Play

राप्रपाबाट एमाले आएका प्रकाश केसीलाई मालदार मन्त्रालय दिएपछि एमालेभित्र असन्तुष्टि

एमालेमा पनि पद केन्द्रित, गुट केन्द्रित र सत्ता केन्द्रित राजनीति बढ्यो - सांसद थापा


गुरुकुल खबर


पोखरा, नेकपा एमालेको तर्फबाट गण्डकी प्रदेश सरकारको भौतिक पुर्वाधार तथा यातायात मन्त्रीमा प्रकाश केसीको मनोनयन संगै एमाले भित्रको असन्तुष्टि सार्बजनिक भएको छ।  राप्रपाको राजनीति गरेर २०७४ मा एमाले प्रवेश गरेका केसीलाई समानुपातिक सांसद, समितिको सभापति र हाल मालदार अर्थात धेरै बजेट चलाउन पाउने मानिने भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी दिएपछि एमाले सांसदहरु असन्तुष्ट बनेका हुन।

एमाले संसदीय दलका नेता खगराज अधिकारीकै जोडबलमा केसीलाई पार्टीको र सरकारको बिभिन्न पदमा लागिएको भन्दै सांसदहरुले नै आलोचना गर्न लागेका छन ।

‘मन्त्री नै बनाउन हुँदैनथ्यो । पार्टीमा लामो समयदेखि संघर्ष गरेका र रिजल्ट निकाल्न सक्ने सांसदहरु हुनुहुन्छ,’ एमालेका एक नेताले भने, ‘भौतिकको जिम्मेवारी उहाँलाई दिनु त झनै अस्वभाविक हो ।’ उनले पिडायुक्त आक्रोश पोखे।

‘हामीले दलका नेताले राम्रो गर्नुहोला भनेर जिम्मेवारी दिएका हौँ । यो अवस्था बन्ला भन्ने सोचेनौँ । पार्टीमा योगदान दिएका साथीहरुलाई मन्त्री बनाउनुहोला भन्ने लागेको थियो,’ एक सांसदले भने, ‘तर त्यस्तो भएन । मन्त्री छनोटको मापदण्ड आगामी संसदीय दलको बैठकमा माग्छौं । दलका नेताले जवाफ दिनुपर्छ ।’

‘पहिले रोलक्रम मिचेर सामानुपातिक सांसद बनाउनु भयो । चुनावमा सहयोग गरेको र नेताहरुसँग निकट भएकै कारण अहिले मन्त्री बनाइयो,’ मन्त्रीका आकांक्षी एक एमाले सांसदले भने ।

उनले भने, “हुन त हरेक सांसद मन्त्री बन्न सक्छन् । तर पार्टी नेतृत्वले क्षमता, दक्षता र योगदानलाई हेरेर मन्त्री नियुक्त गर्ला भन्ने आश गरेपनि त्यसो हुन सकेन । उनले अगाडि भने, ‘उहाँ मन्त्री हुने चर्चा त थियो, तर खगराज माननीयले विवेक पुर्‍याउनुहुन्छ भन्ने थियो, उहाँले आफैैंमाथि नैतिकताको प्रश्न उठ्ने ठाउँ राख्नुभयो ।’

नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य लीलबहादुर थापाले पनि पार्टीमा गुट र विकृति मौलाएको टिप्पणी गरे । उनले भने “मन्त्रीहरुको अनुहार हेर्दा खसआर्यको बश्चर्व देखिएको र समावेशी सिद्धान्तलाई पनि ख्याल गरेको देखिएन।”

हाम्रो राजनीतिमा पनि तलदेखि माथि सम्म  विकृति हाबी भएको बताउंदै उनले एमालेको राजनीति पनि पद केन्द्रित, गुट केन्द्रित र सत्ता केन्द्रित भएको भन्दै दुख प्रकट गरे।

लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को राजनीति गरेका गण्डकी प्रदेशका नबनियुक्त मन्त्री केसी २०५४ देखि २०५८ सालसम्म पोखराको नगर परिषद सदस्य थिए । राजा ज्ञानेन्द्र शाहको शासनकालमा तत्कालीन पोखरा उपमहानगरपालिका–१२ को वडाध्यक्षमा मनोनित भएर उनले काम गरेका थिए उनि २०७१ मा राप्रपाबाट नै  खाद्य संस्थानको अध्यक्ष भएका थिए । उनी २०७४ सालमा मात्रै एमालेमा प्रवेश गरेका थिए।

१७ भाद्र २०८१, सोमबार १७:०७ मा प्रकाशित
Nabintech