Play

गण्डकी प्रदेशभित्रका सरकारी कार्यालयका प्रमुख आँफुखुसी बिदामा बस्न नपाउने

गुरुकुल खबर


पोखरा,  गण्डकी प्रदेश स्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरु अब आँफुखुसी बिदामा बस्न नपाउने भएका छन। गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेको कार्यालयमा  सोमबार भएको  कार्यालय प्रमुखहरुको बैठकले उक्त निर्णय गरेको हो ।

उक्त बैठकको निर्णयमा ‘मनसुनजन्य विपद्को सम्भावित अवधिभर खानेपानी, सिँचाइ, पूर्वाधार विकास, स्वास्थ्य लगायत प्रदेश सरकार मातहतका मन्त्रालय, निर्देशनालय, निकाय तथा जिल्लास्तरका कार्यालय प्रमुखले सम्बन्धित मन्त्रालयका सचिव एवम् सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अनुमति बिना कार्यक्षेत्र नछोड्न लेखी पठाउने’ भन्ने उल्लेख छ।

बैठकले सम्भावित विपद आउन सक्ने क्षेत्रको भौगोलिक अध्ययनको लागि भूगर्भविद् सहितको टोली झिकाउने निर्णय समेत गरेको छ । बैठकको निर्णयमा ‘उक्त टोली खटाइदिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा लेखी पठाउने भन्ने उल्लेख छ। यससँग सम्बन्धित टोली परिचालनको सडक, खानेपानी तथा सरसफाइ हेर्ने लगायतका प्रदेश र जिल्लास्थित कार्यालयले आवश्यक समन्वय गर्नको लागि बैठकले निर्देशन दिएको छ।

यसैगरि विपद्को अवस्थामा आपत्कालीन खोज, उद्धार, राहत लगायत काम गर्न प्रदेश सरकारका सबै मन्त्रालय, निकाय र स्थानीय तहमा रहेका विपद् उद्धारमा प्रयोग गर्न सकिने सवारी साधन एवम् एम्बुलेन्सलाई समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

विपद्‌बाट भएको र हुने सक्ने क्षतिलाई न्यूनीकरण गर्न आपत्कालीन रूपमा प्रयोग गर्नुपर्ने पाइप, तारजाली तथा सार्वजनिक निर्माण लगायत कामको लागि खरिद प्रक्रिया छरितो गर्ने र स्थानीय तह वा वडाको सिफारिस तथा विपद्को फोटो राखेर वितरण गर्न समेत बैठकबाट सम्बन्धित कार्यालयलाई निर्देशन दिईएको छ। विपद्को कारण सडक पूर्वाधार, खानेपानी तथा सिँचाइका संरचनामा पुगेको क्षति र मर्मत सम्भार सम्बन्धी विवरण सम्बन्धित मन्त्रालयले तयार गरी तत्काल मर्मत र पुनः निर्माण गर्न सम्बन्धित कार्यालयलाई समेत निर्देश गरिएको छ ।

बैठकमा गण्डकीका मुख्यमन्त्री पाण्डेले विपद् व्यवस्थापन र न्यूनीकरणमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउंदै विपद्को जोखिम अझै रहेकाले सावधानीमा ध्यान दिनुपर्ने, राहत, उद्धार र पुनःस्थापनाका लागि जिम्मेवारीपूर्वक काम गर्नुपर्ने कुरामा जोड दिए । उनले विपद्का कारण क्षति बेहोर्नुपरेका र ज्यान गुमाएकाहरूको परिवारलाई जिल्ला प्रशासन कार्यालयहरुमार्फत राहत वितरण गरिरहेको जानकारी दिए ।

३१ असार २०८१, सोमबार २२:५८ मा प्रकाशित
Nabintech