Play

काठमाडौँको नाका नागढुंगामा पहिरो, सडक अबरुद्द ! मुग्लिंग नजिक गाडीमा ढुंगा खस्दा दुई घाइते

गुरुकुल खबर


पोखरा, पृथ्वीराजमार्ग अन्तर्गत काठमाडौँको नाका नागढुंगामा सडकमाथिबाट पहिरो खस्दा सवारी आवागमन दुईतर्फी अवरूद्ध भएको छ। बुधबार बिहान करिब ११ बजे चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित चेकपोइन्टबाट टायलघरतर्फ २/३ सय मिटर पर पहिरो खस्दा सडक अवरूद्ध भएको हो।

प्रहरी प्रभाग नागढुंगाका इन्स्पेक्टर हेम थपलियाले पानी परिरहेको र पहिरो खसिरहेकाले पन्छाउनका लागि समस्या भएको बताए। ‘ढिस्को खसेको छ। पानी परिरहेकाले पन्छाउन पनि समस्या भएको छ। सवारी आवागमन दुईतर्फी नै अवरूद्ध छ,’ उनले भने। पहिरोले सडक अवरूद्ध भएकाले सवारी साधन  नागढुंगाबाट अगाडि नै रोकिएको उनले बताए।

बाटो अवरूद्ध भएपछि दुईतर्फी नै साधन रोकिएका छन्। इन्स्पेक्टर थपलियाले वैकल्पिक मार्ग प्रयोगका लागि समन्वय भएको पनि बताए। ‘साना साना गाडीहरूलाई धार्केबाट सितापाइला निस्कने सडकबाट पठाउन इलाका प्रहरी कार्यालय खानीखोलासँग समन्वय भएको । बाडभन्ज्याङको बाटो कस्तो छ भनेर बुझिरहेका छौं,’ उनले भने। पहिरो खस्न छाडेपछि पन्छाउन सुरू गरिने पनि इन्स्पेक्टर थपलियाले जानकारी दिए।

यसैबीच मुग्लिन नारायणगढ सडकखण्ड- १७ किलोमा सडक माथिबाट गुडिरहेको गाडीमाथि ढुंगा खस्दा दुई जना घाइते भएका छन्। भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित उक्त सडकमा काठमाडौंबाट भरतपुर जाँदै गरेको गाडीमा ढुंगा खसेको प्रमुख जिल्ला अधिकारी इन्‍द्रदेव यादवले जानकारी दिए।

बा प्रदेश ०१-००६ ख ६४१४ नम्बरको गाडी अगाडि बुधबार बिहान ढुंगा खसेको थियो ।  ढुंगाले लागेर गाडीको सिसा फुटेको छ। सिटमा बसिरहेका नवलपुर देवचुली नगरपालिका-१३ बस्ने ८ वर्षीय कविता परियार र ५ वर्षीया कन्चन परियारको हातमा चोट लागेको र दुवै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जनाको छ।

५ भाद्र २०८१, बुधबार १३:५६ मा प्रकाशित
Nabintech