पोखरा, त्रिभुवन अन्तराष्ट्रिय बिमनास्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा सो एयरलाइन्स व्यवस्थापन समूहका ५ जना दुर्घटनामा परेका छन् भने एकै परिवारका तिन जना सदस्य पनि दुर्घटनामा परेका छन।
काठमाडौँ बाट पोखराको लागी उडेको विमानमा एयरलाइन्सको व्यवस्थापन समूहका ५ जना सवार थिए । सौर्यका चिफ अफ सेफ्टी सागर आचार्य, सिए एमओ म्यानेजर अश्विन कुमार निरौला, म्यानेजर मेन्टिनेन्स यज्ञ प्रसाद पौड्याल, चिफ अप अपरेसन्स मनिष रत्न शाक्य र चिफ अफ क्युए (क्वालिटी अफिससर) दिलीप बर्मा विमानमा सवार थिए।
विमान क्याप्टेन मनिषरत्न शाक्यले उडाएका हुन् । विमानमा सवारमध्ये व्यवस्थापन समूहका ४ जनाको मृत्यु भएको छ । क्याप्टेन शाक्यको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार हुँदैछ । ३७ वर्षीय क्याप्टेन मनीष शाक्यलाई उद्धार गरी प्रहरीले केएमसी अस्पताल पुर्याएको छ। उनको अनुहारमा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
विमानमा सवार १८ जनाको मृत्यु भएकोमा विमानका कोपाइलट सुशान्त कटुवालको पनि मृत्यु भएको छ । उक्त विमानमा अमित मान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्य रत्न शाही र आरिफ रेडा रहेका थिए।
सौर्य एयरलाइन्सको जहाजमा एकै परिवारका तीन जनाको सवार रहेकोमा तिनै जनाको मृत्यु भएको छ जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको एकै परिवारका सदस्य हुन । मनुराज र प्रिजा श्रीमान–श्रीमती हुन् भने अधिराज उनीहरुका छोरा हुन् । प्रिजाका बुबा प्रकाश खतिवडाले ज्वाइँ मनुराज प्राविधिक भएको बताए । सौर्य एयरलाइन्सले भने यात्रुहरु सबै आफ्नो स्टाफ भएको उल्लेख गरेको भएपनि प्रिजा उर्जा मन्त्रालयमा कार्यरत रहेको कतिपयले जनाएका छन।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकोहरु सबै १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ। मृत्यु भएकामध्ये १७ जना नेपाली हुन् भने एक जना रेडा यमनका नागरिक रहेको खुलेको छ। शिक्षण अस्पतालले सबै शवहरुको पोस्टमार्टम गर्न कम्तिमा तीन दिन लाग्ने जानकारी दिएको छ । सबै प्रक्रिया सुरु गरेर आजै पोष्टमार्टम सुरु गरिने पनि अस्पतालले जनाएको छ। पोस्टमर्टम गरेपछि शव परिवार तथा आफन्तको जिम्मा लगाउने तयारी छ।
जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटना ग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले उल्लेख गरेको छ । बुधबार बिहान ११: १५ बजे काठमाडौंबाट पोखरा उडेको सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज दुर्घटनामा परेको थियो। जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो।
जहाज दुर्घटना स्थल निरीक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलगायत घटनास्थलमा पुगेका थिए।