थापना भएको नेपाली जनसम्पर्क समिति नै संभवत भारतको समेत सबैभन्दा पुरानो र इतिहास बोकेको संस्था हो

तत्कालीन अवस्थामा प्रजातन्त्रप्रति आस्थावान् व्यक्तिहरुलाई देशमा रहेको पञ्चायती सरकारले र अराष्ट्रिय तत्व भन्दै विभिन्न मुद्दा लगाउने र दुःख दिने गरेपछि मुम्बईमा रहेका कृष्णप्रसाद पण्डित, खड्कसिंह रावल, आर.वी. सिंह, पदमबहादुर काजी, मोहनबहादुर रावल, प्रेम रावल, के.एन शर्मा, कटकबहादुर रावल, मोहन सिंह विष्ट, देवीसंह खड्का, मोहनबहादुर सिंह, शिवबहादुर थापाजस्ता प्रजातन्त्रका हिमायती व्यक्तित्वको आग्रहमा नेपाली काँग्रेसका संस्थापक बिपी कोइराला मुम्बई पुगेर संस्थाको नाम ‘नेपाली जनसम्पर्क समिति’  राखेको जानकारहरु बताउछन।

तत्कालिन समयमा नेपालमा प्रजातन्त्रको लागि आन्दोलन गर्दा भारतमा रहेका नेपालीहरुको सहयोग महत्वपुर्ण रहन्थ्यो। नेपालमा नेपाली काँग्रेसको संगठन बलियो बनाउन मात्र नभएर आन्दोलनको लागि आर्थिक सहयोग जुटाउन, भारतमा विभिन्न कारणले रहेका नेपालीहरुलाई संगठित गराउन र नेपालमा प्रजातन्त्र स्थापनाको लागि आबश्यक सहयोग जुटाउन जनसम्पर्क समितिको आबश्यकता महशुस गरिएको थियो। सोहि अनुरुप नेपालमा प्रजातन्त्र स्थापनाको लागि नेपाली काँग्रेसको नेतृत्वमा भएको आन्दोलनको लागि आबश्यक पर्चा, पम्प्लेट, पोस्टर तयार गर्ने देखि नेपालबाट गएका नेपालीहरुलाई खानपिनको बन्दोबस्त गर्ने सम्मका काम नेपाली जनसम्पर्क समितिले गर्ने गर्थ्यो। तर संस्थाले स्थापनाकालमा भारतमा रहेका नेपालीहरुलाई सम्पर्क गर्ने र सुख दुःखमा साथ दिने मूल उद्देश्य राखेको भएपनि आन्तरिक रुपमा प्रजातान्त्रिक समाजवादलाई नै मूल मन्त्र र आदर्श मान्ने र नेपालमा प्रजातन्त्रको पुनस्थापनालाई नै मूल लक्ष मानेको थियो।

नेपाली जनसम्पर्क समितिको तत्कालिन कार्यालय भारत, मुम्बईको मुलुन्ड शहरमा रहेको थियो। नेपाली जनसम्पर्क समितिको उक्त कार्यालय भवन निर्माणमा भारतस्थित सम्पूर्ण नेपालीहरुको सहयोग एवं तत्कालीन महाराष्ट्र राज्यका मु्ख्यमन्त्री विलास राव देशमुख र शिवसेनाका तत्कालीन नगर सदस्य स्व. के.टी. थापा (नेपाली मुलका भारतीय नेता) सहित मुलुण्डका स्थानीय भारतीय काङ्ग्रेसका नेताको साथ र सहयोग मिलेको बताईन्छ।

नेपालीहरुको आफ्नै घरको रुपमा मानिएको उक्त स्थानमा पंचायतकालमा काङ्ग्रेसका नेताहरु गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, सुशील कोइराला, तारानाथ रानाभाट लगायतका नेताहरु धेरै पटक पुग्नुभएको थियो। अहिले त्यो घर संरक्षनको अभावमा छ प्रजातन्त्र पुर्नस्थापना भएपछि भने नेपाली जनसम्पर्क समितिको त्यो कार्यालय, संस्था र त्यो संस्थाका संस्थापकहरुको बारेमा नेपाली काँग्रेस पार्टी र नेताहरुले त्यति चासो राखेको देखिदैन।

३८ वटा देशमा जनसम्पर्क समिति बिस्तार 

नेपाली काँग्रेसको नेतृत्व अनि अन्य बामपन्थी दल (संयुक्त बाममोर्चा) समेत सहकार्यमा सन् १९९० अर्थात २०४६ सालमा भएको आन्दोलनले सफलता प्राप्त गरेर देशमा प्रजातन्त्र पुनस्थापना भयो।  नेपालमा प्रजातन्त्रको पुनस्थापना संगै नेपाली युवाहरुको लागि मलेसिया र मध्यपूर्वका देशहरुमा रोजगारी खुला भयो।  रोजगारी एवं उच्चशिक्षा हासिल गर्नको लागि नेपालीहरुको प्रमुख गन्तब्य भारत रहेकोमा वर्तमान अबस्थासम्म आइपुग्दा अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानाडा सहित विभिन्न युरोपियन मुलुक र  मध्यपूर्व एशियाका मुलुक र मलेसिया सहित अन्य मुलुक पनि बन्न पुगेका छन यी मुलुकमा अध्ययन, रोजगारी र ब्यबसायको लागि पुगेका नेपालीहरुको संख्या अहिले निकै ठुलो छ।

विभिन्न मुलुकमा नेपालीहरुको संख्या बढ्दै गएपछि त्यहाँ रहेका नेपालीहरुको हितको लागि पनि संगठनको आबश्यकता महशुस भयो। सोहि कारणले नेपालमा प्रजातन्त्र पुनस्थापना पछि विभिन्न मुलुकमा नेपाली जनसम्पर्क समितिको स्थापना हुन लागेको हो। हाल विश्वका ३८ वटा देशमा नेपाली जनसम्पर्क समितिको संगठन बनेको छ। बिशेष गरि नेपाली काँग्रेसको सिद्दान्त र नीति तथा प्रजातन्त्र र लोकतन्त्रप्रति आस्था राख्ने नेपालीहरु जनसम्पर्क समितिमा संगठित छन्। जसका कारण जनसम्पर्क समितिलाई नेपाली काँग्रेस भित्र अन्तराष्ट्रिय स्तरमा ठुलो संजाल रहेको संगठनको रुपमा पनि लिने गरिएको छ।

नेपाली कांग्रेसको लागि जनसम्पर्क समितिको सहयोग  

नेपाली काँग्रेससंग भावनात्मक रुपमा जोडिएका तर बिदेशमा रहेका नेपालीहरुको संगठन भएको नाताले नेपाल र नेपाली काँग्रेसको सामु आउने विभिन्न चुनौती र समस्याका बारेमा समेत समितिले आवाज उठाउने गरेको छ।  चाहे विभिन्न तहको  चुनाबमा नेपाली कांग्रेसका उमेद्वारलाई जिताउन होस् अथवा पार्टीले संचालन गर्ने विभिन्न अभियानलाई सफल बनाउन होस, जनसम्पर्क समितिको भूमिका सदैब महत्वपुर्ण रहँदै आएको छ।

नेपालमा तत्कालिन राजा ज्ञानेन्द्रले बिस २०५९ सालमा शासन सत्ता आफ्नो हातमा लिएको पछि नेपालमा लोकतन्त्र र स्वतन्त्रताको बहालीको खातिर अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन आवाज उठाउने काम समेत जनसम्पर्क समितिले गर्दै आएको छ। नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टका अनुसार तत्कालिन समयमा अमेरिकाको राष्ट्रपति भवन, युएन बिल्डिंग र नेपाली दुताबास अगाडी प्रदर्शन गर्ने र ज्ञापन पत्र बुझाउने जस्ता काम समेत जनसम्पर्क समितिकै अगुवाईमा भएको थियो।

नेपालमा हालसम्म भए गरेका हरेक राजनीतिक आन्दोलनको नेतृत्व नेपाली काँग्रेसले नै गर्दै आएको छ र जे जति परिबर्तन भयो त्यसको श्रेय नेपाली काँग्रेसलाइ नै जान्छ। पछिल्लो पटक २०६२/६३ को जनआन्दोलन पनि नेपाली काँग्रेसको नेतृत्वमा सम्पन्न भएको र त्यसपछि मात्र मुलुकमा माओबादीले संचालन गरेको शसस्त्र युद्द रोकिएको थियो। माओबादीलाई शान्तिको मूल प्रवाहमा ल्याउने र देशमा संबिधान सभाको निर्बाचन गरेर नयाँ संबिधान दिने कामको साथै विभिन्न तहको निर्बाचन सम्पन्न गराउने काम समेत नेपाली काँग्रेसका नेताहरु गिरिजा प्रसाद कोइराला, शुसिल कोइराला र शेरबहादुर देउबाको कुशल नेतृत्वबाट नै सम्भव भयो।

यस किसिमको इतिहास बोकेको पार्टी नेपाली काँग्रेस र नेपाली काँग्रेससंग जोडिएर संसारभर बृहत संजाल बनाएको जनसम्पर्क समिति दुवै यतिबेला कठिन र चुनौतीपूर्ण अबस्थामा छन। पार्टीभित्रको गुटबन्दीको मार पार्टीको संगठनमा मात्र नभएर जनसम्पर्क समितिमा समेत गम्भीर रुपमा परेको छ। जसका कारण पार्टीका विभिन्न भात्री संगठनहरु नेविसंघ, नेपाल तरुण दल, नेपाल महिला संघ जस्तै नेपाली जनसम्पर्क समितिमा पनि अधिबेशन हुन सकेको छैन केहि मुलुकमा केहि वर्ष अगाडी अधिबेशन भएपनि अधिकांश मुलुकमा अधिबेशन नभएको लामो समय भएको छ।

अष्ट्रेलियामा जनसम्पर्क समिति

अष्ट्रेलियाको मेलबर्नमा लामो समयदेखि बस्दै आएका नेपाली जनसम्पर्क समितिका अगुवा तथा नेपालको सोलुखुम्बु जिल्लाका नेपाल तरुण दलका पूर्व अध्यक्ष देवेन्द्र बस्नेत भन्छन।, “नेपालमा लोकतन्त्र र स्वतन्त्रताको लागि मात्र नभएर पार्टीलाई बलियो बनाउन आर्थिक एबम अन्य किसिमको सहयोग जनसम्पर्क समितिले गर्दै आएका छन। तर, वर्तमान अबस्थामा पार्टीले जनसम्पर्क समितिको आबश्यकता र औचित्य बुझ्न नसक्दा समस्या बढ्दै गएको अनुभूति हुन्छ।” पार्टीप्रति प्रतिबद्द साथीहरुको सट्टा कुनै नेता प्रति प्रतिबद्द, अनि पार्टीमा निरन्तरता दिएका त्यागि साथीहरुको सट्टा नवधनाढ्य र स्वार्थी चरित्र भएकाहरुलाई काखी च्याप्ने प्रवृति कांग्रेसका अधिकांश नेताहरुमा देखिएको कारण हाल सबैजसो देशमा जनसम्पर्क समितिहरु बिबादित र निष्क्रिय जस्तै बन्न पुगेको बस्नेतले गुनासो गरे।

उनले पार्टीको नीति र सिद्दान्त बुझेको, संगठन चलाउन सक्ने नेतृत्वदायी क्षमता भएको र नेपाली समुदायमा राम्रो सम्पर्क र सम्बन्ध भएको व्यक्तिलाई जनसम्पर्क समितिको जिम्मा लगाउन आबश्यक रहेको बताए त्यसोभए बिदेशमा रहेका नेपालीहरुको लागि मात्र नभएर नेपालमा पार्टी संगठन बलियो बनाउन समेत मद्दत पुग्ने बिश्वास उनले ब्यक्त गरे।  अष्ट्रेलियामा क्रियाशील सदस्य लिन चाहने नेपाली समुदायको संख्या धेरै छ, तर संगठनको जिम्मा लिएका साथीहरु त्यो नेपाली समुदायमा पुग्न नसक्नु र प्रभाब भएका साथीहरुलाई क्रियाशील सदस्य वितरण गर्ने जिम्मेवारी नदिनुले योग्य र क्षमतावान धेरै साथीहरु संगठन बाहिर रहनुपरेको भन्दै उनले पिडा पोखे।

नेपाली जनसम्पर्क समिति भिक्टोरिया, अष्ट्रेलियाका पूर्व अध्यक्ष बिनित शर्माका अनुसार बिदेशमा रहेका नेपालीहरुमध्ये ७० प्रतिशत भन्दा बढी नेपाली लोकतन्त्रबादी वा प्रजातन्त्रबादी छन सोहि कारणले पनि उनीहरु नेपाली जनसम्पर्क समिति बलियो भएको देख्न चाहन्छन। तर, नेपाली काँग्रेसकै नेताहरुको कारण जनसम्पर्क समिति भित्र गुटबन्दी र अबसरबाद हावी भएको छ। नेपालमा रहेका नेताहरुले संगठनमा काम गरेका वा योगदान दिएका व्यक्तित्वहरु भन्दा आफ्नो निकटको व्यक्ति र आफुलाई व्यक्तिगत रुपमा सहयोग गर्ने व्यक्तिलाई सम्बन्धित देशमा संगठनको महत्वपुर्ण जिम्मेवारी दिन खोज्दा सगठन झन कमजोर बन्दै गएको शर्माले बताए ।

अष्ट्रेलियामा जनसम्पर्क समितिको संस्थापक अध्यक्ष दुर्गा आचार्य हुन।  त्यसपछि  जनसम्पर्क समितिको बिस्तार शुरु भएको हो। त्यसपछि सन्तोष सिटौला समितिको अध्यक्ष बनेर पार्टीको १३ औं महाधिबेशनमा सहभागी बने। उक्त महाधिबेशनबाट पार्टीको सभापतिमा शेरबहादुर देउबा निर्बाचित भएका थिए । त्पयसपछि पार्टीको केन्द्रीय समितिबाट कृष्ण गिरीलाई जनसम्पर्क समितिको अध्यक्ष तोकेर पठाएपछि शुरु भएको बिबाद अझै टुंगिएको छैन। अध्यक्ष गिरीको कार्यकालपछि अधिबेशनबाट शुरेश गुरुङलाई अध्यक्ष बनाइयो, निर्बाचन समिति र पार्टीका केन्द्रीय प्रतिनिधिले समितिका सदस्यहरुको मनोभावना र बिधान बिपरित शुरेश गुरुंगलाई अध्यक्ष बनाईयो भनेर समितिका सदस्यहरुले नै असन्तुष्टि प्रकट गरे।

असन्तुष्ट समुहले सोम गुरुङलाई अध्यक्ष बनाएर समानान्तर रुपमा दुईवटा समिति बनाएपछि बिबाद बढेको थियो। पार्टीको १४ औं महाधिबेशन पछि शुरेश गुरुङ्गलाई अध्यक्ष कायम गरेर बिबाद मिलाईएको भनिएपनि समितिमा पार्टीभित्र रहेको गुटबन्दीको असर प्रत्यक्ष रुपमा परेको देखिन्छ। जनसम्पर्क समितिका संस्थापक सभापति दुर्गा आचार्य समेत अन्य धेरैलाई समितिलें क्रियाशील सदस्यता नदिएको कारण बिबाद बढेको कतिपयको भनाई छ। तर, अध्यक्ष गुरुङले अस्ट्रेलियामा छरिएर रहेका कांग्रेसीजनलाई एउटै छातामुनी ल्याएर सबैको साझा चौतारी बनाउने आफ्नो अभियान रहेको बताउंदै आएका छन ।

अष्ट्रेलिया भित्र विभिन्न राज्यमा जनसम्पर्क समिति रहेपनि यहाँ रहेका अन्य संघसंस्थामा जस्तै मेलबर्न ( भिक्टोरिया ) र सिड्नी (न्यु साउथ वेल्स) मध्ये कुन प्रभावकारी वा बलियो भन्ने बिबाद देखिन्छ। पार्टीको गुटको प्रभाव पनि सोहि अनुरुप परेको भन्दा अत्युक्ती हुँदैन। पहिले भिक्टोरियाको समितिलाई नै अष्ट्रेलियाको समिति भनिन्थ्यो तर अहिले अष्ट्रेलियामा नै धेरै समिति बनेका छन। जसअनुसार भिक्टोरियामा दुर्गा आचार्य, शुरेश पोखरेल, बिनितराज शर्मा र सोम गुरुङ अध्यक्ष भएर काम गरिसकेका छन तर पार्टीको केन्द्रले समितिभित्रको बिबाद मिलाउने भन्दै अष्ट्रेलियाको समितिमा शुरेश गुरुङलाई कायम राखी भिक्टोरिया समितिमा बिनितराज शर्मालाई नै अध्यक्ष बनाउने निर्णयपछि समितिको बिबाद केहि मत्थर भएको छ तर बीनितराज शर्माले पछिल्लो समय समितिको कार्यबाहक अध्यक्षको जिम्मेवारी भने दिनेश बन्जारालाई दिएको छन।

अष्ट्रेलियाको न्यु साउथवेल्स ( सिड्नी ) मा शितल गिरि, ताज्मानियामा रमेश श्रेष्ठ, ब्रिसबेनमा हरी डिसी,, एसीटी (क्यानबेरा) मा ललित मल्ल, डार्बिनमा बिपी कोइराला, साउथ अष्ट्रेलिया (एडीलेड) मा दिलिप पोखरेल, पर्थमा राजेश बुढाथोकी, कुइन्सल्यान्डमा समिर खतिवडा, तास्मनियामा टेकनाथ सापकोटा , वेष्टर्न अष्ट्रेलियामा दिनेश अधिकारीले जनसम्पर्क समितिको अध्यक्षको जिम्मेवारी सम्हालीरहेका छन।

यथाशिघ्र सबैजसो देशमा जनसम्पर्क समितिको अधिबेशन जरुरी

अष्ट्रेलियामा जनसम्पर्क समितिको बिबाद केहि मत्थर जस्तो देखिएपनि जनसम्पर्क समितिका अगुवाहरुको मन भने मिल्न सकेको छैन यसबाहेक अमेरिका लगायतका मुलुकमा समितिभित्र बिबाद कायम छ। त्यसको प्रभाव अन्य मुलुकमा समेत पर्ने गरेको छ। अमेरिकामा जनसम्पर्क समितिको अधिबेशनको उद्घाटन त भयो तर त्यसपछि बन्दसत्र र नेतृत्व चयन प्रक्रिया अगाडी बढ्न सकेन जसका कारण अधिबेशन उद्घाटन भएको बर्षौं बित्दा समेत नयाँ नेतृत्व आउन सकेको छैन।

नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टका अनुसार केहि साथीहरुले बिबाद गरेपछि अधिबेशन रोकियो तर पार्टीको केन्द्रीय समितले विभिन्न निर्देशन जारी गरेको कारण अधिबेशन गर्न सक्ने अबस्था पनि रहेन। तर, अब पार्टीको केन्द्रीय समितिको बैठकले जनसम्पर्क समितिको बारेमा विभिन्न निर्णय गरेको कारण अब पार्टीले निर्देशन दिएमा सबै जनसम्पर्क समितिहरुको अधिबेशन गर्ने अबस्ठा आएको छ।

नेपाली कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिको राजनीति गर्न नेपालको नागरिक र पार्टी सदस्य दुवै हुनु नपर्ने प्रावधान गत साउन २३ देखि भदौ १६ सम्म भएको केन्द्रीय समितिको बैठकबाट पारित गरेको छ। अब कांग्रेसको विदेशस्थित जनसम्पर्क समितिको अध्यक्ष र पदाधिकारी हुन नेपाली नागरिक, कांग्रेसको सदस्य दुवै हुनु बाध्यकारी छैन ।

सम्बन्धित देशकै नागरिकले जनसम्पर्क समितिको सदस्य बनेपछि त्यहाँको अध्यक्ष बन्न पाउने प्रावधान सहित कांग्रेसले जारी गरेको परिपत्रमा “अब उप्रान्त नेपाली जनसम्पर्क समितिको अध्यक्ष र पदाधिकारी चयन गर्दा कांग्रेसको क्रियाशील सदस्य वा नेपाली जनसम्पर्क समितिका सदस्यमध्येबाट चयन हुनसक्ने स्पष्ट भएको छ,” उल्लेख छ। यहि कारण अबका दिनमा जनसम्पर्क समितिमार्फत विदेशमा रहेका नेपालीलाई जोड्न र संगठनको दायरा फराकिलो बनाउन मद्दत पुग्ने विश्वास धेरैले गरेका छन। यसअघि जनसम्पर्क समितिको अध्यक्ष स्वतः महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसमेत हुने हुँदा जनसम्पर्क समितिको राजनीतिका लागि क्रियाशील सदस्यता र नेपालको नागरिक हुनु अनिवार्य थियो ।

“नेपाली जनसम्पर्क समितिको अध्यक्ष निर्वाचित हुन पार्टी विधान तथा नियमावली बमोजिम नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको नेपाली नागरिक हुनु पर्नेछ,” नेपाली कांग्रेसको विधानको दफा १४ (क)मा भनिएको छ । विधानको यो दफासहित निलम्बन गरेर कांग्रेसले जनसम्पर्क समितिकोे अध्यक्ष र सदस्य सम्बन्धित देशकोे नागरिक नै हुने प्रावधान राखेको हो।

जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष बिष्ट भन्छन “पार्टीको विधान कुनै शिलालेख होइन, आवश्यकता र औचित्य अनुसार संशोधन गर्न सकिन्छ र विधानका गाँठाहरुलाई फुकाउनका लागि केन्द्रीय समितिले निर्णय गर्न सक्छ तर समितिलाई थप गतिशील र प्रभावकारी बनाउने जिम्मेवारी हामी प्रवासी कांग्रेसजनको नै हो । यस अर्थमा नियमित अधिवेशन, सांगठनिक गतिविधिलाई तीव्रता र राजनीतिक प्रशिक्षण लगाएतका कार्यक्रम गरी जनसम्पर्क समितिले पार्टीलाई सहयोग पुर्‍याउनुपर्छ।”

कांग्रेसको विदेशस्थित जनसम्पर्क समिति हेर्ने ‘नेपाली जनसम्पर्क समिति समन्वय विभाग’को संयोजक केन्द्रीय सदस्य किरण पौडेल छन् । पौडेलका अनुसार अब नेपाली मूलको जुनसुकै देशको नागरिकले सम्बन्धित देशको जनसम्पर्क समितिमा बस्छु भन्यो भने पाउनेछ तर पौडेलले भनेजस्तो नेपाली कांग्रेसको निर्णय र परिपत्रमा ‘नेपाली मूल’ को भन्ने शब्द प्रयोग गरिएको छैन यसले भविष्यमा समस्या ल्याउन सक्ने अनुमान समेत कतिपयको छ।

नेपाली जनसम्पर्क समितिका नेता विश्वराज बाँस्तोलाका अनुसार अब नेपाली काँग्रेसले ढिलो नगरिकन अभियानको रुपमा भएपनि जनसम्पर्क समिति सहित अन्य भात्री एबम शुभेक्षुक संस्थाको अधिबेशन गर्न जरुरी छ। त्यसो भए संगठन जनस्तरमा पुग्न सक्छ अन्यथा नेपाली काँग्रेसको संगठन कमजोर बन्दै गएमा आप्फ्नो इतिहास देखाएर मात्र भबिष्य बनाउन र बर्तमान जोगाउन कठिन हुन्छ।

 अधिबेशनबारेमा अझै पनि अन्योल 

नेपाली कांग्रेसले जनसम्पर्क समितिमा निर्वाचित र नियमन हुने विधानका दफा निलम्बित गरिसकेपछि त्यसबाट निर्वाचित कार्यसमिति समेत निलम्बनमा परेको वा कायम रहेको भन्ने नयाँ बिबाद शुरु भएको छ। कहिले विधानको उक्त दफा निलम्बन गरेसंगे कार्यसमिति पनि स्वतः निलम्बित हुने बताउन थालेका छन । तर, नेपाली कांग्रेस केन्द्रीय कार्यालयले भने  तीनै जनसम्पर्क समितिका अध्यक्षहरूलाई संबोधन गरेर परिपत्र जारी गरेको छ ।

विधानको दफा निलम्बन संगै जनसम्पर्क समिति निलम्बित भएपछि तिनै समितिका अध्यक्षको नाममा पार्टीको केन्द्रीय समितिले परिपत्र पठाउन नहुने उनीहरुको भनाई छ। तर, नेपाली कांग्रेसका मुख्यसचिव डा. कृष्णप्रसाद पौडेलले ‘अध्यक्ष स्वतः महाधिवशेन प्रतिनिधि र महासमिति सदस्य हुने’ प्रावधान हटाउन मात्र विधानको व्यवस्था निलम्बन गरेको जानकारी दिए ।

यसैगरि नेपाली काँग्रेसको जनसम्पर्क समिति हेर्ने बिभागका प्रमुख किरण पौडेलले पनि जनसम्पर्क समिति निलम्बित नभएको जानकारी दिए । “अध्यक्ष बन्न कांग्रेसको क्रियाशील सदस्यता, नेपाली नागरिक हुनुपर्ने प्रावधान हटाउन र अध्यक्ष महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य स्वतः निर्वाचित हुने प्रावधान हटाउन विधानका धारा निलम्बित गरिएको होे,” पौडेलले भने, “त्यसकारण समितिहरू निलम्बित नै भएको अवस्था होइन ।”

१२ कार्तिक २०८१, सोमबार ०८:५२ मा प्रकाशित
Nabintech