Play

पोखरा उद्योग बाणिज्य संघको चुनाब : कार्की र पोखरेलको छुट्टाछुट्टै प्यानल निर्माण गर्न गृहकार्य शुरु

गुरुकुल खबर


पोखरा, पोखराको जेठो संस्थाको रुपमा रहेको पोखरा उद्योग वाणिज्य संघको ३५ औं अधिवेशन भदौको अन्तिममा गर्ने निर्णय भएसंगै संघको कार्यसमितिको विभिन्न पदमा उमेदवार बन्न चाहनेहरुको टिम बनाउन गृहकार्य शुरु भएको छ। चुनाबमा अध्यक्ष सहित पदाधिकारीहरु र सदस्यहरुको प्यानल बनाउनको लागि संघको संस्थापन समूहले गृहकार्य शुरु गरेको छ।  पोखरा उद्योग बाणिज्य संघमा करिब २ हजार ७ सय उद्योगी ब्यबसायी सदस्य रहेका छन। उनीहरुले नै मतदान गरेर अध्यक्ष सहित नयाँ कार्यसमिति चुन्ने ब्यबस्था रहेको छ।

संघका बर्तमान कार्यसमितिका अध्यक्ष पवन कुमार प्रजापतिले पुन: अध्यक्ष बन्ने चाहना प्रकट नगरेको र कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष रहेका गोकर्ण कार्कीलाई उमेद्वार बनाउन वर्तमान अध्यक्ष प्रजापति सहित केहि पूर्व अध्यक्ष मिलेर प्यानल बनाउन गृहकार्य शुरु गरेका हुन। यो संगै अघिल्लो अधिबेशनमा अध्यक्ष पदका उपबिजेता अर्जुन पोखरेल समेत केहि अग्रज संगको परामर्शमा र उद्योगी ब्यबसायीसंगको भेटघाटमा रहेको बताईन्छ। उनले पनि आफ्नो टिम बनाउन गृहकार्य शुरु गरेको बुझिएको छ।

कार्की २०५५ मा संघको साधारण सदस्य बनेपछि २०६१ मा संघको कार्यसमितिको सदस्य बन्न चुनाब लडेको भएपनि पराजित बनेक्का थिए। पछिल्लो समयमा उनि लगातार ३ कार्यकाल संघको महत्वपुर्ण पदमा छन उनि २ कार्यकाल सम्म उद्योग तर्फको उपाध्यक्ष र पछिल्लो कार्यकाल बरिष्ठ उपाध्यक्षको रुपमा कार्यरत छन । “अब मेरो उमेद्वारी अध्यक्ष पदमा नै रहनेछ र यो स्वाभाविक पनि हो, चुनाबको लागि सबैलाई मिलाएर टिम बनाउने प्रयासमा साथीहरु लाग्नु भएको छ” कार्कीले गुरुकुल खबरसंग भने । उनले उद्योग बाणिज्य संघको विभिन्न उपसमितिमा रहेर पनिकाम गरिसकेका छन ।

अघिल्लो पटक अध्यक्ष पदमा पराजित अर्जुन पोखरेल यस पटक पनि अध्यक्ष पदमा चुनाब लड्ने तयारीमा छन। २०७१ मा संघको कार्यसमितिको सदस्य निर्बाचित भएपछि क्रमश: उपमहासचिब, महासचिब र बाणिज्य तर्फको उपाध्यक्ष जितेको उनले अघिल्लो पटक अध्यक्ष पदमा चुनाब लडेका थिए। यसपटक पनि अध्यक्ष पदमा चुनाब लड्ने कुरा सार्बजनिक गरेका उनले आँफु पूर्व अध्यक्षहरु सहित अन्यसंगको परामर्शमा रहेको जानकारी दिए। “धेरै सदस्यहरुले मलाइ अध्यक्ष बन्न आग्रह गरेकोले त्यसलाई मुर्तरुप दिन मैले गृहकार्य शुरु गरेको छु”। उनले भने ।

संघको संस्थापन समुहले यस पटक अध्यक्ष पदमा गोकर्ण कार्कीलाई समर्थन गर्ने र उनको नेतृत्वमा टिम बनाउने भएको छ। अध्यक्ष पछि बरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदमा कसलाई उमेदवार बनाउने भन्ने बारेमा भने टुंगो लगाउन चुनौती जस्तै छ। हाल उद्योग तर्फका उपाध्यक्षमा देबेन्द्र केसी र बाणिज्य तर्फका उपाध्यक्षमा उत्तममान बुद्दाचार्य रहेको छन् भने महासचिबमा बलराम आचार्य रहेको छन। यिनै तिनजना मध्येबाट बरिष्ठ उपाध्यक्ष र अन्य दुई जना उपाध्यक्ष पदमा उमेदवार बनाउने सोचमा संस्थापन पक्ष रहेको छ।

तर तीनजनालाई मिलाउन नसकेमा त्यहाँबाट बाहिरिने व्यक्ति पोखरेल नेतृत्वको टिममा समाबेश हुने करिब निश्चित जस्तै छ। त्यसैले संस्थापन वा कार्की समुहले सबैलाई मिलाएर प्यानल बनाउन नसके पोखरेल नेतृत्वको टिमले उमेद्वारहरु सजिलै पाउन सकिने अबस्था हुन्छ।

यस अगाडी सम्पन्न अधिबेशनमा बरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्कीले जित्दा उक्त पदका उमेद्वार हरिहर सापकोटा पराजित बनेका थिए। सापकोटा तत्कालिन अबस्थामा अध्यक्ष पदका उमेद्वार अर्जुन पोखरेलको टिमबाट उमेद्वार बनेका हुन। पोखरेलको टिमबाट उमेद्वार बनेकाहरुमध्ये देबेन्द्र केसीले मात्र उपाध्यक्ष पदमा बिजय प्राप्त गरेका थिए । केसीसंग हिरामणी पण्डित पराजित बनेका थिए। पण्डित राजनीतिक रुपमा नेकपा एकीकृत समाजबादी सम्बद्द भएकोले मत तान्ने प्रयोजनमा उनलाई उमेदवार बनाइएको थियो।

बाणिज्य तर्फको उपाध्यक्षमा कुमारी मुना बाँस्तोला र शोभित पौडेलले पराजय भोग्नुपर्दा उत्तममान बुद्दाचार्यले बिजयी हुने अवसर पाएका थिए। महासचिबमा बलराम आचार्य बिजयी बन्दा केशव खत्री र तारानाथ ढुंगानाले पराजय भोगेका थिए। यसैगरी कोषाध्य्क्षमा हरीराज पन्तलाई दिनेशचन्द्र बाँस्तोलाले पराजित गरेका थिए भने उपमहसचिबमा शोभा गौतमले हर्कबहादुर अधिकारी ‘मिराज’ लाई पराजित गरेकी थिइन।

अघिल्लो पटक चुनाब हारेकाहरुमध्ये अध्यक्ष पदमा अर्जुन पोखरेलले यसपटक पनि सोहि पदमा चुनाब लड्ने इच्छ्या जाहेर गरेको भएपनि पदाधिकारीमा चुनाब हारेकाहरु यसपटक उमेद्वार बन्ने सम्भावना खासै देखिएको छैन। त्यसैले अध्यक्ष उमेद्वार बन्ने चाहना राखेका अर्जुन पोखरेललाई टिम बनाउन पहिले जस्तो सहज देखिन्न। तर उनले हाल संघको कार्यसमितिमा पदाधिकारी रहेका केहीलाई आफ्नो टिममा राखेर चुनाबमा जाने बाताबरण तयार गर्न भन्दै गृहकार्य शुरु गरिसकेको बताईन्छ।

पोखरेलको टिममा हालकी उपमहसचिब शोभा गौतम पर्ने पक्का जस्तै छ। गौतम संघको महासचिबमा उमेद्वार बन्ने अभियानमा छिन। संघको संस्थापन पक्षले महासचिबमा दिनेशचन्द्र बाँस्तोलालाई नै उमेद्वार बनाउने करिब निश्चित जस्तै छ। बाँस्तोलालाई संस्थापन अर्थात कार्की समुहले महासचिबको उमेदवार बनाउने भएको कारण गौतमले पोखरेलको टिम रोज्नुपर्ने भएको हो।

यसपटक कोषाध्यक्ष पदमा हालका सदस्य मनोज श्रेष्ठ उमेद्वार बन्ने करिब निश्चित जस्तै छ। उनिसंग प्रतिष्पर्धा गर्न को आउलान भन्ने अझै खुलेको छैन।

यसपटक संघको उपमहसचिबमा हालको कार्यसमितिमा सदस्य रहेकाहरुमध्येबाट उमेद्वार बनाइने सम्भावना छ। कार्यसमितिमा खुल्ला तर्फबाट सदस्यमा निर्बाचित प्रभा सुबेदी, बालकृष्ण कोइराला, सुदिप प्रधानाङ्ग, भरत केसी, दिलिप कुमार श्रेष्ठ, कृष्ण प्रसाद कोइराला, भिम गौतम, माधव बस्ताकोटी, मनोजकुमार श्रेष्ठ, सुदिप ओझा रहेकोमा प्रभा सुबेदी, बालकृष्ण कोइराला, सुदिप प्रधानाङ्गले पदाधिकारीमा चुनाब लड्ने चाहना राखेका छन।

सोहि अनुरुप अध्यक्षका उमेद्वार कार्की टिमबाट कुनै एकलाई उपमहासचिबको उमेद्वार बनाइए बाँकीलाई पोखरेल टिमबाट पदाधिकारीमा उमेदवार बनाइने सम्भावना छ।

अघिल्लो अधिबेशनमा सदस्य पदमा उमेद्वार बनेर पनि झिनो मतले पराजित हुनेमा ललित कुँवर रहेका छन। उनि यस पटक पनि सदस्य पदमा उमेद्वार बन्ने निश्चित जस्तै छ। अघिल्लो पटक सदस्यको उमेद्वार बनेर पराजित भएका हिमानिधि लौडारी, बिनोद केसी, रामचन्द्र शर्मा, धर्मेन्द्र बाटाजु, दुर्गा रंजित श्रेष्ठ र यामनाथ तिमिल्सिना यस पटक उमेद्वार बन्ने वा नबन्ने भन्ने अझै खुलेको छैन।

कार्यसमितिमा कर्पोरेटबाट बन्दना कार्की केसी र राम प्रसाद कंडेल तथा बस्तुगत तर्फबाट जिबन प्रकाश श्रेष्ठ, प्रेम प्रसाद सुबेदी, लेखनाथ सुबेदी, लिलाधर चपाइ सदस्य छन भने उद्योग तर्फबाट युबक बहादुर बस्नेत सदस्य रहेका छन। कार्यसमितिमा सौगात थापा, देबेन्द्र प्रजु, प्रदिप राजभण्डारी, टिकाराम सुबेदी मनोनित सदस्य र रुद्रलाल श्रेष्ठ अनि निरन केसी आमन्त्रित सदस्यको रुपमा रहेका छन। उनिहरु कार्यसमितिको कुन पदमा उमेद्वार बन्ने वा नबन्ने भन्ने स्पष्ट हुन सकेको छैन।

आगामी भदौ २८ र २९ गते हुने अधिबेशनको लागि टिम वा प्यानल बनाउने गृहकार्य शुरु भएको भएको छ। तर संस्थापन समुहमा रहेका कार्कीलाइ जस्तो सहज पोखरेललाई देखिदिन। संस्थापन टिममा रहेकाहरु नै पदीय भागबण्डामा असहमत भएर पोखरेल टिममा समाहित हुन नाजालान भन्न पनि सकिन्न।

बिगतका केहि वर्ष राजनीतिक रुपमा प्यानल बनाएर चुनाब लड्ने प्रवृति समेत पोखरा उद्योग बाणिज्य संघमा देखिएको थियो तर राजनीतिक पार्टीको नजिक रहेर प्यानल बनाएपनि १/२ जनाले बाहेक सफलता पाउन नसकेपछि राजनीतिक पार्टीको आधारमा प्यानल बनाउने तर्फभन्दा व्यक्तिगत रुपमा प्यानल बनाउने तर्फ उमेद्वारहरु देखिन थालेकाछन। राजनीतिक रुपमा पनि प्रजातन्त्रबादी र बामपन्थी भनेर विभाजित हुने गरेका उद्योगी ब्यबसायीहरु राजनीतिक रुपमा विभाजित हुने सम्भावना खासै देखिन्न।

यसको साथै संघका पूर्व अध्यक्षहरुको नाममा समेत दुई चिरामा विभाजित हुने अवस्था बिगतका केहि अधिबेशनमा देखिएको भएपनि यस पटक पूर्व अध्यक्षको नाममा समेत टिम बिभाजन हुने खासै सम्भावना देखिन्न । तर केहि पूर्व अध्यक्षहरु भने अहिले देखि नै टिम वा प्यानल निर्माणमा जुटिसकेको समेत बताईन्छ।

१६ श्रावण २०८१, बुधबार २०:४६ मा प्रकाशित
Nabintech