Play

मणिपाल अस्पतालको सेवा अन्तराष्ट्रिय स्तरको बनाउन पहल, संभवत नेपालकै ठुलो आइसीयु कक्ष संचालनमा

अस्पतालको महत्वपूर्ण युनिट उद्घाटन गर्न पाउदा पुण्य कमाएको महसुस भयो - मुख्यमन्त्री पाण्डे


गुरुकुल खबर


पोखरा, पोखरामा निजि क्षेत्रले संचालन गरिरहेको मणिपाल अस्पतालले आफ्नो सेवालाई अन्तराष्ट्रिय स्तरको बनाउन विभिन्न पहल गरिरहेको जनाएको छ। अस्पतालले उपचारको लागि आबश्यक प्रबिधि, उपकरण, जनशक्ति र भौतिक पुर्बाधार बिस्तार गर्ने कुरालाई प्राथमिकतामा राखेर विभिन्न काम अगाडी बढाएको अस्पतालमा शुक्रबार अत्याधुनिक र सुबिधासम्पन्न आइसीयु कक्षको उद्घाटन गरिएको छ भने अन्य किसिमको सेवा बिस्तार गर्ने प्रक्रिया द्रुतगतिमा अगाडी बढेको बुझिएको छ ।

अस्पतालले नयाँ आइसीयु कक्षको बिस्तारसंगै पोखराको मणिपाल शिक्षण अस्पताल क्रिटिकल केयरमा संभवत नेपालकै ठूलो अस्पताल बन्न पुगेको छ। यसअघि ९४ बेड क्षमता रहेको कक्षलाई मणिपालले थप ७२ बेड सहित बिस्तार गरि कुल १ सय ६६ बेड आइसीयु रहेको अस्पताल बन्न पुगेको हो।

मणिपाल अस्पतालका अध्यक्ष आनन्दराज बतासका अनुसार यसअघि सञ्चालित ९४ आइसियु भन्दा यसपटक थप गरिएका ७२ आइसीयु अत्याधुनिक र सुविधासम्पन्न छन । अहिले सुविधासम्पन्न आइसियु थपिएपछि गण्डकीका बिरामीहरु अब काठमाडौँ वा देशबाहिर क्रिटिकल उपचारको लागि जानुपर्ने अवस्था अन्त्य हुने बतासले बताए। थप गरिएको आइसीयु कक्षसंगै मणिपाल अस्पताल अस्पताल ब्यबस्थापनको रहेको छ।

थप गरिएका ७२ शैया क्षमताको एड्भान्स लेभल–३ भनिने मल्टिडिसिपिनरी आइसियु कक्षमा दुईवटा नेगेटिभ प्रेसर आइसोलेसन आइसियु क्याविन र ३ वटा प्राइभेट आइसियु क्याबिन समेत छन् । द्रुतगतिमा रोग सर्ने बिरामीको नेगेटिभ प्रेसर आइसोलेसन आइसियु क्याबिनमा उपचार गरिन्छ। आइसियु कक्षमा १ जना बिरामीका लागि १ नर्ससहित विशेषज्ञ डाक्टरको टिम नै सक्रिय रहने अस्पतालका प्रबन्ध निर्देशक अनिल ओडुभिलले जानकारी दिए ।

अस्पतालका निर्देशक नारायण पौडेलका अनुसार सघन उपचार कक्ष बिस्तार भएपछि मणिपालमा भेन्टिलेटरको संख्या पनि ३४ पुगेको छ। कोभिड महामारीको समयमा अस्पतालमा भेन्टिलेटरको अभावमा थुप्रै सर्बसाधारणले ज्यान गुमाउनुपरेको पीडा महसुस गरेर सघन उपचार कक्षमा पर्याप्त भेन्टिलेटर व्यवस्था गरिएको अस्पतालका निर्देशक नारायण पौडेलले जानकारी दिए ।

मणिपाल अस्पताललाई देशको सुबिधा सम्पन्न अस्पताल बनाउन आफुले पहल गरिरहेको बताउंदै अध्यक्ष बतासले अस्पतालमा छिट्टै नै ल्याब्रोटरी, क्यान्सर उपचार कक्ष र वेलनेस सेन्टर सञ्चालनमा ल्याउने जानकारी दिए । अबको ३ महिनामा सुविधासम्पन्न ल्याब्रोटरी सञ्चालनमा आउने जानकारी दिंदै उनले भने- ‘हामी सेमीअटोमेटिक ल्याब्रोटरी सिस्टम डेभलप गर्दैछौं।, ९१ दिनपछि यसको सेवा दिन्छौं। यो ल्याब नेपालमा अहिलेसम्मको हाइटेक र अन्तराष्ट्रिय स्तरको हुनेछ।’

क्यान्सर उपचारका लागि उपचार सामग्री खरिद गरिसकेको बताउंदै बतासले भने ‘क्यान्सर उपचारका लागि आर्टिफिसियल इन्टेलिजेन्स भएको क्यान्स इक्युपमेन्ट अर्डर गरिसकेका छौं, यसको पूर्वाधार तयार भइरहेको छ उच्चस्तरको टेक्नोलोजी, विशेषज्ञ डाक्टरको दरबन्दी र सर्वसुलभ रुपमा क्यान्सर रोगको सेवा सुरु गर्दैछौं ।’

अबको ८ महिनाभित्र फुलबडी चेकअप सहितको वेलनेस सेन्टर सञ्चालनमा ल्याउने बतासले जानकारी दिए । ‘पैसा भएका मान्छेहरुले त वेलनेस सेन्टरमा आएर फुलबडी चेकअप गर्छन् तर गाउँकालाई गाह्रो छ।’ उनले भने-‘त्यसका लागि हस्पिटल बस किन्दैछौं । बसभित्र डिजिटल एक्सरे, अल्ट्रासाउन्ड, ल्याब र फार्मेसी हुनेछ । त्यो बस हामीले गाउँगाउँमा लगेर निशुल्क फुलबडी चेकअप र क्यान्सर टेस्ट गर्नेछौं ।’ उनले हाल ११ वटा डाइलाइसिस मेसिन रहेको र अबको ३ महिनाभित्र १० डाइलाइसिस मेसिन थप गरिने योजना सुनाए ।

यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अस्पतालमा थप गरिएको अत्याधुनिक सुबिधा सम्पन्न आइसीयु कक्षको शुक्रबार उद्घाटन गरे। त्यस अबसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले अस्पतालको महत्वपूर्ण युनिट उद्घाटन गर्न पाउदा आफूले पुण्य कमाएको महसुस भएको बताए । मुख्यमन्त्री पाण्डेले मिर्गौलाका बिरामीका लागि डाइलाइसिस सेवा बिस्तार गरी गण्डकी प्रदेश भित्र डाइलाइसिस सेवा आबश्यक पर्ने सबै बिरामीलाई उपलब्ध गराउने अभियानमा प्रदेश सरकार रहेको जानकारी दिए ।

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सुविधासम्पन्न आइसियु युनिट सञ्चालनमा ल्याएकोमा खुसि प्रकट गर्दै हस्पिटललाई थप सेवा बिस्तारका लागि आग्रह सहित आवश्यक सहयोगको प्रतिबद्धता व्यक्त गरे ।

मणिपाल अस्पतालमा लामो समयदेखि कार्यरत चिकित्सक डा. अनमोल पौडेलले अस्पतालमा नेपालकै पहिलो अत्याधुनिक, गुणस्तरिय र सुबिधा-सम्पन्न ७२ सैयाको लेबल ३ आइसीयु एण्ड क्रिटिकल केयर शुरु भएपछि गण्डकी प्रदेशका बिरामीलाई आइसीयु कक्षको अभावमा उपचार गर्न नसकेको भन्ने अबस्थाको अन्त्य भएको प्रतिक्रिया दिए ।

३० असार २०८१, आईतवार १७:४१ मा प्रकाशित
Nabintech