Play

बिपीको बिचार र चिन्तन बर्तमान अबस्थामा पनि उत्तिकै सान्दर्भिक छ – मुख्यमन्त्री पाण्डे

प्रजातन्त्रको बिकल्प लोकतन्त्र मानेर बिपीको बिचार खल्बल्याएको कारण कांग्रेस कमजोर भयो -शर्मा


गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसका केन्द्रिय सदस्य एबम गण्डकी प्रदेशका मुख्य मन्त्री सुुरेन्द्रराज पाण्डेले  दूर दृष्टि भएका राजनेताका रुपमा स्थापित बिपी कोइरालाको छविले राष्ट्रिय एबम अन्तराष्ट्रिय स्तरमा ठुलो उचाई प्राप्त गरेको बताएका छन  ।  ४२ औं बिपी स्मृति दिवसका अवसरमा बिपी स्मृति पुुस्तकालय, गण्डकी प्रदेशले आइतबार पोखरामा आयोजना गरेको बिपी कोइराला, बर्तमान राजनीति र पठन संस्कृति बिषयक गोष्ठीमा प्रमुख अतिथिको रुपमा बोल्दै पाण्डेले तत्कालिन अबस्थामा बिपीले गरेको चिन्तन बर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

तत्कालिन समयमा मानिसको चेतना र बर्तमान समयमा मानिसको चेतनाको स्तरमा धेरै भिन्नता आएको भएपनि बिपीले सार्नुुभएका विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको मुख्यमन्त्री पाण्डेले स्पष्ट पारे ।

राजनीतिक अस्थिरताका कारण मुलुकलाई सहि गन्तब्यमा पुर्याउन असहज देखिएको बताउँदै कांग्रेस केन्द्रीय सदस्य पाण्डेले मुलुकको समृद्धि र विकासका लागि राजनीतिक स्थिरता पहिलो सर्त भएको उल्लेख गरे।

आमनागरिक र पार्टीका कार्यकर्ताहरुमा इतिहासको अध्ययन गर्ने प्रवृति र पठन संस्कृति हराउँदै गएको बताउँदै मुख्यमन्त्री पाण्डेले जनतासँग प्रत्यक्ष सम्बाद हुननसक्दा र कार्यकर्ताहरुले बैचारिक रुपमा आँफुलाई परिष्कृत गर्न नसक्दा पार्टी संगठन नै कमजोर बनेको कारण यस बिषयमा सबै गम्भीर बन्न उनले आग्रह गरे।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बिपीका समयमा भारत, चिन जस्ता देशहरूले नेपाललाई हेर्ने दृष्टिकोण उच्चस्तरको भएको बताउँदै बर्तमानमा ति मुलुकले नेपाललाई हेर्ने दृष्टिकोण फेरेको र नेपालीहरुले हेपिए जस्तो महशुस गर्नुपरेको बताए ।

प्रजातन्त्रको बिकल्प प्रजातन्त्र  नै हो भन्दै शर्माले बिपीले सारेको आदर्श तथा सिद्धान्तबाट विचलित भएर नेपाली काँग्रेसले पनि प्रजातन्त्रको ठाउँमा लोकतन्त्र भन्न थालेको भन्दै चिन्ता प्रकट गरे ।  उनले बिपीको बिरासत खल्बल्याउने काम कांग्रेसबाट नै भएको र सोहि कारण कांग्रेस कमजोर बन्दै गएको भन्दै बिपीको बारेमा थोरै कुरा सबैलाई थाहा भएपनि बिपीका सबै कुरा कसैलाई पनि थाहा हुन नसकेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शारदा पौडेलले बिपी बहुआयामिक व्यक्तित्वका धनि भएको कुराको चर्चा गर्दै सबै कांग्रसजन एकै ठाउँमा बस्ने बाताबरण बनाउन सके कांग्रेस बलियो हुने बताईन ।

नेपाली काँग्रेस कास्कीका पूर्व सभापति एबम पूर्व मन्त्री यज्ञबहादुर थापाले बिपीले राष्ट्रियतालाई महत्व दिएर राजाको कुरा गर्दा राजाबादीको समेत आरोप खेप्नुपरेको भन्दै तत्कालिन अबस्थामा बिपीलाई बिभिन्न आरोप लगाउने कम्युनिस्ट पार्टीका नेताहरु समेत बिपीको व्यक्तित्वबाट धेरै प्रभावित रहेको बताए  ।

नेपाली काँग्रेस कास्कीका पूर्व सभापति शोभियत बहादुर अधिकारीले बिपीले गरिब जनता र देशको मुहार फेर्ने कुरा गर्ने गरेको स्मरण गर्दै बर्तमान अबस्थामा भने सत्ता र शक्तिमा रहेका नेताहरु बिपीले देखाएको बाटोमा जान नचाहेको बताए । यसै सन्दर्भमा उनले भने, “अहिले  सरकारको विभिन्न तहमा रहेकाहरुले समेत आँफुहरु जोगी बन्न राजनीति गरेको हैनौ भन्ने गरेको छन, जुन नेपाली काँग्रेसको लागि सुहाउने कुरा हैन । ”

कार्यक्रममा बरिष्ठ अधिवक्ता समेत रहेका बामपन्थी बुद्दिजीवी तिलक पराजुुलीले बिपी कोइराला काँग्रेसका मात्र नभै सबैको गुुरु भएको उल्लेख गरे । उनले प्रजातन्त्रका लागि बिपी कोइरालाले गरेको योगदान अतुलनीय भएको बताउंदै बिपीबाट पठन संस्कृति सिक्नुुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेस निकट बुद्दिजिबी डा. कुसुमाकर न्योपानेले बिपीको जेल जर्नल र पठन संस्कृतिको बारेमा प्रकाश पार्दै कांग्रेस कार्यकर्ताहरुले पठन संस्कृतिलाई ध्यान दिएर आफ्ना प्रतिष्पर्धी पार्टीका नेता कार्यकर्तासंग बैचारिक प्रतिबाद गर्न सक्ने हुनुपर्नेमा जोड दिए ।

बिपी स्मृति पुस्तकालय, गण्डकी प्रदेशका अध्यक्ष माधवप्रसाद बास्तोला (मधु) ले बिपी कोइरालाको बहुआयामिक व्यक्तित्वको बारेमा चर्चा गर्न र पार्टीका नेता कार्यकर्ताहरुमा पठन संस्कृतिको महत्व दर्शाउन कार्यक्रमको आयोजना गरिएको जानकारी दिए।

कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री कोपिला तिवारी, कास्की कांग्रेसका सभापति किशोर बराल, बिपी स्मृति पुस्तकालयका सदस्य दिपेन्द्र पराजुली र कबि शिब त्रिपाठी लगाएतका बक्ताले बिपी कोइरालाले  राजनीतिक सहित अन्य क्षेत्रमा गरेको योगदान र पठन संस्कृतिको बारेमा आआफ्नो भनाई राखेका बिपी स्मृति पुस्तकालयका कोषाध्यक्ष शिरोमणी बरालले जानकारी दिए ।

६ श्रावण २०८१, आईतवार २०:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा