Play

प्रहरीले समेत बेवास्ता गर्दा राधिका कुँवरको हत्या हुन पुग्यो – आफन्तहरु

गुरुकुल खबर


पोखरा, भदौ २६ गते बिहान ९ बजे राधिका कुँवर जिल्ला प्रहरी कार्यालय कास्कीमा ज्यानको सुरक्षा गरिदिन भन्दै प्रहरीलाई गुहार्न पुगेकी थिइन् । यसअघि पनि उनी धेरै पटक प्रहरी कार्यालय धाइसकेकी थिइन् । कहिले घरेलु हिंसाको उजुरी गर्न त कहिले ज्यानको सुरक्षा गरिदिन भन्दै।

उनलाई आफूअसुरक्षित भएको महसुस भइसकेको थियो । त्यस दिन पनि सदाको झैं उनको गुनासो लाई पूर्ण वेवास्ता गर्दै उजुरी समेत नेलेखी प्रहरी कार्यालयबाट फर्किनुपर्यो ।

हत्या गरिएकी राधिका कुँवरकी बहिनी मेनका थापाले राधिकाले प्रहरी कार्यालयमा पटक पटक गएर घरेलु हिंसा, ज्यानको असुरक्षा भएको जानकारी गराउँदा पनि प्रशासनले बेवास्ता गरेको बताइन् । प्रहरी कार्यालयले गुनासोको वेवास्ता गर्नाले राधिकाको हत्या भएको उनको आरोप छ ।

‘दिदी धेरै पटक प्रहरी कार्यालयमा गुनासो लिएर जानु भएको थियो । अदालतमा सम्बन्ध विच्छेदका लागि मुद्दा परेको विषयमा हामी केहि बोल्न मिल्दैन । अदालतको कुरा हो हामीले श्रीमान् श्रीमती छुट्टिएर बस्नुस् भन्न मिल्दैन भन्दै फर्काउँथ्यो,’ उनले भनिन् ।

प्रहरी कार्यालयले उजुरी लेखेर, राधिकाका श्रीमानलाई सम्झाइबुझाइ गरिदिएको भए हत्या नहुने थापाको धारणा छ।
राधिकाले घर परिवारमा पनि आफूमाथि भएको अत्याचारका बारेमा जानकारी गराएको मेनकाले जानकारी दिइन् । राधिकालाई उनका श्रीमानले कुटपटि गर्ने, सधैं ज्यान मार्ने धम्की दिने गरेको उनको भनाइ छ ।

उनका अनुसार दिनहुँ केही न केही विषयमा विवाद भइरहन्थ्यो । कुँवर दम्पतीबीच लामो समयदेखि मिलाप थिएन । उनीहरुबीच गत माघदेखि सम्बन्ध बिच्छेदको प्रक्रिया चलिरहेको थियो । कानुनी रुपमा सम्बन्ध बिच्छेद नहुँदासम्म सँगै बस्ने भन्ने सहमति अनुसार उनीहरु सँगै बस्दै आएका थिए ।

राधिकाका श्रीमान् जहरसिंह कुँवरले राधिकालाई मानसिक तथा शारिरीक यातना दिन्थे । ‘जहरसिंहले न त बाहिरको काम गर्थे न त घरको । दिदी कामबाट पर्किदा राति भइसकेको हुन्थ्यो । बच्चा भोकै रोइरहेको हुन्थ्यो । जहरसिंहलाई न बच्चाको चिन्ता छ न घरको,’ थापाले पीडा व्यक्त गरिन्, ‘कामबाट आएर आराम गर्न पाउनु त परको कुरा जहरसिंहले उल्टो तातो पानी खन्याइदिने, चुरोटले शरीरमा पोल्दिने गथ्य्रो । ऋण खोजेर विदेश पठाए पनि ऋण नतिरी ३/४ महिनामै फकिन्थे । २ पटक कतार र एक पटक साउदी गएका हुन् ।’

सम्बन्ध जोगाउनलाई राधिकाले धेरै प्रयास गरेको उनकी बहिनी मेनकाले भनिन् । राधिकाको १५ वर्ष अघि मागी बिहे भएको हो । बाचुन्जेल कहिले सुख नपाएकी राधिकालाई निधन पछि पनि अनेक लाञ्छना लगाइएको उनले बताइन् ।
राधिकाले जेठाजु गमबहादुर कुँवरलाई पनि हिंसा र दुव्र्यवहारका बारेमा बताएकी उनकी दिदी सीमा थापाले सुनाइन् । गमबहादुर सशस्त्र प्रहरीको अवकाशप्राप्त डिएसपी हुन् ।

गमबहादुरले भाइलाई सम्झाइबुझाइ गरिदिएको भए घट्ना नघट्ने उनको अनुमान छ । श्रीमान् श्रीमतीको झगडा भन्दै तर्केर हिँडेको उनले आरोप लगाइन् । हत्या आरोपी कुँवरलाई आजीवन सजाय हुनुपर्ने सीमाको माग छ ।
उनले भनिन् ‘पोस्र्टमार्टम पनि शंकास्पद छ । अन्त्येष्टि अर्काे दिन बिहान गर्ने निर्णय भएको थियो तर हामीलाई झुक्काएर राति ९ बजे नै गरिएको थियो ।

पहुँचका आधारमा जहरसिंहलाई मानसिक र डिप्रेसनको बिरामी भनेर सजाय घटाउने सजाय कम गर्ने षडयन्त्र भइरहेको उनको आक्रोश छ । अस्पतालमा गमबहादुरले बोलेका कुरा मिडियाले रेकर्ड गरे पनि पब्लिस नहुनु तथा राधिकाका छोराको बयान पनि सावर्जनिक नहुनु शंकास्पद रहेको उनले बताइन् ।

‘प्लान गरेरै हत्या गरिएको हो । खुकुरी ६ महिना अघि नै किनेर राखेको रहेछ । बहिनीको छोरा हामीले राख्न पाउनुपर्छ । बहिनीको सुरक्षा हुन नसकेको ठाउँमा छोरोको सुरक्षा हुनै सक्दैन,’ सीमा चिन्ता ब्यक्त गरिन ।

राधिकाको चरित्रमा आक्षेप लगाउने कार्यले पीडामा झन् पीडा थपेको सौन्दर्य व्यवसायी चिनु गुरुङले बताइन् । राधिका कुँवर साहसी र मेहनती महिला भएको उनको बुझाइ छ । श्रीमानको रोजगार नहुँदा समेत उनले ब्युटीपार्लर व्यवसायीहरूलाई आवश्यक सामानको सप्लाई गर्थिन् ।

उनले भनिन्, ‘घरेलु हिंसा, मानसिक तथा शारिरीक यातना महिलालाई नै दिइन्छ, यसका बारेमा आवाज उठाए चरित्रमाथी औंला उठाइन्छ । यातना सहेर बस्न हुँदैन । आफुमाथी भएको अत्याचारका विरुद्ध बोल्नुपर्छ ।’

ब्युटीपार्लर एसोसिएसन गण्डकी प्रदेशले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई ज्ञापनपत्र हस्तान्तरण गरेको छ । खुकुरी प्रहार गरी निर्मम तरीकाले हत्या गरिएकी कुँवरको विषयमा गम्भीर रुपमा अनुसन्धान गरिनुपर्ने मागसहित उनीहरुले आइतबार ज्ञापनपत्र बुझाएका हुन् ।

ब्युटीपार्लर एसोसिएसन कास्की र लेखनाथको आयोजनामा उनीहरुले जिल्ला प्रशासन कार्यालय कास्कीमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको गुरुङले जानकारी दिइन् ।

‘कास्कीको अन्नपूर्ण गाउँपालिका १ नौडाँडा घर भै पोखरा महानगरपालिका वडा नं. बगालेटोल बस्दै आएका जहरसिंह कुँवरले गत भदौ २६ गते दिउँसो १२ बजे आफ्नै पत्नीलाई धारीलो हतियार खुकुरी प्रहार गरी निर्मम तरीकाले हत्या गरिएको विषयमा गम्भीर रुपमा अनुसन्धान गरिनुपर्ने जानकारी गराउँदछौं । पीडकलाई कानुन बमोजिम कडा भन्दा कडा सजायको माग गर्दछौं,’ ज्ञापनपत्रमा उल्लेख छ ।

जहरसिंहले राधिकालाई गत भदौ २६ गते खुकुरी प्रहार गरी निर्मम हत्या गरेका थिए । उनले घाँटी र पेटमा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाईते भएकी श्रीमती राधिकाको उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिए पनि चिकित्सकले दिउँसो मृत घोषणा गरेका थिए ।

प्रमिला कुँवर/ समाधान न्युज 

६ आश्विन २०८१, आईतवार १७:१६ मा प्रकाशित
Nabintech