काठमाडौँ, नेपाली कांग्रेसको १५औँ महाधिवेशन नियमित समयमै गर्ने हो भने २०८२ को मंसिरमा सम्पन्न हुन्छ । विधानलाई आधार बनाएर एक वर्ष समय थपे २०८३ मंसिरमा कुनै पनि हालतमा महाधिवेशन हुनै पर्छ । उक्त महाधिवेशनले कांग्रेसमा नयाँ नेतृत्व स्थापित गर्ने छ ।
वैधानिक बाध्यताका कारण पार्टीको १५औँ महाधिवेशनबाट सभापति शेरबहादुर देउवाको ‘पार्टी राजनीति’ अन्त्य हुँदैछ । देउवा आफैँले पनि आफ्नो ‘राजनीतिक रिटायरमेन्ट’लाई स्वीकार गरेका छन् ।
उनको अभिव्यक्तिले विधान संशोधन गरेर तेस्रो कार्यकालका लागि सभापति बन्न उनी इच्छुक छैनन् भन्ने सुनिश्चितता गरेको विश्लेषण भइरहेको छ ।
अर्काेतर्फ सभापति देउवाले प्रधानमन्त्री बनेपछि मात्र पार्टी महाधिवेशन गर्छन् भन्ने बुझाइ कांग्रेसभित्र छ । सभापति देउवा देशको कार्यकारी प्रमुख हुँदा पार्टीले नयाँ नेतृत्व पाउने छ । यस्तो अवस्थामा देउवाको पार्टी राजनीतिबाट बिदाइको ‘भ्यालु’ बढ्ने निश्चित छ ।
केन्द्रीय सदस्य गुरु बराल पार्टीको १५औँ महाधिवेशनमा सभापति देउवाको भूमिकाको महत्त्व उच्च हुने बताउँछन् । देउवाको सहानुभूति जसलाई हुन्छ, उसलाई नेतृत्वमा बाजी मार्न सहज हुने बुझाइ बरालको छ ।
‘पुरानामात्र हैन, आफूलाई नयाँ पुस्ताको कित्तामा उभ्याएका नेताहरूले पनि उहाँको पूर्ण साथ खोजेका छन्,’ देउवा निकट मानिएका बरालको तर्क छ ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको पहिलो निर्वाचित अध्यक्षदेखि अहिलेको राजनीतिक पोजिसनसम्म आइपुग्दा देउवाले आफू पछाडि ठुलो राजनीतिक संरचना बनाएका छन् । बिपी कोइरालाको छत्रछायाबाट राजनीतिमा आएका देउवाले पार्टीलाई ‘कोइराला वंशवाद’बाट बाहिर निकालेका हुन् ।
लामो समय पार्टीभित्र वंशवादको राजनीति अन्त्य गर्न लडेका देउवाले यसैलाई आधार बनाएर पार्टी विभाजनसम्मको यात्रा तय गरेका हुन् ।
एक पटक गृह र छैटौँ पटक यो देशको प्रधानमन्त्री बन्ने प्रतीक्षामा बसेका देउवाका पछाडि धेरै नेता–कार्यकर्ता छन् । ‘आधा या पूर्ण नै सही’ देउवाको पछि लागेकाहरूको साथ सहयोग पाएमात्र महाधिवेशन जित्न सकिने बुझाइमा नेताहरू छन् ।
‘उहाँकै पछि लाग्ने विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, शंशाक कोइराला लगायत नेतालाई देउवाको सहयोग चाहिनु स्वाभाविक हो,’ इतर पक्षीय एक नेता भन्छन्, ‘गगन थापा सम्मका नेताहरू सभापति बन्न दौडिरहँदा सभापति देउवासँग मिल्नुपर्छ भनेर मनाउन लाग्नुभएको छ ।’
देशको कार्यकारी प्रमुख पटक–पटक बन्नु सामान्य विषय होइन । आफ्ना समकालीन नेताहरू एक पटक पनि पुग्न नसकेको प्रधानमन्त्री पदमा देउवा छैटौँ पटक पुग्ने लगभग निश्चित हुनु देउवाको राजनीतिक सफलता हो ।
आफू वरिपरिकालाई विश्वासमा लिएर ‘गुन लगाएकालाई गुन तिर्ने’ गरेको भन्ने प्रशंसा कांग्रेसजनबाटै हुने गरेको छ । आफूप्रति वफादार नेता–कार्यकर्ताको पुरानो पङ्क्तिले देउवालाई हरदम साथ दिने गरेको र उनीहरूको कुनै न कुनै रूपमा सेटलमेन्ट देउवाले गरिदिएको दाबी उनी निकटहरूले गर्ने गरेका छन् ।
कांग्रेसको राजनीतिक इतिहासका ज्ञाता राजेश गौतमका अनुसार पार्टीभित्र जसले जुनसुकै कोणबाट दाबी प्रस्तुत गरे पनि देउवाको जति सङ्गठनमा बलियो पकड भएका अर्को नेता नै छैन । ‘सभापति देउवाको अन्तिम कार्यकाल हो, उनी कमजोर हुँदै छन्’ भन्ने दम राखेर नेतृत्व हत्याउँछु भन्ने हैसियत बनाएका नेताहरू कांग्रेसभित्र कोही नभएको बुझाइ गौतमको छ ।
‘नेतृत्वमा पुग्छु भनेर विमलजी, सिटौलाजीहरू कोइराला परिवार वा गगनजीहरूको प्रयास आफ्नै किसिमको छ,’ गौतमले भने, ‘शेरबहादुरको आशीर्वाद प्राप्त नगरी पार्टी सभापति हुने सम्भावना भोलि पनि रहँदैन ।’
साउनमा बसेको केन्द्रीय समिति बैठकमै नेताहरूले आफूलाई सभापति बनाइदिन देउवालाई अनुरोध गरेका थिए । उनी निकटमात्र होइन, लामो समय उनीसँग राजनीतिक दुस्मनी पालेका पुराना नेताले पनि नेतृत्वमा देउवाको साथ खोजेका छन् । अर्को पुस्तामा आएर कोशीदेखि सुदूरपश्चिमसम्मका हरेक जिल्लामा देउवा निकट नेताहरू देउवाको ‘निगाह’ले राजनीतिक छलाङ मारौँला भन्ने आसमा बसेका छन् ।
वरिष्ठ पत्रकार किशोर नेपालको विश्लेषणमा शेरबहादुर देउवाको सहयोग खोज्न कांग्रेस नेताहरू भौँतारिएका छन् । देउवालाई पनि राजनीतिक लिगेसी छोड्नुपर्ने भएकाले कसलाई सहयोग गर्ने भन्ने दुबिधा भएको तर्क उनको छ ।
तर, देउवाले लिगेसी नै छाडेर जाने तहको काम कांग्रेसभित्र कुनै पनि नगरेको उनले बताए । ‘उहाँले मान्छे र गुट मिलाएर राख्नुभएको छ । पार्टीमा शेखरजी पनि कठोर विरोधमा उभिनुभएको छैन,’ नेपालले भने, ‘उहाँको साथ खोजिनु स्वाभाविक हो । तर, महाधिवेशनसम्म पुग्दा देउवा नै निर्णायक शक्ति बन्नुहुन्छ भन्ने मलाई लाग्दैन ।’
देउवाको रोजाइमा नयाँ कि पुराना ?
देउवाको आशीर्वादको पर्खाइमा धेरै नेता छन् । देउवाले आफूलाई आधिकारिक नेतृत्वमा अघि बढाउँछन् भन्ने विश्वासमा बसेका छन् वर्तमान उपसभापति पूर्णबहादुर खड्का ।
एक नेताका अनुसार खड्कालाई महामन्त्रीद्वय मिलेर सभापतिमा अघि बढ्न अफर पनि दिएका थिए । पटक–पटक टिम बनाएर जाने विषयमा छलफल पनि भएको थियो ।
तर, उनमा डर हाबी भएको छ । ‘उहाँसँग खासमा मान्छे भएनन् । महामन्त्रीद्वयले ढाडस दिनुभयो तर, पूर्ण दाइ आफैँ देउवाले बनाइदिन्छन् भनेर लाग्नुभएको छ,’ ती नेताले भने ।
यसबाहेक विरासतको राजनीतिको समेत लाभ पाएका विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइरालालाई देउवाले बनाइदिन्छन् भन्ने आशा छ । १३औँ महाधिवेशनमा तेस्रो धार बनाएर सभापति लडेका कृष्णप्रसाद सिटौलाले पनि आस गरेका छन् । केन्द्रीय समिति बैठकमा विजयकुमार गच्छदारले पनि आफू नेतृत्वको आकांक्षी हो भनिसकेका छन् । यसबाहेक पाएसम्म शेखर कोइराला र महामन्त्री गगनकुमार थापा पनि देउवाको सहयोगको अपेक्षामा छन् । पछिल्लो समय देउवासँग महामन्त्री थापा नजिकिन थालेका नेताहरू बताउँछन् ।
‘मधेसको नाममा विमलेन्द्र, गणेशमानको नाममा प्रकाशमान, बिपी पुत्र शशांकलाई अघि बढाएर शासन गर्ने सोच पनि कांग्रेसभित्र हाबी छ,’ विश्लेषक नेपाल भन्छन् ।
देउवा प्रधानमन्त्री बन्दा प्रेस सल्लाहकारको भूमिका निर्वाह गरिसकेका विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम पनि राजनीतिमा स्वार्थ हाबी हुने भएकाले देउवाको आशीर्वाद नेताहरूले खोज्नु स्वाभाविक प्रक्रिया भएको तर्क गर्छन् ।
‘उहाँको पार्टीभित्र पकड एकदमै ठुलो छ । अर्को सभापतिको आकांक्षीले उहाँको साथ खोज्नु स्वाभाविक हो । उहाँको आशीर्वाद प्राप्त गर्न सकियो भने सहज हुन्छ भन्ने लाग्नु स्वाभाविक हो,’ उनले भने, ‘केही न केही उहाँको सहानुभूतिले काम गर्छ नै । शेरबहादुरले मेरो मान्छे भन्दैमा मत सबै जान्छ जितिहाल्छ भन्ने चाहिँ हुँदैन ।’
महाधिवेशन आउन वर्ष दिनभन्दा बढी बाँकी भएकाले पनि देउवाले कसैलाई पनि हालसम्म खुलेर समर्थन गरेका छैनन् । उत्तराधिकारीको रूपमा कसैलाई अघि बढाउने छनक पनि उनले दिएका छैनन् । बरु जतिसक्यो नेताहरू बिच देउवा ‘खेलिरहेका’ छन् । सबैलाई ‘अघि बढ’, म छु भनेर आश्वासन बाँडिरहेका छन् । नतिजामा शेरबहादुरलाई चिढ्यायो कि हामी सिद्धिन्छौँ भन्ने भयमा कांग्रेस नेताहरू भएको विश्लेषण गर्छन् इतिहासकार राजेश गौतम ।
‘शेरबहादुरलाई चिढ्यायो भने आउन लागेको नेतृत्वबाट हात धुनुपर्छ भनेर कसैले पनि चिढ्याउने स्थिति छैन,’ गौतमले भने, ‘कुनै बेला शेरबहादुरको सेकेण्डम्यान भनिने विमलेन्द्र निधि जसरी सकिए, त्यस्तै स्थिति बन्छ भन्ने भय कांग्रेस नेताहरूमा छ ।’
देउवालाई अहिले मुख्य सेटमेलन्टको चिन्ता पत्नी आरजुको पनि छ । आरजु स्वयंले पनि परराष्ट्रमन्त्री बनेपछि ‘राजनीतिक उचाइ’ बनाउने काम गरिरहेकी छन् । यसबाहेक नेताहरू एनपी साउद, रमेश लेखक, वीर बहादुर बलायर, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की लगायत अन्य केन्द्रीय नेताहरूको पनि राजनीतिक सेटलमेन्ट देउवाले गरिदिनुपर्ने छ ।
‘कांग्रेसको राजनीतिक इतिहास हेर्दा र पछिल्लो समय आरजुको पहल हेर्दा उनलाई राजनीतिमा स्थापित गर्नैपर्छ भन्ने बुझाइमा मचाहिँ छैन,’ विश्लेषक गौतम भन्छन् ।
रोमन आचार्य / रातोपाटी