Play

हर्पनखोलामा पौडी खेल्दा ३ युवा र तालमा डुबेर ३ सहित ६ जनाको मृत्यु

गुरुकुल खबर


पोखरा,  पोखरा महानगरपालिका स्थित विभिन्न ताल र खोलामा पौडी खेल्दा वा अन्य कारणले डुबेर मृत्यु हुने घटना बढ्दै गएका छन। केहि दिनयता मात्र खोला र तालमा डुबेर मृत्यु हुनेको संख्या ६ पुगेको छ भने केहीलाई प्रहरी र स्थानीयको सहयोगमा जीवितै उद्वार गरिएको छ। पोखराको घांटीछिना स्थित हर्पनखोलामा गर्मीको समयमा दिनहुँ ठुलो संख्यामा युवाहरु पौडी खेल्न जाने गरेको छन।

हर्पनखोलामा पौडी खेल्दा बुद्दाचार्य र ताम्राकारको मृत्यु 

शुक्रबार पोखरा महानगरपालिका -२३ घांटीछिना नजिक हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर पोखराका दुई युवाको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१ मोहरिया टोल घर भएका १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क घर भएका १८ वर्षीय स्वयम् ताम्राकार रहेको प्रहरीले जनाएको छ ।

छ जना साथीहरु मिलेर उनीहरु पौडी खेल्न गएकोमा बुद्दाचार्य र ताम्राकार दिउँसो ३.४० बजे तिर खोलाको रहमा डुबेका थिए। पहिले एकजना डुबेर निस्किन नसकेपछि अर्को साथी उद्वार गर्न जाँदा उनि पनि निस्किन नसकेको स्थानीय रबिन्द्र गुरुंगले अन्य युवाको कुरा उद्धृत गर्दै गुरुकुल खबरलाई जाकारी दिए ।

दुईजना खोलामा बेपत्ता भएपछि त्यहाँ पुगेको गोताखोरसहितको प्रहरी टोलीले दिँउसो ४ः३० बजे उनीहरुलाई मृत अबस्थामा फेला पारेको हो । दुवै जनाको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ।

हर्पनखोलामा पौडी खेल्दा सिंखडाको मृत्यु 

यसैगरी सोही ठाउँमा यहि असार १ गते दिउँसो २ बजेको समयमा २८ बर्षीय सन्तोष सिंखडाको पनि पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको थियो । धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका घर भएका सिंखडा केहि समयअगाडी पोखरा आएर आंफ्नो ससुराली घर पोखरा महानगरपालिका -८ मा बस्दै आएका थिए। उनि पनि पौडी खेल्ने क्रममा बेपत्ता भएपछि वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बल कालिकागण बाट गएको उद्दार टोलीले सिंखडालाई करिब साढे तिन बजे मृत अबस्थामा फेला पारेको थियो ।

गुँदेतालमा डुबेर छ बर्षीय बालकको मृत्यु 

यसैगरि पोखरा महानगरपालिका –२६ गुदेतालमा डुबेर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा लमजुङको मध्येनेपाल नगरपालिका करापुटार घर भई हाल पोखरा –२६ प्रगतिटोल बस्ने वर्ष ६ को सचिन परियार रहेको प्रहरीले जनाएको छ। उनि ३४ बर्षीय बिकाश परियारको छोरा हुन प्रहरीका अनुसार असार ३ गते शुक्रबार दिउँसो ३ बजेतिर बुवासँग माछा मारेको हेर्न गएकोबेला सचिन अचानक तालमा डुबेका थिए । सचिनलाई डुबिरहेको अवस्थानमा उनका बुवा र स्थानीयले देखेर तत्काल उद्धार गरी उपचारको लागि लेखनाथ सिटी अस्पतालमा ल्याएको भएपनि लगत्तै  चिकित्सकले मृत घोषणा गरेका थिए।

फेवातालमा डुबेर मगर र भण्डारीको ज्यान गयो

यसैगरी पोखराको फेवातालमा डुबेर बाग्लुङ घर भई हाल पोखरा-१८ खपौदी बस्ने ३३ वर्षीय शुकबहादुर मगरको पनि गत असारको १२ गते मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार  दिउँसो साढे चारबजेको समयमा खपौदीस्थित फेवातालमा माछा मार्ने क्रममा मगर डुबेका थिए ।

मगर डुबेर बेपत्ता भएको खबर प्राप्त हुने बित्तिकै कास्की प्रहरी र सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण अन्तर्गतको एपिएफ रेस्क्यू वाच टावरको विशेष विपद् उद्धार एवं गोताखोरकाे टोलीले साँझ  सबा पांच बजे अचेत अवस्थामा उनको उद्धार गरेको थियो । उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा सबा छ बजे नै चिकित्सकले मृत घोषणा गरेको कालिका गणका गणपति एसपी अरुणकुमार शर्माले जानकारी दिए ।

मगरको मृत्यु भएको घटनाको ५ दिन अगाडी फेवातालमा नै डुबेर कास्कीको नाउडांडा घर भएका संजय भण्डारीको समेत मृत्यु भएको थियो ।

मोदीखोलाले बगाउँदा ६० बर्षीय राई घाइते 

यसै गरि कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नं- ८ बिरेठाटी स्थित मोदी खोलाले सोलुखुम्बु जिल्ला घर भई हाल अन्नपुर्ण गाउँपालिका – १० घान्द्रुकमा ज्यामी काम गरी बस्ने  ६० बर्षीय शरण राईलाई बगाएको थियो। प्रहरी चौकी बिरेठाँटी बाट खटिएको प्रहरी टोलीले उनलाई सकुशल उद्दार गरि पोखरास्थित स्वास्थ बिज्ञान प्रतिष्ठानमा उपचारको लागि भर्ना गरिएको र खतरामुक्त अबस्थामा उपचार भैरहेको प्रहरीले जनाएको छ।

४ श्रावण २०८१, शुक्रबार २०:१० मा प्रकाशित
Nabintech