Play

एकीकृत समाजबादीको पदाधिकारी चयन, गुटको शिकार बनिन ‘झाँक्री’ (पुरा मत विवरण सहित)

पोखराका श्रीनाथ बराल सचिबमा निर्बाचित, सचिबका प्रतिष्पर्धी दिलु पन्त एक मतले पराजित, मेयर धनराज आचार्यलाई ७५ मत मात्र


गुरुकुल खबर


पोखरा, नेकपा एमालेबाट छुट्टीएर बनेको नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादीले महाधिबेशन सम्पन्न भएको लामो समयपछि पदाधिकारीहरुको चयन गरेको छ। पदाधिकारी चयन प्रक्रियामा सहमति हुन नसकेपछि मतदान गरेर नै पदाधिकारीको टुंगो लगाइएको थियो।

पोलिट ब्युरो सदस्य र पदाधिकारीको चयनमा मतदान प्रक्रिया अपनाईएको कारण माधव नेपाल गुटमा रहेका अधिकांश बिजयी भएपनि जनस्तरमा लोकप्रिय मानिने केहि नेता समेत पराजित बन्न पुगे। पार्टीकी नेत्री एबम पूर्व मन्त्री रामकुमारी झाँक्री समेत पार्टी भित्र गुटको शिकार बनिन र उनि समेत महिला उपाध्यक्ष बन्न सकिनन।

गत असार १६ गते देखि २१ गते सम्म भएको महाधिबेशनबाट अध्यक्ष, सम्ममानित नेता र महासचिव सहित ८३ जना केन्द्रिय सदस्य निर्वाचित भएको थिए। २१ सदस्यीय पदाधिकारीमा अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव धनश्याम भूषाल महाधिवेसनवाटै निर्वाचित भएका थिए भने पार्टिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निविरोध निर्वाचित भएका थिए।

पछि आँफु अनुकुलका केन्द्रीय सदस्यहरु मनोनित गरेर उक्त संख्या ३ सय ४४  पुर्याइएको थियो। त्यसपछि सहमतिबाट नै पदाधिकारी, स्थायी समिति र पोलिटव्यूरो सदस्य चयन गर्ने भनिएको थियो। तर  सहमती हुन नसकेपछि अन्तिममा निर्बाचन प्रक्रिया बाट पदाधिकारी चयन गरिएको हो। पार्टिका अध्यक्ष माधव कुमार नेपाल नै निर्वाचनको पक्षमा देखिनुले पार्टीभित्र गुटबन्दी बढाउन नेपाल नै सक्रिय भएको आरोप लाग्न थालेको छ।

गुटको शिकार बनिन ‘रामकुमारी झाँक्री’

वुधवार विहान मात्रै सार्वजनिक गरिएको मतपरिणाम अनुसार महिला उपाध्यक्षमा जयन्ती देवी राईले रामकुमारी झाँक्रीलाई पराजित गरिन। राइले १९९ मत पाएर निर्वाचित हुँदा रामकुमारी भाँक्रीले जम्मा ११२ मत प्राप्त गरिन् । झाँक्रीको प्रभाव जनस्तरमा राम्रो मानिएपनि पार्टीभित्र भने उनि गुटको शिकार बन्न पुगिन। माधव नेपाल गुटमा रहेका मतदाता नेता कार्यकर्ताहरुले उनलाई झलनाथ खनाल र घनश्याम भुषाल गुटको भनेर पदाधिकारी बन्नबाट बन्चित गरेका हुन्।

पार्टिको पदाधिकारी चयनमा पार्टि अध्यक्ष माधव कुमार नेपालको गुट एकातिर र वरिष्ठ नेता झलनाथ खनाल र महासचिव धनश्याम भूषालको गुट अर्को तिर देखिएका थिए । नेताहरुका विचको गुटवन्दी महाधिबेशनकै अबसरमा देखिएको भएपनि पदाधिकारी चयन सम्म आइपुग्दा पार्टी भित्रको गुटबन्दी छरपष्ट बन्न पुगेको छ। पदाधिकारी र पोलिट ब्युरो सदस्य पदमा भएको निर्बाचनका कारण पदाधिकारीमा माधव कुमार नेपाल पक्षको एकलौटी देखिएपनि पार्टी भित्रको गुटबन्दी अझ बढ्ने सम्भावना देखिएको छ।

महाधिबेशनको क्रममा पदाधिकारी र केन्द्रीय सदस्यहरु चयन हुनुपर्नेमा त्यसबेला मतदान प्रक्रिया अध्यक्ष, बरिष्ठ उपाध्यक्ष र महासचिबमा मात्र सहमति गरिनु, अनि लामो समय बिताएर आँफु अनुकुलका २६१ जना सदस्यहरुलाई मनोनित गरिनु र तिनै केन्द्रीय सदस्यहरुलाई मतदाता बनाएर पदाधिकारीको छनोट मतदान प्रक्रियाबाट गरिनुले पार्टी भित्र तल्लो तहसम्म असन्तुष्टि बढ्ने देखिएको छ। यसका साथै पार्टी अध्यक्ष नेपाल स्वयम सक्रिय भएर मतदानको लागि उमेद्वारहरुको नामावली मतदातालाई वितरण गर्नुले अध्यक्ष नेपाल समेत पार्टी संगठन बलियो बनाउने भन्दा पनि आफ्नो गुट जोगाउन तर्फ सक्रिय रहेको महशुस कार्यकर्ताले गरेका छन।

३४४ जना केन्द्रीय सदस्य दुईचार जनले मनोनीत गरेका छन् । अहिले त्यही दुईचार जनाले ज–जसलाई मत हाल्न भने, उनैलाई मत दिने अवस्था सिर्जना गरी यस्तो परिणाम आएको कतिपय नेताको गुनासो छ । उम्मेदवार चरम गुटबन्दीको सिकार भएको गुनासो ती नेताले गरे । मधेसी कोटाबाट उपाध्यक्षमा चुनाव हारेका रामचन्द्र झा भन्छन्, ‘लोकतन्त्रमा चुनावको निकै महत्त्व हुन्छ । त्यसले दिने परिणामलाई स्वीकार गर्नैपर्छ । कसले कसरी चुनाव जिते, त्यो कुराले अब महत्त्व राख्दैन ।’

चुनावको परिणामलाई आफूले स्वीकार गरेको बताउँदै उनले सबै निर्वाचित पदाधिकारीलाई बधाइ पनि दिए । स्रोतका अनुसार मंगलबार भएको चुनावमा अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालको तर्फबाट गोप्य रूपमा केन्द्रीय सदस्यहरूलाई अलगअलग चिट वितरण गरिएको थियो । मतदाताहरू दुई गुटमा बाँडिएका थिए । स्रोत भन्छ, ‘घनश्याम भुसाललाई झलनाथ खनालको पनि साथ थियो ।’

चयन भएका १७ पदाधिकारीमा अधिकांश माधव गुटका छन् । एक नेताले भने, ‘१७ जना पदाधिकारीमध्ये १० जना त माधवले आफ्ना गुटका जिताउनु भएको छ ।’ तर नेकपा एकीकृत समाजवादीका नेता बेदुराम भुसालले चुनाव हारेपछि विभिन्न आरोप लगाउनु आम कुरा भइसकेको बताए । ‘चुनावमा कुनै गुटबन्दी, कुनै चिट वितरण भएको छैन,’ उनले भने, ‘जसले यो आरोप लगाएका छन्, त्यो गलत हो । लोकतान्त्रिक प्रक्रियाबाट चुनाव भएको छ ।’ चुनावमा हारजित सामान्य कुरा भएको उनले प्रस्ट पारे । त्यसैलाई मुद्दा बनाएर रोष प्रकट गर्न नहुने उनले बताए ।

अन्य पदाधिकारी को को ?

एकीकृत समाजबादीको अन्य पदाधिकारी मध्ये मधेश तर्फको उपाध्यक्षमा धर्मनाथप्रसाद साह १६४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिष्प्रधि रामचन्द्र झाले १४४ मत प्राप्त गरे ।

४ जना खुल्ला उपाध्यक्षमा डा.गंगालाल तुलाधर १८९, जगन्नाथ खतिवडा १६१, भानुभक्त जोशी १५६ र प्रकाश ज्वाला १३९ मत ल्याएर निर्वाचित भएका छन् ।

त्यस्तै चारजना उपमहासचिवमा मेटमणी चौधरी १५८, गरिमा शाह १०७, रामकुमार भट्टराई १०७ र राजेन्द्र राई १०६ मत पाएर बिजयी भए ।

सात जना सचिवको लागि भएको प्रतिष्पर्धामा गणेश विक १८०, शेरबहादुर कुँवर १५३, सोमप्रसाद पाण्डे १४१, श्रीनाथ बराल १०७, सावित्रीकुमारी भुसाल १०६ र  चन्द्रबहादुर शाही ९१ मतका पाएर निर्वाचित भएका छन् ।

३४४ जना केन्द्रीय सदस्य मध्ये ३२२ जनाले मतदानमा भाग लिएको निर्वाचन आयोगले जनाएको छ ।

पोखराका श्रीनाथ बराल बने खुल्ला तर्फबाट सचिब 

नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादीको केन्द्रीय सचिबमा पोखराका श्रीनाथ बराल निर्बाचित भएका छन । उनले १०७ मत प्राप्त गरेर ५ जना मध्ये एक सचिब ( खुल्ला ) मा निर्बाचित भएका हुन ।

बराल पार्टीको गण्डकी प्रदेश समितिका अध्यक्ष समेत हुन् । उनि बिद्यार्थी काल देखि नै राजनीतिमा सक्रिय थिए लामो समय एमालेमा रहंदा समेत उनि तत्कालिन एमाले नेता माधव नेपाल पक्षधर मानिन्थे एमाले बाट विभाजित भएर एकीकृत समाजबादी बनेपछि उनि सोहि पार्टीमा सक्रिय भए।

अघिल्लो संसदीय निर्बाचनमा उनले कास्की -२ बाट प्रतिनिधि सभा सदस्य पदमा उमेद्वार भएपनि पराजित बनेका थिए उनि २०५४ सालमा तत्कालिन कास्की जिविसको उपसभापति समेत भएर काम गरेका थिए

पोखराका मेयर धनराज आचार्य सहित दिलु पन्त र कृष्ण बहादुर नेपाली सचिबमा पराजित 

पोखराका श्रीनाथ बराल खुल्ला सचिब पदमा निर्बाचित भैरहंदा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य भने पराजित बनेका छन। बराल गण्डकी प्रदेश समितिको अध्यक्ष पनि हुन भने आचार्य पार्टीको केन्द्रीय सदस्य छन। पोखराका बराल,आचार्य र महिला नेत्री दिलु पन्त सहित २६ जनाले खुल्ला सचिब पदमा प्रतिष्पर्धा गरेका थिए

५ जना खुल्ला सचिवको लागि प्रतिष्पर्धा भएकोमा बराल सहित शेर बहादुर कुँवर, चन्द्रबहादुर शाही, सोम प्रसाद पाण्डे र सावित्री कुमारी भुषाल विजयो भएका थिए भने पोखराका मेयर आचार्य र दिलु पन्त पराजित बनेका हुन। पार्टी भित्र आचार्यले युवालाई नेतृत्वमा आउने बाताबरण तयार गर्नुपर्ने कुरा उठाउने गरेकोले माधब नेपाल निकटकाहरुबाट उनि पराजित बन्न पुगेको बताईन्छ।

सचिब पदमा पन्तको भन्दा १ मत मात्र बढी अर्थात ९१ मत पाएका सुदुर पश्चिम प्रदेशका चन्द्रबहादुर शाही सचिब विजयो भएको घोषणा गरिएको थियो। सचिबमा नै प्रतिष्पर्धा गरेका पोखराका मेयर धनराज आचार्यले भने जम्मा ७५ मत पाएर चित्त बुझाउनु परेको छ।

महिला नेत्री दिलु पन्त लामो समय देखि एमालेको युवा संघमा रहेर राजनीतिमा सक्रिय थिईन। एमाले विभाजनपछि माधब नेपाल संग लागेर एकीकृत समाजबादिमा लागेकी उनलाई समेत अहिले माधव नेपालको समुहले नै पराजित गरिदिएको छ। ९१ मत ल्याएर सुदुर पश्चिम प्रदेशका चन्द्र वहादुर शाही निर्वाचित हुँदा ९० मत ल्याएकी पन्त पराजित हुन पुगिन्।

यसैगरि कास्कीका कृष्ण बहादुर नेपालीले दलित समुदायको सचिबमा प्रतिष्पर्धा गरेकोमा जम्मा २७ मत मात्र प्राप्त गरेर पराजित बनेका छन । दलित समुदायबाट सचिबमा निर्बाचित गणेश बहादुर बिश्वकर्माले १८० मत पाएर बिजयी भएका थिए। एक सचिब पदका लागि ३ जना उमेद्वारबीच प्रतिष्पर्धा भएकोमा अर्की उमेद्वार निरादेबी जैरुले भने १०५ मत प्राप्त गरेकी थिईन।

  • मत परिणाम सम्बन्धि विवरण 

 

 

१२ भाद्र २०८१, बुधबार १६:३३ मा प्रकाशित
Nabintech