Play

नेपाली काँग्रेस र जनजाती समुदाय बीच नङ र मासुको जस्तै सम्बन्ध छ- प्रदेश सभापति शर्मा

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपालको आदिवासी जनजाति समुदाय कांग्रेसको मेरुदण्डको रुपमा रहेको बताएका छन् । नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समितिको पदस्थापन तथा सम्मान कार्यक्रममा बोल्दै शर्माले उक्त कुरा बताएका हुन।

‘कांग्रेस र जनजाति कुनै पृथक चिज होइन्, अलग अलग होइनन्, कांग्रेस जनजाति हो, जनजाति भनेको कांग्रेस हो, कांग्रेस र जनजातिको सम्बन्ध नङ र मासुको जस्तै छ।’ सभापति शर्माले भने, “२००७ सालको आन्दोलन सुरु गर्दा धेरै जनजातिहरु इन्डियन, बिट्रिस आर्मीमा भर्ना भएका थिए उनीहरुलाई नै जोडेर काँग्रेसले मुक्ति सेना निर्माण गरि उनीहरुलाई नै अगाडी सारेर २००७ सालको आन्दोलनको प्रारम्भ भएको हो। त्यसैले पनि आदिवासी जनजाति समुदाय  कांग्रेसको मेरुदण्ड हो” उनले भने ।

प्रदेश सभापति शर्माले कांग्रेस लोकतान्त्रिक र प्रजातान्त्रिक पार्टी भएकाले गलत काम गर्ने नेताको खुलेर विरोध गर्ने परम्परा रहेको समेत स्पष्ट पारे ।

गण्डकी प्रदेशका अर्थमन्त्री एवम् नेपाली काग्रेस लमजुङका सभापति डा. टकराज गुरुङले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले अन्य भातृसंगठनले महाधिवेशन गर्न नसक्दा समयमा नै महाधिवेशन गरेर पार्टीलाई गतिलो सन्देश दिएको बताए । “संगठन निर्माण र विस्तारमा हामीले धेरै चुनौतीको सामना गर्दै आएका छौं, यो अवस्थामा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले तोकेकै समयमा महाधिवेशन गरेर पार्टीलाई गतिलो सन्देश समेत दिएको छ” गुरुङले भने।

जनजाति महासंघले नेपाली कांग्रेसका अन्य भातृसंगठनलाई समेत समयमा नै महाधिवेशन गरेर पार्टीलाई थप बलियो बनाउन समेत सन्देश दिएको बताउंदै नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष ओमबहादुर घर्ति मगरले आदिवासी जनजातिका लागि पार्टीमा १७ बुँदे माग समेत राखेको जानकारी गराए।

“नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रिय समितिले काठमाडौंमा दुई दिन प्रशिक्षण कार्यक्रम राखेर बिभिन्न सुझाब समेत संकलन गरि आदिबाशी जनजाति समुदायको उत्थानको लागि १७ बुँदे माग नेपाली काँग्रेस समक्ष राखेका छौं” घर्तिले भने।

हामीले राखेको १७ बुँदे मागका सम्बन्धमा पार्टी सभापति देखि महामन्त्रीद्धयसँग समेत छलफल गरेका बताउंदै अध्यक्ष मगरले भने “हामीले द्धन्द्ध पनि मेटिने र पहिचान भेटिने गरी पार्टीमा विभिन्न माग राखेको छौं ।”

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघमा केन्द्रिय समिति र जिल्ला समितिमा निर्बाचित हरुलाई सम्मान र नवनिर्वाचित गण्डकी प्रदेश समितिका पदाधिकारी र सदस्यहरुको पदस्थापन समेत गरिएको थियो ।

कार्यक्रम नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष जीत बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने समितिका सचिव बुद्धिबहादुर थापाले कार्यक्रम सञ्चालनगरेका थिए ।

२५ भाद्र २०८१, मंगलवार २३:२५ मा प्रकाशित
Nabintech