Play

तीज पर्वमा महिला संघ कास्कीको कार्यक्रम, कास्कीमा कांग्रेसको संगठन कमजोर बन्दै गएको छ- मुख्यमन्त्री पाण्डे

गुरुकुल खबर


पोखरा, नेपाली महिलाहरुको महान चाड तीज पर्वको अबसरमा नेपाल महिला संघ कास्कीले शनिबार पोखरामा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्यो। पोखराको बिन्ध्यबासिनी मन्दिर नजिकको एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा कास्की जिल्लाको बिभिन्न पालिकाबाट उल्लेखनीय संख्यामा महिलाहरुको उपस्थिति रहेको थियो।

मिना पाण्डे नेतृत्वको नेपाल महिला संघ कास्कीले गरेको कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कास्कीमा नेपाली काँग्रेसको संगठन कमजोर बन्दै गएको बताए। गण्डकी प्रदेशको मुख्य मन्त्रीको रुपमा आफु केहि समय पोखरा बसे पनि सधैं पोखरा र कास्कीमा नबस्ने स्पष्ट पार्दै उनले कास्कीमा काँग्रेस नेता कार्यकर्ताको गतिबिधिका कारण पार्टी संगठन कमजोर बन्दै गएको टिप्पणी गरे।

उनले गण्डकी प्रदेश सरकारले महिला लक्षित कार्यक्रम  कार्यक्रम ल्याएको भन्दै स्वरोजगार महिलाहरुलाई सहयोग गर्दै महिलालाई स्वतन्त्र र आत्मनिर्भर बन्नसक्ने अबस्था सिर्जना गर्न प्रदेश सरकार गम्भीर रहेकोले महिला लक्षित कार्यक्रमबाट लाभ लिन आग्रह गरे ।

मुलुकको राजनीतिक अबस्थाबारेमा चर्चा गर्दै मुख्य मन्त्री एबम कांग्रेस केन्द्रीय सदस्य पाण्डेले मुलुक राम्रोसंग अगाडी बढ्न नसकेको कारण दुई ठुला दल मिलेर संघिय सरकार बनाएको स्पष्ट पारे। ‘गण्डकी प्रदेशमा पनि छिट्टै कांग्रेस र एमाले सहितको संयुक्त सरकार बन्ने छ।” उनले भने ।

सिमित श्रोत र साधनका कारण नागरिकका अपेक्षा सहज रुपमा पुरा गर्न कठिनाइ रहेको बताउंदै पाण्डेले भने, ‘जति श्रोत साधन छ त्यसको समुचित ब्यबस्थापन गरि सम्भव भएसम्मका राम्रो काम गर्न म सदैब प्रयासरत छु।’

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम गण्डकी प्रदेशका पूर्व मन्त्री सरस्वती अर्याल तिवारीले नेपाली काँग्रेसको संगठन बलियो बनाउन महिलाहरुको जागरुकता र पुरुषको जिम्मेवारीपन आबश्यक रहेको भन्दै तीज पर्वले संस्कृति जगेर्ना गर्ने सहित महिलाहरुको शसक्तिकरणमा समेत टेवा पुग्ने बिश्वास ब्यक्त गरिन ।

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य शारदा पौडेलले तीजको कार्यक्रममा महिलाहरुको उत्साहपूर्ण सहभागिता देखिएको र यो उत्साहलाई नेपाली काँग्रेसको संगठन बलियो बनाउने काममा खर्च गर्नुपर्ने खाँचो औंल्याईन।

नेपाल महिला संघका केन्द्रीय अध्यक्ष उषा राउत मिश्रले अब महिलाहरुमा शसक्तिकरणको खाँचो रहेको भन्दै आगामी दिनमा महिलाहरुले वडासदस्य मात्र नभएर वडाध्यक्षको रुपमा, उपमेयरको रुपमा मात्र नभएर मेयर र पार्टीको पनि महामन्त्री वा सभापति जस्तो महत्वपूर्ण पदमा पुग्ने गरि अभियान चलाउनुपर्ने बताईन। उनले महिला संघको तेश्रो महाधिबेशनपछि चौथो अधिबेशन अझै हुन नसकेको भन्दै यहि भदौ २८ गते मंगलादेबी सिंहको स्मृति दिवस मनाउन महिला संघका शाखाहरुलाई निर्देशन दिईन।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति किशोर दत्त बरालले महिला संघका बारेमा बिबाद बढाउने काम गरेको भन्दै नेपाली कांग्रेसको गण्डकी प्रदेश समितिका केहि जिम्मेवार नेताहरु, कास्की जिल्ला समिति र मातहतका समितिको जिम्मेवारीमा रहेका व्यक्तिहरुलाई स्पष्टिकरण सोधेर कारबाही गर्नुपर्ने बताए।

संघका कास्की जिल्ला अध्यक्ष मिना पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संघकी जिल्ला सचिब रामकुमारी पौडेल, संघको कास्की जिल्ला प्रबक्ता अम्बिका ढकाल, संघको पोखरा महानगर सभापति अम्बिका ढुंगाना र कार्यक्रम संयोजक गीता पौडेल लगायतले आआफ्नो भनाई राखेका थिए।

कार्यक्रममा संघको कास्की जिल्ला समितिको सभापति रहेर काम गरेका शकुन्तला गुरुङ, शारदा पौडेल, तारा अधिकारी र कोपिला रानाभाटलाई सम्मान गर्ने भनिएपनि शारदा पौडेल बाहेक अन्य भने उपस्थित भएनन। यसको साथै कार्यक्रम सम्पन्न गर्न सहयोग गरेको भन्दै लालुमाया शर्मा, अम्बिका ढकाल, गीता पौडेल, अम्बिका ढुंगाना, गोमा सुबेदी र चन्द्रावती पौडेल लगायतलाई पनि कार्यक्रममा खादा माला लगाएर सम्मान गरिएको थियो।

८ भाद्र २०८१, शनिबार १९:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा