Play

सहकारीको दुई अर्ब बढी ठगीको आरोप लागेका ढोरपाटनका मेयर नेपाली पक्राउ

गुरुकुल खबर


पोखरा, सहकारीमा भएको बचत रकम ठगी गरेको आरोप लागेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली शुक्रबार भारतको नयाँ दिल्लीस्थितअन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन।

‘मेयर नेपालीलाई इन्दिरा गान्धी विमानस्थलमा रोकिएको छ, त्यहाँ नेपालको प्रहरी पनि पुगिसकेको छ,’ निमित्त आइजिपी, एआइजी टेकप्रसाद राईले केहि संचारकर्मीसंग भने ‘इन्टरपोलमार्फत् हामीले त्यहाँको कन्सुलर कार्यालयमा समन्वय पनि गर्दैछौं, उनलाई नेपाल ल्याउने तयारी भइरहेको छ।’

पक्राउ परेका मेयर नेपाली पोखराको सृजनाचोकमा र बागलुङमा रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पनि हुन्। मेयर नेपालीमाथि दुई अर्ब बढी बचत रकम ठगीको आरोप छ। उनी गत वर्ष जेठ देखि नै फरार थिए।

ढोरपाटन नगरपालिका वडा नम्बर १ घर भएका मेयर नेपालीसहित ११ जना सञ्चालकविरूद्ध गत वर्ष असार २५ गते बागलुङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।  उनी लामो समयसम्म फरार रहेपछि रेडकर्नर नोटिससमेत जारी गरिएको थियो।   मेयर नेपालीलगायत सहकारी सञ्चालकहरू विरूद्ध १ हजार ४ सय ८१ जनाले उजुरी दिएका थिए।

बागलुङमा मात्रै सहकारीले ८ सय जना सेयर सदस्य र ३ हजार २ सय जना बचतकर्ताको डेढ अर्ब बढी रुपैयाँ बचत अपचलन गरेको देखिएको थियो।

पोखरा महानगरपालिकामा रहेको सहकारीबाट ५ सय बढी बचतकर्ताको ५० करोड रुपैयाँ अपचलन गरेको आरोप उनीमाथि छ।

उनी २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट उम्मेदवार भई मेयर निर्वाचित भएका थिए। त्यसअघि उनी २०७४ को निर्वाचनमा पनि मेयर निर्वाचित भएका थिए। २०७४ को स्थानीय तहको चुनावअघि टिकट नपाएपछि उनले नेकपा (माओवादी केन्द्र) छाडेर एमाले प्रवेश गरेका थिए।

सहकारी प्रकरणमा जोडिएपछि एमालेले २०८० जेठमा नेपालीलाई निलम्बन पनि गरेको थियो। उनलाई एमालेले गण्डकी प्रदेश कमिटी सदस्यबाट निलम्बन गरेको हो।

११ आश्विन २०८१, शुक्रबार १८:५० मा प्रकाशित
Nabintech