Play

वर्षा र बाढीको बितण्डा : काठमाडौँ उपत्यकामै २१ को मृत्यु, सैयौंको उद्वार,राजमार्ग अबरुद्द,यात्रु अलपत्र

गुरुकुल खबर


पोखरा,  मनसुनी वायु र भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालको सबैजसो भूभागमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार पछिल्लो १२ घन्टामा बागमती प्रदेशका विभिन्न जिल्लाहरुमा बढी पानी परेको को छ।

महाशाखाका अनुसार काभ्रेको पनौतीमा १७३ मिलमिटर, मण्डनमा १०८ मिलिमिटर, बाहुनेपाटीमा ११२ मिलिमिटर, काठमाडौंको बबरमहलमा १२६ मिलिमिटर, ललितपुरको खुमलटारमा १६९ मिलिमिटर, कीर्तिपुरमा १०९ मिलिमिटर, गोदावरीमा १६९ मिलिमिटर,बूढानीलकण्ठमा १०५ मिलिमिटर, पानीपोखरीमा ११५ मिलिमिटर, हेटौंडामा १५९ मिलिमिटर, दामनमा १५९ मिलमिटर वर्षा मापन भएको छ।

इलामको राकेमा १३८ मिलिमिटर, धनकुटाको मूलघाटमा १२२ मिलिमिटर, बाराको कोल्भीमा १२२ मिलिमिटर,  चितवनको कल्याणपूरमा १२२ मिलिमिटर, काली खोलामा १४४ मिलिमिटर, रूपन्देहीमा १०२ मिलिमिटर वर्षा भएको छ।अन्य स्थानहरूमा ५० मिलिमिटर भन्दा बढी वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार दिनैभरि वर्षा हुने र अपराह्नपछि केही रोकिन सक्ने पूर्वानुमान गरेको छ।

काठमाडौँ उपत्यकामा मात्र २१ जनाको मृत्यु, ४ बेपत्ता अन्य जिल्लामा पनि जनधनको क्षती  

बिहीबार देखिको लगातारको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकामा मात्रै २१ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौँमा ९ जना, ललितपुरमा ९ जना र भक्तपुरमा ३ जनाको मृत्यु भएको हो ।  उनीहरूको बाढी, पहिरो र घर भत्किँदा निधन भएको हो ।

काठमाडौँमा ४ जना बेपत्ता भएका छन् ।  बाढी पहिरोमा परी हराइरहेकाहरूको खोजी भइरहेको काठमाडौँ प्रहरीले जनाएको छ ।  ललितपुरबाट २ जनालाई हेलिकप्टर र २ सय ८१ जनालाई सुरक्षाकर्मीहरूले उद्धार गरेका छन् ।

धनकुटामा २ जनाको मृत्यु र २ जना बेपत्ता भएका छन् । पाँचथरमा २ जनाको मृत्यु भएको छ भने काभ्रेमा ३ जना, धादिङमा १ जनाको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।

उद्वार र घाइतेको उपचारमा सरकार गम्भीर – गृहमन्त्री लेखक 

यसैबीच गृहमन्त्री रमेश लेखकले निरन्तरको वर्षाका कारण आएको बाढी र पहिरो लगायतका प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरूको उद्धार, राहत तथा घाइतेहरूको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको बताएका छन् ।

गृह मन्त्रालयमा शनिबार बसेको ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमान्ड पोस्ट’को बैठकपछि सञ्चारकर्मीहरूसित बोल्दै गृहमन्त्री लेखकले वर्षा, बाढी, पहिरो र डुबानबाट काठमाडौँ उपत्यकामा मात्रै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोलीले साढे सात सयभन्दा बढी नागरिकको सकुशल उद्धार गरेको जानकारी दिए ।

‘दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट समेत उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ’ गृहमन्त्री लेखकले भने– ‘ मुलुकमा ठुलो विपद्को स्थिति आएको छ ।’ उनले बैठकले मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सूचना सङ्कलन गर्ने, उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको बताए ।

‘ठुलो जनधनको क्षति भएको छ, ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु’ उनले भने– ‘उद्धार, राहत लगायतका विषयमा सरकार सक्रिय भएर अघि बढिसकेको छ ।’ वर्षाका कारण काठमाडौँ भित्रने सडकहरू अवरुद्ध भएको र तत्काल खुलाउन पहल गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए ।

“विपदबाट हुने क्षति न्यूनीकरणका लागि सबै सुरक्षा संयन्त्र परिचालन भएको छ’ उनले भने– ‘बाढी, पहिरो लगायत विपद् सम्बन्धी पूर्व सूचना जारी गर्ने काम पनि हुँदै आएको छ ।’ उनले अवस्था सामान्य हुँदै गएपछि विस्थापितलाई पुनर्स्थापनाका लागि सरकारले पहल गर्ने मन्त्री लेखकको भनाई थियो ।

उनले ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमान्ड पोस्ट’ २४ सै घण्टा सक्रिय बनाइने बताए । ‘खराब मौसमका कारण पनि कतिपय स्थानबाट हवाई उद्धारमा समेत समस्या भयो’ उनले भने– ‘स्थलगत रूपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार, सूचना सङ्कलनमा राष्ट्रिय अनुसन्धान विभाग र हेलिकप्टरबाट नेपाली सेनाले निगरानी र उद्धार गर्ने गरी सुरक्षा निकाय परिचालन भएको छ ।’

विभिन्न राजमार्ग अबरुद्द, यात्रुहरु अलपत्र 

अविरल वर्षासँगैको पहिरोका कारण देशका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध बनेका छन् । सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै बसेका खबरहरू आइरहेका छन् ।  नेपाल प्रहरीका अनुसार उपत्यकामै चार वटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध बनेका छन् ।  यस्तै कोशी प्रदेशमा ५, बागमतीमा २१, गण्डकीमा ४, लुम्बिनीमा ३ र कर्णालीमा १ राजमार्ग तथा सडक खण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ । यस्तै अवरुद्ध भएका ५ वटा सडक भने खुलाइएको छ भने केही सडक एकतर्फी सञ्चालनमा रहेका छन् ।  सडकमा पहिरो खस्ता प्रमुख राजमार्ग पृथ्वीराज मार्गसहित प्रभावित बनेका छन् ।

चन्द्रागिरिमा  घर पुरियो, दुईको मृत्यु 

काठमाडाैंको चन्द्रागिरि नगरपालिका-२ मसिनेमा पहिराेले घर पुरिँदा दुई जनाकाे मृत्यु भएकाे छ। शनिबार बिहान माथिबाट आएकाे पहिराेले गर्वे तामाङकाे घर पुरिएकाे प्रहरी वृत्त थानकाेटका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए। प्रमुख सुवेदीका अनुसार मृत्यु हुनेमा तामाङसहित उनकी श्रीमती ३६ वर्षीया सविना तामाङ छन्।

पहिराेमा परेर उनकी आमा ठूलीमाया तामाङ र छाेरी विनिसा तामाङ घाइते छन्। घाइते उनीहरूकाे एपिएफ अस्पताल सतुङ्गलमा उपचार भइरहेकाे प्रहरी जनाएकाे छ।

ललितपुरमा टहरामा फँसेका चार मध्ये तिनको उद्वार 

ललितपुरमा टहरामा उद्धारका लागि कुरिरहँदा बगाएका चार जनामध्ये तीन जनाको उद्धार भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालका अनुसार नख्खु खोलाले टहरामा बसिरहेका चार जनालाई बगाएको थियो। तीमध्ये तीन जनालाई बगाइरहेकै अवस्थामा उद्धार गरी पाटन अस्पताल ल्याइएको उनले बताए। उनीहरूलाई प्रहरीको गाडीमा राखेर अस्पताल पुर्‍याइएको थियो। प्रहरीका अनुसार बेपत्ता एक जनाको खोजी हुँदैछ।

झापामा बाढीको कटान र डुबानमा परि २ सय ५० बढी घर परिवार बिस्थापित 

झापामा बाढीको कटान र डुबानमा परी २५० भन्दा धेरै घर परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विस्थापितलाई छिमेकी तथा अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण बिरिङ खोलाको बाढी पसी झापा गाउँपालिका–६ भन्द्र बस्तीका ५० घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णबहादुर चन्दले जानकारी दिए ।

बस्ती डुबान भएपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ । भद्रपुर–३ स्थित नयाँ बस्तीमा ३० घर डुबानमा परेका छन् । उनीहरूलाई भद्रपुर–२ महेशपुरस्थित स्वास्थ्य चौकीमा स्थानान्तरण गरिएको छ । त्यस्तै, बाह्रदशी गाउँपालिका–२ स्थित सुकुम्वासी बस्तीमा २४ घरमा पानी पसेको छ । उनीहरूलाई सुरक्षित स्थानमा सारिएको प्रवक्ता चन्दले जानकारी दिए ।

यस्तै, भद्रपुर–५ गैरीगाँउमा मेची खोला पस्दा २० घर विस्थापित भएका छन् । शिवसताक्षी नगरपालिका–१० बिहानी टोलमा कनकाई खोलाले कटान सुरु गर्दा १५ घरमध्ये ६ घर अति जोखिम रहेकोले मुक्तिघाटको भवनमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ । यस्तै, शिवसताक्षी–७ मा एक घरपरिवार विस्थापित भएका छन् । बिर्तामोड–५ र बिर्तामोड–४ मा ७ घर परिवार विस्थापित भएका छन् । बिर्तामोड–८ बाह्रबिघेमा ३ घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कनकाई नगरपालिका ३ झरना बस्तीमा सन्का खोला र सुरुंगा खोलाको पानी पस्दा ११ घर विस्थापित भएका छन् । बिर्तामोड–३ सिर्जना टोलमा अदुवा खोलाको पानी पस्दा ९ घर विस्थापित भएका छन् । हल्दिबारी गाउँपालिका–२ खर्साङचोकमा १३ घरपरिवार विस्थापित भएका छन् । भद्रपुर–६ डाँगडोरा खोलाको पानी पस्दा दुई घर विस्थापित भएका छन् । झापा गाउँपालिका–६ मा बिरिङ खोलाको बाढी पस्दा तीन घर विस्थापित भएका छन् ।

गौरीगञ्ज गाउँपालिका–१ बाङ्गे टोलमा कमल खोला पस्दा १२ घरपरिवार विस्थापित भएका छन् । भद्रपुर–४ मेची गाउँमा डुबानले ६ घर विस्थापित भएका छन् । कचनकवल गाउँपालिका–७ भट्टा टोलमा डुबान हुँदा १५ घरपरिवार विस्थापित भएका छन् । विस्थापितलाई आफन्त, छिमेकी र सार्वजनिक भवनहरूमा राखिएको प्रहरीले जनाएको छ ।

१२ आश्विन २०८१, शनिबार १४:०५ मा प्रकाशित
Nabintech