Play

पोउबासंघको अध्यक्षमा कार्की बिजयी, पदाधिकारी र सदस्यमा भने पोखरेल प्यानलको बर्चस्व

चुनाबी माहोल: उमेदवारी घोषणाको दिन पोखरेलको र मतदानको दिन कार्कीको पक्षमा, कांग्रेस भित्रको द्वन्दको शिकार बने 'पोखरेल'


गुरुकुल खबर


पोखरा,  पोखराका ब्यबसायी एबम उद्योगीहरुको संस्था पोखरा उद्योग वणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन्। संघको ३५ औं महाधिवेशन अन्तर्गत आइतबार सम्पन्न मतगणनाको परिणाम अनुसार कार्कीले आफ्ना प्रतिस्पर्धी अर्जुन पोखरेललाई ४ सय ८८ मतले पराजित गर्दै अध्यक्षमा बिजयी भएका हुन् ।

कुल २ हजार २४७ मत खसेकोमा अध्यक्षमा निर्वाचित कार्कीले १ हजार ३ सय ३९ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी पोखरेलले ८५१ मत मात्र प्राप्त गरे। अध्यक्षमा बिजयी कार्की यस अगाडी संघको बरिष्ठ उपाध्यक्ष थिए भने पोखरेल अघिल्लो पटक पनि अध्यक्षमा पराजित भएका थिए। प्यानलमा रहेका धेरैले अर्जुन पोखरेल टिमबाट आँफु उमेद्वार बनेको कारण पोखरेललाई मत दिन समेत आग्रह गरेका थिए।

कार्कीको बिजय र पोखरेलको पराजय कसरी ?

निर्बाचनमा अर्जुन पोखरेलले कार्यसमितिका पदाधिकारीहरु र सदस्यसहितको प्यानल सहित उमेद्वारी घोषणा गरेर चुनाबी प्रचारमा जुटेका थिए। तर कार्कीले भने प्यानल घोषणा नगरी आफ्नो मात्र अध्यक्ष पदमा एकल उमेद्वारी घोषणा गरेका थिए। पोखरेल प्यानल चुनाबी प्रचारमा घरदैलोमा जाँदै गर्दा कार्की भने डेंगु रोगको संक्रमणका कारण अस्पताल र घरमा बस्न बाध्य भएका थिए।

चुनाबी प्रचार आरम्भ भएका शुरुका दिनमा पोखरेलको पराजयको कल्पना समेत नगरेका ब्यबसायीहरु चुनाब नजिकिंदै गर्दा पोखरेल कम्जोर बन्दै गएको र कार्कीले व्यवसायीको सहानुभूति पाउने अबस्था देखिन लागेको भन्दै चर्चा गर्न थालेका थिए। बजारमा पोखरेललाई विन्दुकुमार थापाको उमेद्वारको रुपमा र कार्कीलाई विश्वशंकर पलिखेको उमेद्वारको रुपमा समेत चर्चा गर्न थालियो।

पोउबासंघका पूर्व अध्यक्षहरु बिन्दुकुमार थापा सहित अशोक पलिखे, आनन्दराज मुल्मी, राजेन्द्र लालचन, दिपक श्रेष्ठ, सन्जिब बहादुर कोइराला लगायतले पोखरेललाई साथ दिएको र पोखराका बिग हाउस भनेर चिनिने लक्ष्मी हाउस र कर्माचार्य हाउसको समर्थन पनि पोखरेललाई रहने भन्ने चर्चाको कारण पोखरेलको बिजय सहज भनिएको थियो तर मतदानको दिन सम्म आइपुग्दा पोखरेलको पक्षमा लागेका भनिएकाहरु समेत कार्कीको पक्षमा देखिन थाले।

कार्कीको पक्षमा संघका निबर्तमान अध्यक्ष पवन प्रजापति, पूर्व अध्यक्षहरु बसन्त उदास, विश्वशंकर पलिखे, नारायण कोइराला, दामु अधिकारी र सन्जिब बहादुर कोइराला समेत लागेको बताइएको छ। कतिपयले पूर्व अध्यक्ष कृष्णमोहन श्रेष्ठ निर्बाचन समितिमा रहेको तर उनको समर्थन पनि कार्कीलाई रहेको जनाएका छन।

कार्की र पोखरेल दुवै जना नेपाली काँग्रेसका कार्यकर्ता भएपनि कार्कीलाई काँग्रेस इतर शक्तिको करिब पुरै मत प्राप्त भएको र कास्की काँग्रेस राजनीतिको आन्तरिक बिबादको फाइदा समेत कार्कीलाई हुन पुग्यो। गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री समेत रहेका संघका पूर्व अध्यक्ष बिन्दु थापा पुग्ने विभिन्न कार्यक्रममा पुगेर पोखरेलले भाषण गर्दै हिंडेका थिए।

मन्त्री थापा सहितका कास्की कांग्रेसका केहि नेताले पोखरेललाई समर्थन गरेको भनेपछि काग्रेसकै अर्को समुहले पोखरेलको बिरुद्दको प्रचारमा लागेको बताईएको छ। मतदानको दिन बिहानदेखि नै मतदान स्थलमा पोखरेलको तुलनामा कार्कीको चुनाबी माहोल उत्साहजनक देखिएको थियो । यसको साथै पोखरेलको पहलबाट निर्बिरोध भएको भनिएका पदाधिकारीहरु मध्ये अधिकांश पदाधिकारीहरु औपचारिकताको लागि मात्र पोखरेलको पक्षमा देखिएको ब्यबसायीहरुले बताएका छन। जसका कारण उमेद्वारी घोषणाको बेला शसक्त देखिएका पोखरेल मतदानको दिनसम्म आइपुग्दा आफ्नो पक्षमा रहेको भनिएको समर्थन गुमाउन बाध्य भएका थिए।

शपथ कार्यक्रममा भाग लिन समेत आनाकानी 

मतगणनाको परिणाम सार्बजनिक भैसकेपछि संघको सभाहलमा निर्बाचित अध्यक्ष र पदाधिकारी सहित सदस्यहरुको शपथ ग्रहण कार्यक्रम राखिएको थियो । कार्यसमितिमा पोखरेल प्यानलबाट निर्बिरोध एबम मतदानबाट निर्बाचित पदाधिकारी र सदस्यहरुको बाहुल्यता रहेपनि अध्यक्ष पदमा पोखरेलको पराजयलाई पिडा मानेर केहि पदाधिकारीहरु शपथ ग्रहणमा भाग लिन समेत आनाकानी गरेको थिए। जसका कारण निर्बाचन समितिले एकै पटकमा शपथ गराए हुनेमा ३ पटक सम्म शपथ गराउनु परेको थियो।  हलमा उपस्थित मतदाता एबम अन्यले पटक पटक बोलाउँदा नआउनेहरुलाई शपथ नगराउनु भन्दै हुटिंग समेत गरेका थिए।

उपमहसचिबमा प्रधानांग बिजयी 

संघको उपमहासचिवमा सुदीपमान प्रधानाङ्ग बिजयी भएका छन् । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उनले अर्जुन प्यानलबाट उठेका बालकृष्ण कोईरालालाई पराजित गर्दै विजयी भए । बिजयी प्रधानाङ्गले १ हजार १ सय ७७ मत प्राप्त गरे । पराजित कोईरालाले १ हजार ४७ मत प्राप्त गरे । कोइराला यस अगाडी पनि संघको कार्यसमितिमा प्रतिष्पर्धा गरेका ब्यबसायी हुन् भने प्रधानाङ्ग यस अगाडी कार्यसमितिको सदस्य हुन्।

अन्य पदाधिकारी निर्बिरोध 

संघको अध्यक्ष र उपमहासचिवबाहेकका अन्य पदाधिकारी भने निर्विरोध निर्वाचित भएका थिए । संघको बरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दीनेशचन्द्र बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए ।

 १० सदस्यको लागि १४ जनाबीच प्रतिष्पर्धा,  सर्बाधिक मत ललित कुँवरलाई 

खुल्ला सदस्यको अन्तिम मत परिणाम अनुसार ललितबहादुर कुँवरले सबैभन्दा बढी १ हजार ५३९ मत प्राप्त गरेका छन् अघिल्लो महाधिबेशनमा पनि प्रतिष्पर्धामा रहेका कुँवरले झिनो मतको अन्तरले पराजित हुनुपरेको थियो तर यसपटक उनले सर्बाधिक मत पाउन सफल भएका हुन

यसैगरि सदस्यहरुमा देवेन्द्र प्रजुले १ हजार ५१६, सौगात थापाले १ हजार ४९४, दूधमान गुरुङले (आशिष) १ हजार ४६८ र भीम गौतमले १ हजार ४३९ मत ल्याएर सदस्यमा बिजयी भएका हुन् ।

त्यस्तै, टिकाराम सुवेदी (माधव) १३९४, जीवनप्रकाश श्रेष्ठ १३८३, रामचन्द्र तिमिल्सिना १३७५, प्रदीप राजभण्डारी १३७० र यादवप्रसाद पोखरेल १३०० मत ल्याएर बिजयी भएका छन् । १० खुल्ला सदस्यमा बिनोद केसी १२९६, लेखनाथ सुवेदी १२८६, प्रेमप्रसाद सुवेदी १२८५, विष्णुप्रसाद तिमिल्सिनाले १२३० मत पाएर पनि पराजित हुन पुगे ।संघको खुल्ला तर्फको १० सदस्य पदका लागि १४ जनाबीच प्रतिष्पर्धा भएको थियो ।

बस्तुगत सदस्यमा निर्बाचित को ? 

संघको वस्तुगततर्फको चार सदस्यहरुमा सूर्य घिमिरे (मदिरा) २२ मत, दुर्गा बराल (कस्मेटिक) २१ मत, पृथ्वीराज तिमिल्सिना २० मत र नवीन नापित (कपडा) १४ मत ल्याएर बिजयी भए । नवीन नापित र दीपेन्द्र कोईरालाको समान १४/१४ भएपछि गरिएको गोला प्रथाबाट नापित बिजयी भएका थिए ।

३१ भाद्र २०८१, सोमबार २३:०३ मा प्रकाशित
Nabintech