Play

बाराही माबिमा तिन लाख बढीको अक्षयकोष र धर्मस्थली माबिलाई पांच लाख सहयोग

कुडहर आधारभूत बिद्यालयमा खाजा खर्च र छात्रवृति सहयोग


गुरुकुल खबर


पोखरा महानगरक्षेत्रका विभिन्न शिक्षण संस्थाको शैक्षिक एबम भौतिक बिकासको लागि विभिन्न व्यक्तित्वले सहयोग गरेका छन। जस अनुसार पोखरा महानगरपालिका -५ स्थित  बाराही माबि र धर्मस्थली आधारभूत विद्यालयको लागि सोहि वडाका बासिन्दा रहेका तर हाल बिदेशमा कार्यरतहरुले सहयोग गरेको छन। भने वडा न. १० को कुंडहर आधारभूत बिद्यालयमा अध्ययनरत विद्यार्थीको लागि स्थानियस्तरबाट खाजा खर्च उपलब्ध गराइएको छ ।

बाराही माबिमा तिन लाख बढीको गोबिन्दप्रसाद-लिलावती-रुक्मिणी कोइराला अक्षयकोष स्थापना  

पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटनस्थित बाराही माविमा गोविन्दप्रसाद-लीलावती-रुक्मिणी कोइराला अक्षयकोष स्थापना भएको छ । गोविन्दप्रसादका छोरा, बुहारीहरु र छोरीले तीन लाख तीन हजार पाँचसय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

गोविन्दप्रसादका जेठा छोराबुहारी सुवास/उमा, माइला छोराबुहारी सुरेशचन्द्र/ज्ञानु, कान्छा छोराबुहारी लक्ष्मण/सीता कोइरालाका साथै छोरी शान्तिकुमारी कोइरालाले अक्षयकोष स्थापना गरेका हुन् ।

छोरा सुवास बाराही माविबाटै २०५१ सालको एसएलसी परीक्षामा सहभागी भई बोर्ड पाचौँ स्थान हासिल गरेका थिए ।

गोविन्दप्रसाद सामाजसेवी, शिक्षासेवी र धार्मिक व्यक्तित्वकारुपमा परिचित थिए । उनले विद्यालय व्यवस्थापन समिति सदस्य भएर बाराही माविको २८ वर्ष सेवा गरेका थिए । वि.सं. १९९३ सालमा जन्मिएका उनको २०६३ सालमा निधन भएको थियो ।

कोइराला परिवारले पोखरा-५ का वडाध्यक्ष विष्णुप्रसाद बरालको उपस्थितिमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष निर्मल खत्री र प्रधानाध्यापक शिवप्रसाद भण्डारीलाई रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा वडाध्यक्ष बरालले बाराही स्कुल पोखराकै नमूना विद्यालय भएको भन्दै गुणस्तरीय शिक्षाका लागि कुनै कञ्जुस्याइँ नगरिने स्पष्ट पारे । साथै उनले अक्षयकोषदाता परिवारले शिक्षाक्षेत्रमा उल्लेखनीय भूमिका खेल्दै आएको बताए।

विद्यालयका प्रधानाध्यापक भण्डारीले अक्षयकोषले विद्यार्थीको अध्ययनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षासेवी डा. महेश्वर पराजुली, सहायक प्रधानाध्यापक तुलसीप्रसाद भण्डारी, शिक्षक रामप्रसाद पोखरेललगायतले बोलेका थिए ।

कार्यक्रममा पोखरा-५ का जनप्रतिनिधि हरिमाया विक, कल्पना भुवाई, मणिराम बराल, गोविन्द पराजुली, विद्यालयका पूर्वप्रधानाध्यापक हेरम्बप्रसाद कोइराला, सोमनाथ भूर्त्याल, पूर्वजनप्रतिनिधि पुष्पराज बराल, शिक्षासेवी भरतराज पौडेललगायत सहभागी थिए ।

धर्मस्थली आधारभूत बिद्यालयलाई डा. कोइरालाबाट रु. पांच लाख सहयोग

पोखरा महानगरपालिका -५ घर भएर हाल अमेरिका रहेका डा.राजेन्द्र प्रसाद कोइराला र डा.सुमिरा अधिकारी कोइरालाले पोखरा –  ५ मा रहेको धर्मस्थली आधारभुत विद्यालयलाई ५ लाख रुपैया सहयोग गरेका छन् ।

धर्मस्थलीका पूर्व विद्यार्थी समेत रहेका कोईरालाले विद्यालयको समग्र विकास निर्माणका लागि उक्त रकम सहयोग गरेका हुन् ।

पोखरा–५, प्रस्याङ्गमा घर भई हाल अमेरिका बस्दै आएका कोईरालाले आफ्ना ससुरा सहित्यकार, शिक्षाप्रेमी तिर्थराज अधिकारी र सासुआमा सीता अधिकारी मार्फत सो रकम विद्यालयलाई  हस्तान्तरण गरेका हुन् ।

डा.राजेन्द्र प्रसाद कोइराला धर्मस्थली आधारभूत विद्यालयका  ब्यबस्थापन समितिका पूर्व अध्यक्ष स्व. वेदनिधी कोइरालाका कान्छा छोरा हुन् ।

कुडहर आधारभूत बिद्यालयलका बिद्यार्थीलाई छात्रवृति र खाजा खर्च सहयोग 

पोखरा महानगरपालिका वडा नं. १० कुँडहरस्थित कुँडहर आधारभूत विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति र दिवा खाजा सहयोग गरिएको छ । पोखरा-१० बुद्धचोकस्थित बबि ब्यूटी सैलुन एण्ड ट्रेनिङ सेन्टरले ११ औं वार्षिकोत्सवको अवसरमा विद्यालयलाई उक्त सहयोग गरेको हो ।

कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक नन्दकिशोर बरालले विद्यालयको स्तरोन्नतिका लागि प्रत्येक वर्ष तिहारमा देउसी भैलो कार्यक्रममार्फत आथिक रकम संकलन गर्दै आइरहेको र आगामी वर्षमा आयोजना हुने देउसीभैलोमा समेत बबि ब्यूटीपार्लरको तर्फबाट सहयोगको अपेक्षा राखे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष अनिता तिमिल्सिनाले सरकारी विद्यालय सञ्चालन गर्न गाह्रो रहेको भन्दै विभिन्न दाताको सहयोगबाट नै विद्यालय सञ्चालनमा सहयोग पुुगेको बताइन् ।

बबि ब्यूटी सैलुनका सञ्चालक बबिता केसी कार्कीले स्थापना कालदेखि नै वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक काम गर्दै आइरहेको बताइन् ।

कार्यक्रममा पोखरा-१० का वडा सदस्य नरदेवी गुरुङ, बबि ब्यूटी सैलुुनका म्यानेजर सन्तोष कार्की, विद्यालयका शिक्षक प्रतिनिधि टेकबहादुर थापा, शिक्षक अभिभावक संघका सदस्य रीतु केसीलगायत सहभागी थिए ।

विगतमा पोखराका वडाहरुले सिफारिस गरेका आधारमा निःशुल्क ब्यूटीसीयन तालिम प्रदान गर्दै आउको सैलुनका म्यानेजर तथा ब्यूटीसियन सुमित्रा केसीले जानकारी दिइन् ।

१७ श्रावण २०८१, बिहीबार १९:३३ मा प्रकाशित
Nabintech