Play

चितवनको बाराही जंगल लजलाई नेपालमै पहिलोपटक ‘सस्टेनेबल होटल’ को प्रमाणपत्र

गुरुकुल खबर


पोखरा, वर्ल्ड ट्राभल एण्ड टुरिजम काउन्सिलले नेपालमा संचालित पर्यटकीय स्तरका होटलहरु मध्ये पहिलो पटक चितवनको मेघौलीमा संचालित बाराही जंगल लजलाई  ‘सस्टेनेबल होटल’ को रुपमा सर्टिफाइड गरेको छ ।  दिगो बिकास सम्बन्धि तीनवटा मुख्य मापदण्डलाई प्रबर्धन गर्ने किसिमले बाराही जंगल लज संचालन गरिएको भन्दै वर्ल्ड ट्राभल एण्ड टुरिजम काउन्सिलले बाराही जंगल लजलाई सस्टेनेबल होटलको प्रमाणपत्र प्रदान गरेको हो।

होटलको उर्जा बचतमा होटलको पुर्वाधार एबम संरचना, बाताबरण संरक्षणमा होटलले गरेको प्रयास र स्थानीय समुदायसंग होटलको सम्बन्ध जस्ता मुख्य तीनवटा मापदण्डको आधारमा बाराही जंगल लजले नेपालमा पहिलो पटक उक्त अन्तराष्ट्रियस्तरको प्रमाणपत्र प्राप्त गरेको होटलका संचालक विप्लब पौडेलले गुरुकुल खबरलाई जानकारी दिए।

चितवनको मेघौली स्थित राप्ती नदीको किनारामा अबस्थित बाराही जंगल लज चितवन स्थित विमानस्थलबाट एबम स्थानीय बसपार्कबाट करिब ३२ किलोमिटरको दुरीमा रहेको छ। उक्त होटल चितवन नेशनल पार्क (चितवन राष्ट्रिय निकुन्ज) बाट एकसय मिटर नजिक रहेको छ। बिशेष गरि ‘कपल’ वा जोडीले उक्त होटललाई धेरै मन पराउने गरेको बुझिएको छ। बूकिंग डट कमले होटल बाराहीमा पुग्ने त्यस्ता पाहुना कपलले १० मध्ये ९.५ अंक दिएको उल्लेख गरेको छ।

संचालक पौडेलका अनुसार उर्जा बचतको लागि होटल परिसरमा लिड लाइटको प्रयोग गरिएको छ भने बिद्युतको लागि सौर्य उर्जा (सोलार) प्रयोगमा ल्याईएको छ । यसका साथै होटल परिसर सहित स्थानीय क्षेत्रको यातायातका लागि बिधुतिय गाडी प्रयोगमा ल्याईएको छ।

यसैगरि होटलले पानीको प्रशोधन गरेर पुन: प्रयोग गर्ने ब्यबस्था मिलाएको छ भने बर्षाको पानीलाई सिंचाईको लागि उपयोग गर्न सकिने ब्यबस्था मिलाईएको छ। होटललाई प्लास्टिक निषेधित क्षेत्रको रुपमा समेत बिकास गरिएको र मासिक रुपमा होटल नजिकको नदि तथा सडकको सरसफाई समेत होटलले गर्ने गरेको छ। होटलले स्थानीय बाताबरण संरक्षण र हरियाली प्रबर्धनको लागि प्रत्येक बर्ष ५ सय भन्दा बढी बिरुवा रोप्ने गरेको छ।

स्थानीय समुदायसंग होटलको सम्बन्ध पनि बलियो बनेको छ। होटलमा करिब ९५ प्रतिशत रोजगारी स्थानीय समुदायलाई दिईएको छ भने स्थानीय महिलाहरुलाई आबश्यकता अनुसार विभिन्न कामको अवसर दिने र उनीहरुलाई विभिन्न किसिमको तालिम समेत होटलले दिंदै आएको छ । होटलले स्थानीय समुदायको लागि आपतकालीन अबस्थामा वा स्वास्थ्योपचारको लागि स्वास्थ्यसंस्था वा अस्पतालमा जानुपरेको अबस्थामा निशुल्क रुपमा सवारी साधन समेत उपलब्ध गराउने गरेको छ ।

यिनै विभिन्न आधारको मुल्यांकन गर्दै अन्तराष्ट्रिय स्तरबाट नेपालमै पहिलो पटक ‘सस्टेनेबल होटल’को प्रमाणपत्र बाराही जंगल लजले प्राप्त गरेकोमा संचालक पौडेलले खुशी प्रकट गरे। पौडेलले होटलको आसपासको क्षेत्रको प्राकृतिक सुन्दरताको संरक्षण गरि होटलमा पुग्ने पाहुना पर्यटकहरुको लागि उत्कृष्ट र आनन्ददायक सेवा प्रदान गरिरहेको जानकारी दिए ।

होटलमा कफी सप, रेष्टुरेण्ट, बार, सभाहल समेत रहेको कारण विभिन्न गोष्ठी लगायतका कार्यक्रम समेत हुने गरेका छन। यसको साथै मसाज सेन्टर, आउटडोर स्विमिंग पुल, साइकलिंग, हाइकिंग, क्यानोईंग, काराओके, स्थानीय कला र संस्कृतिको मनोरंजन समेत पाहुनाहरुले लिनसक्ने सुबिधा छ। होटलले जंगल सफारी, बोट सफारीको ब्यबस्ठा समेत गर्ने गरेको छ । जंगलको बिचमा र प्राकृतिक रुपमा सुन्दर स्थानमा रहेकोले पनि होटलमा स्वदेशी सहित बिदेशी पर्यटकको आकर्षण बढेको पौडेल बताउछन।

बाराही जंगल लज पोखरेली पर्यटन ब्यबसायी विप्लब पौडेल सहित परिवारको स्वामित्वमा संचालित होटल हो । करिब चार दशक अगाडि पोखराको लेकसाइडमा पौडेलका बुवा हरिप्रसाद पौडेलले नौवटा कोठा सहितको प्याराडाइज गेस्ट हाउस संचालन गरेका थिए। सोही होटलमा विभिन्न सुबिधा थप गर्दै होटल संचालन गर्ने क्रममा त्यसलाई होटल बाराही नाम राखिएको थियो ।

पौडेलले होटल पर्यटन क्षेत्रमा गरेको लगानी र उनको समर्पणलाई उनका छोराहरु विप्लब पौडेल र बैभव पौडेलले अंगालेपछि होटल बाराहीको ख्याती र ब्यापार दुवै बढ्दै गएको छ। अहिले बाराही ग्रुप अन्तर्गत चितवनमा बाराही जंगल लज, पोखरामा होटल बाराही, व्यञ्जन रेस्टुरेन्ट, सराङकोट माउन्टेन लज, आवास पोखरा, द बिच बार एन्ड लज समेत सञ्चालनमा रहेको बाराही ग्रुपका कर्पोरेट म्यानेजर राजकुमार केसीले गुरुकुल खबरलाई जानकारी दिए ।

बाराही ग्रुपको नेतृत्वमा पोखराको सेदीमा पनि पाँचतारे होटल निर्माणाधीन छ।

यो पनि पढौं ..

स्थापनाको छोटो समयमा नै फड्को मार्दै ‘होटल बाराही काठमाडौँ’, अन्य होटलको दाँजोमा उत्कृष्ट

१ भाद्र २०८१, शनिबार ०९:०० मा प्रकाशित
Nabintech