Play

शान्ति निकेतनमा ४ जिपीए ल्याउने अदिती सहित अन्य बिद्यार्थी सम्मानित

गुरुकुल खबर


पोखरा, पोखरा वडा नं. ५ पर्स्याङ स्थित शान्ति निकेतन स्कूलले एसईई २०८० मा सर्वोत्कृष्ट ४ जिपीए प्राप्त गरेकी छात्रा अदिती पराजुलीसहित ४० जना विद्यार्थीहरुलाई सम्मान, बधाई तथा शुभकामना व्यक्त गरेको छ । विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी पराजुलीलाई ल्यापटप, सम्मानपत्र, ट्रफी, नगद र दोसल्लाले सम्मान गरेको हो ।

जिपीए ३.९० देखि ३.९५ ल्याउने विद्यार्थीहरु अंकिता कोइराला, शैलज अधिकारी, प्रकृति भुषाल, विवश सुवेदी र प्रताप तिमिल्सिनालाई नगद, ट्रफी र दोसल्लाले सम्मान गरेको छ। अन्य सबै विद्यार्थीलाई ट्रफी र मालाले  बधाई ज्ञापन गरिएको थियो भने अभिभावकलाई दोसल्लाले सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाको  शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले विद्यालयले प्राप्त गरेको शैक्षिक उपलब्धिलाई मुक्त कण्ठले प्रशंसा गरे । आचार्यले पोखराका विद्यालयमध्ये शान्ति निकेतन उत्कृष्ट विद्यालयका रुपमा स्थापित भएको उल्लेख गर्दै शिक्षा महाशाखामा विद्यालयको गतिविधिको रेकर्डले नै पुष्टि गर्ने बताए ।

विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले विद्यालयले समय सापेक्ष शैक्षिक योजना तथा रणनीतिहरुलाई अवलम्वन गर्दै विद्यार्थीका सर्वाङ्गिण विकासमा केन्द्रीत भई उत्कृष्ट पठनपाठन गरिरहेकोले ऐतिहासिक नतिजा प्राप्त गर्न सकेको बताए । संस्कारयुक्त शिक्षा तथा जीवनोपयोगी सीपलाई प्रमुख आधार मान्दै आउँदा दिनमा विद्यालय अघि बढ्ने प्रतिबद्धता जनाए ।

डा. पराजुलीले भने – ’यस विद्यालय स्थापना गर्दैगर्दा शैक्षिक महापुरुषहरुले जुन परिकल्पना गर्नुभएको थियो, यी र यस्ता उपलब्धिले स्थापनाकालका परिकल्पना साकार भएको महशुस भएको छ । उहाँहरुको योगदानको कदर भएको छ।’

सर्वोत्कृष्ट ४ जिपीए ल्याएकी छात्रा  अदिति पराजुलीले आफू शिक्षक, अभिभावक र साथीहरुको सहयोगले नै उपलब्धि प्राप्त गर्न सफल भएको भन्दै सबै प्रति आभार व्यक्त गरिन् ।

कार्यक्रमको अध्यक्षता गरेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णमणि भुर्त्यालले विद्यालयको शैक्षिक उपलब्धिमा सिंगो पर्स्यांङ टोल नै सन्तुष्ट रहेको अभिव्यक्ति दिए । साथै, विद्यालयले सधैँ लोभलाग्दो शैक्षिक उत्पादन गरेकोमा संस्थापक प्रिन्सिपल डा. पराजुलीलाई विद्यालय व्यवस्थापन समितिले सम्मान गरेको छ ।

कार्यक्रममा विद्यालयका सहप्राचार्य यदुविलास भुर्त्यालले स्वागत मन्तव्य राखेका थिए् । व्यवस्थापन समिति सदस्य पुरुषोत्तम पराजुली र अभिभावकका तर्फबाट भेषराज घिमिरेले पनि आआफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा एसएलसी पहिलो ब्याच २०६७ का प्रथम विद्यार्थी सञ्जिव भुर्त्याललाई अमेरिकाबाट सिभिल इञ्जिनियरिङमा विद्यावारिधी  हाँसिल गर्न सफल भएकोमा उनका बुवाआमा चन्द्रबन्धु/सीता भुर्त्याललाई सम्मान गरिएको विद्यालयका परीक्षा विभाग प्रमुख हेम सुवेदीले जानकारी दिए ।

२३ असार २०८१, आईतवार २१:४३ मा प्रकाशित
Nabintech