Play

नेपथ्यको सांगीतिक अमेरिका टुर अगस्ट र सेप्टेम्बरमा हुँदै

गुरुकुल खबर


पोखरा । नेपालको लोकप्रिय लोकरक ब्यान्ड नेपथ्यले अमेरिकामा सांगीतिक टुर गर्ने भएको छ । ब्यान्डले आउँदो महिना अमेरिकाका विभिन्न स्थानमा कन्सर्ट गर्न लागेको हो ।

अगस्ट ३ मा कोलोराडोको राजधानी डेनभरबाट नेपथ्यको सांगीतिक टुर सुरु हुनेछ । डेनभर नजिकैको बोल्डरस्थित ऐतिहासिक महत्वको ‘बोल्डर थिएटर’मा नेपथ्यले यो वर्षको अमेरिका यात्राकै पहिलो कोसेली प्रस्तुत गर्नेछ ।

दोस्रो प्रस्तुति अमेरिकाको पश्चिमी तटकै समृद्ध सहर सानफ्रान्सिस्कोस्थित ‘वारफिल्ड थिएटर’मा १० अगस्टमा आयोजना हुनेछ । क्यालिफोर्निया राज्यको यो सहरमा ब्यान्डले आठ वर्षअघि पनि प्रस्तुति दिइसकेको थियो ।

तेस्रो प्रस्तुति भने ओहायो राज्यको राजधानी कोलम्बसमा गर्ने योजना छ । त्यहाँको ‘केम्बा लाइभ कन्सर्ट भेन्यु’मा ब्यान्डले १७ अगस्टमा प्रस्तुति दिनेछ ।

चौथो कन्सर्ट टेक्सासमा हुनेछ । नेपालीहरुको बाक्लो बसोबास भएको सहर डालसमा ६ वर्षपछि नेपथ्य फेरि प्रस्तुत हुन लागेको हो । त्यहांको ‘टोयोटा म्युजिक फ्याक्ट्री’ मा २४ अगस्टमा कार्यक्रम गर्ने तयारी छ ।

त्यसपछि अगस्ट ३० मा न्युयोर्कको म्यानहटनमा रहेको ‘टर्मिनल फाइभ’मा नेपथ्य साँझ आयोजना हुनेछ ।

न्युयोर्कपछि मेरिल्याण्ड राज्यमा कन्सर्ट हुनेछ । सेप्टेम्बर १ तारिखका दिन ब्यान्डले लाइभ क्यासिनो होटल मेरिल्याण्ड स्थित ‘द हल एट लाइभ’को प्रेक्षालयमा आफूलाई प्रस्तुत गर्नेछ ।

अन्तिम कन्सर्ट पेन्सिलभेनियाको ह्यारिसवर्गमा हुनेछ । यो सहरको ‘द फोरम अडिटोरियम’ मा सेप्टेम्बर ७ मा कन्सर्ट हुनेछ । झण्डै १०० वर्षअघि यो हल सिम्फोनी अर्केस्ट्रा प्रस्तुत गर्ने उद्देश्यका साथ तयार पारिएको थियो ।

नेपथ्यले सन् २००४ मा फिनिक्स र वासिङ्टन डिसीमा कन्सर्ट गर्दै पहिलोपटक अमेरिका यात्रा गरेको थियो । त्यसपछिका वर्षमा नेपथ्यले न्युयोर्क, सानफ्रान्सिस्को, लस एन्जलस, एटलान्टा, डालस र बोस्टनमा प्रस्तुति दिइसकेको छ ।

गत वर्ष मात्रै क्यानाडामा श्रृंखलाबद्ध यात्रा गरेको नेपथ्यले अमेरिकामा भने कोभिड महामारीपछि पहिलो सांगीतिक यात्रा गर्न लागेको हो । यसपालिको अमेरिका यात्राको संयोजन ‘डिजे मोमो इन्टरटेनमेन्ट’ले गरिरहेको छ । कन्सर्टमा सहभागी हुन चाहनेले नेपथ्यको आधिकारिक वेबसाइटबाट टिकट किन्न सक्नेछन् ।

१३ श्रावण २०८१, आईतवार २०:१६ मा प्रकाशित
Nabintech