Play

ओली नेतृत्वको सरकारमा २१ मन्त्री, सिंह र पौडेल उपप्रम, कास्कीका परियार चर्चामा रहे तर छुटे

गुरुकुल खबर


पोखरा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा मन्त्री बन्ने २१ जनाको नाम टुंगिएको छ। नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले आ-आफ्नो भागमा परेका मन्त्रालयको लागि मन्त्रीहरुको नाम पठाएका हुन्। यो संगै राष्ट्रपति कार्यालयमा नबनियुक्त प्रधानमन्त्री केपी ओली र मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम चलिरहेको छ।

कांग्रेसले १०, एमालेले ८, जसपाले २, लोसपाले १ मन्त्रीको नाम पठाएका छन्। नवनियुक्त प्रधानमन्त्री ओली र मन्त्रीहरूको शपथ आज सोमबार नै हुनेछ। नेपाल सरकारको उप प्रधानमन्त्रीको रुपमा कांग्रेसका प्रकाशमान सिंह र एमालेका बिष्णु पौडेलले शपथ लिने भएका छन।

कांग्रेसले पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरू सरकारमा पठाउने भएको छ। सिंह उपप्रधान तथा सहरी विकास मन्त्री हुनेछन्। साथै गृहमन्त्रीमा रमेश लेखक, आरजु राणाा देउवा परराष्ट्र, तेजुलाल चौधरी युवा, अजय चौरसिया कानुन, दीपक खड्का ऊर्जा, ऐनबहादुर शाही वन, प्रदीप पौडेल स्वास्थ्य, रामनाथ अधिकारी कृषि र बद्री पाण्डे पर्यटन मन्त्री बन्ने भएका छन्।

एमालेबाट उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ सञ्चार, बलराम अधिकारी भूमि व्यवस्था, दामोदर भण्डारी उद्योग, विद्या भट्टराईले शिक्षा, मानवीर राई रक्षा, राजकुमार गुप्ता संघीय मामिला, देवेन्द्र दाहाल भौतिक मन्त्री बन्ने भएका छन्।

यस्तै लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारी श्रममन्त्री बन्ने भएका छन्। जनता समाजवादीका प्रदीप यादव खानेपानी र नवलकिशोर साह महिला तथा बालबालिका मन्त्री बन्ने भएका छन्।

यसअघि नेपाली कांग्रेसको संस्थापनइतर समूहले चार जना मन्त्रीको नाम पठाएको थियो । नेता शेखर कोइराला र महामन्त्री गगन थापा पक्षले चारजना मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई पठाएको हो । शेखर कोइरालाको सचिवालयमा बसेको शेखर–गगन समूहको बैठकले नाम टुंगो लगाएको बुझिएको छ।

नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले चार जनाको नाम सोमबार बिहान पठाइएको जानकारी दिए। सांसदहरू बद्री पाण्डे, प्रदीप पौडेल, रामनाथ अधिकारी र तेजुलाल चौधरीको नाम मन्त्रीका लागि पठाइएको हो।

कास्कीबाट समानुपातिक सांसद रहेका नेपाली काँग्रेसका सहमहामन्त्री जीबन परियार मन्त्री बन्नेहरुको चर्चामा रहेपनि उनको नाम भने यसपटक कोइराला टिममा समेत अट्न सकेन मन्त्रीमण्डमा एमालेका छबिलाल बिश्वकर्मा मन्त्री बन्ने पक्का जस्तै भएपछि दलितको तर्फबाट काँग्रेसले उनको नाम छुटाएको हुनसक्ने बताईन्छ कतिपयले भने परियार कोइराला समुहमा रहेर पनि संसदीय दलको निर्बाचनमा देउबालाई मत दिएको आशंकाका कारण कोइराला-गगन टिमले नाम सिफारिश नगरेको बताएका छन ।

३१ असार २०८१, सोमबार ११:४५ मा प्रकाशित
Nabintech