Play

अविरल बर्षापछिको विपदमा परि देशभर ७४ को मृत्यु, ८८ घाइते, पांच अझै बेपत्ता

गुरुकुल खबर


पोखरा, अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍का घटनामा परी सोमबार दिउँसोसम्म ७४ जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएका छन। बिपद्का घटनामा परि ५ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।

गत जेठ २८ गतेयता देशका विभिन्न स्थानमा अविरल वर्षा हुँदा बाढी र पहिरोका घटनाहरु भैरहेका छन। बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १८ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ४ जना गरी जम्मा ७४ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साथै काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २१ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्‍चिम प्रदेशमा १० जना गरी जम्मा ८८ जना घाइते भएका छन्।

यसैगरी कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ५ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

बाढीको कारण जम्मा १ सय ६१ घर डुबानमा परेका छन् । ९४ वटा घर, ५३ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ३ सय ३५ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट २ हजार २ सय ९६ घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

२४ असार २०८१, सोमबार १९:३७ मा प्रकाशित
Nabintech