Play

देशभर बाढी र पहिरो, नौ जनाको मृत्यु, छ जना बेपत्ता, संख्या अझ बढ्नसक्ने, सडक अबरुद्द हुँदा यात्रुको बिचल्ली

गुरुकुल खबर


पोखरा, २२ असार । भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म ८ जनाभन्दा बढीको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विपद्जन्य घटनामा परेर अन्य छ जना बेपत्ता भएका छन् भने सातजना घाइते भएका छन् ।

देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो । विपद्जन्य घटनामा परेर स्याङ्जामा तीन, पर्वतमा दुई, तनहुँमा एक, काठमाडौँमा एक र काभ्रेमा खोलाले बगाएर दुईजनाको मृत्यु भएको छ । प्रवक्ता कार्कीले दाङमा दुई, तनहुँमा दुई, दोलखामा एक गरी छजना बेपत्ता भएका जानकारी दिनुभयो ।

अहिलेसम्म तनहुँ, गुल्मी ओखल्ढुङ्गामा गरेर सातजना घाइते भएका पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ । भारी वर्षाका कारण आज देशभरकै जनजीवन प्रभावित भएको छ । कोशी नारायणीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ भने अन्य साना खोला खहरे पनि उर्लिएको छ ।

काठमाडौँमा अहिले वर्षा रोकिए पनि देशका कतिपय जिल्लामा भने वर्षा भइरहेको छ । तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार जारी राखेका छन्

पहिरोले पुरिएर स्याङ्जामा तिनको मृत्यु

स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिका-६ लामाखेतमा शनिबार दिउँसो पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । पहिराले पुरिएर बिरुवा गाउँपालिका-६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए ।

पहिराको जोखिममा रहेका आफ्ना घरबाट सुरक्षित स्थानमा गएका उनीहरूको पुरिएर ज्यान गएको हो । उनिहरूको घर नजिक शनिबार बिहान पहिरो खसेको थियो । बिरुवा-६ का वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीका अनुसार पहिराको जोखिम नभएको ठानेर सुरक्षित भनेर राखिएको ठाउँमा दिउँसो पहिरो खसेर घर पुरिँदा उनीहरूको मृत्यु भएको हो ।

उक्त पहिरामा परी पाँचजना घाइते भएका छन् । उनीहरूको स्थानीयवासी र बिरुवा प्रहरी चौकीको टोलीले उद्धार गरेको थियो ।

तनहुँमा पहिरोले पुरिएर तिनजना बेपत्ता

तनहुँको शुक्लागण्डकी नगरपालिका-७ काउरेमा पहिरामा पुरिएर शनिबार ३ जना बेपत्ता भएकोमा एकजनाको शब भेटिएको छ  । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण शनिबार दिउँसो गएको पहिरामा परेर स्थानीय तीनजना बेपत्ता भएको थिए । बेपत्ता हुनेमा स्थानीय ४० वर्षीय हीरा नेपाली, ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारी रहेकोमा शुक्ला गण्डकी नगरपालिका-७ काउरे बस्ने बर्ष ४० की हिरा नेपालीको शव फेला परेको छ भने अन्य बेपत्ता छन।

प्रहरी नायब उपरीक्षक दीपक रायका अनुसार पहिरामा परेर बेपत्ता भएकाको खोजी भइरहेको छ । नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा बेपत्ता भएकाको खोजी भइरहेको उनले बताए । नेपाल प्रहरी बिशेष सुरक्षा गण बेलचौतरा तनहुँबाट ४३ जनाको प्रहरी टोली, ३ नं. बाहिनि खैरेनीटार तनहुँबाट सहसेनानी कमाण्डना १० जनाको नेपाली सेनाको टोली र स्थानियको सहयोगमा बेपत्ता भएकाहरुको खोजी कार्य भईरहेको र घाईतेहरुलाई उद्दार गरी उपचारको लागि जि.पि अस्पताल खैरेनीटार पठाईएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा सोहि स्थान बस्ने बर्ष ४० को बिष्णु बहादुर नेपाली, बर्ष २६ को बिशाल तिम्लसिना, बर्ष ३५ को रबि घिमिरे, बर्ष १८ को रुप कुमार नेपाली र वर्ष १५ को बिमल नेपाली घाइते भएको छन ।

पोखरा प्रवेश गर्ने सबै सडक अबरुद्द

अविरलको झरीले पोखरा छिर्ने सबै सडकहरू अवरुद्ध भएका छन् । पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग सहित गण्डकीका प्रमुख ६ वटा सडकमा पहिरो झरेको छ । पृथ्वीराज मार्गको तनहुँ स्थित म्याग्दे ४ मनोहरीमा बाटो हिलो भएर ट्रक र बस फसेका छन् । जसका कारण सडक पूर्ण ठप्प भएको गण्डकी प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्गको वालिङ नगरपालिका ८ स्थित शान्ति, वडा नम्बर १० को मोदीखोला, गल्याङ ८ को चिउरी र गल्याङ ११ को मुडकिल्लामा पहिरो झरेको छ ।

बेंसीशहर मनाङ सडक, मालढुंगा बेनी, बेनी दरबाङ र बेनी जोमसोम सडक पनि पूर्ण रुपमा ठप्प छ । बेंसीशहर चामे सडकको मर्स्याङ्दी ४ हावाडाँडामा पहिरोले बाटो रोकिएको छ ।

मालढुंगा वेनी सडकको कुश्मा नगरपालिका १ मालढुंगामा पहिरो झरेको प्रहरीले जनाएको छ । यस्तै, बेनी जोमसोम सडकको रघुगंगा ३ बैसरीमा लेदो सहित पहिरो आएको छ ।

बेनी दरबाङ सडक खण्डको बेनी ४ घुमाउने भीरमा पहिरो आएको छ । सबै सडकमा प्रहरी खटाएर पहिरो पन्छाउने काम भइरहेको गण्डकी प्रहरीले जनाएको छ ।

पर्बतमा पहिरोले घरसहित दुईजना पुरिए

पर्वत फलेवास नगरपालिका–१ कार्कीनेटामा पहिराले घरसहित दुईजना पुरिएका छन् । स्थानीय अम्फिडाँडाका कुलप्रसाद पाध्याको घर पुरिँदा उनका ४० वर्षीय छोरा झलक शर्मा र स्याङ्जाको आँधीखोला गाउँपालिका–३ का ३२ वर्षीय तुलसीराम पौडेल पुरिएका हुन् ।

स्थानीय र सुरक्षाकर्मीले उद्धारको प्रयास गरे पनि वर्षा नरोकिएका कारण कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उक्त स्थानमा थप पहिरो आउने जोखिम रहेकाले थप मानवीय क्षति हुन नदिन उद्धारकर्ताको सुरक्षालाई ध्यानमा राखेरका काम अगाडि नबढेको कार्कीनेटाका वडाध्यक्ष चोलाकान्त पाध्याले जानकारी दिए ।

पहिरोमा पाध्याका दुईवटा भैँसी, एउटा गोरु र चार बाख्रा पनि पुरिएका छन् । गोठमा पहिरो आउनसक्ने सम्भावना देखेर चौपाया निकाल्न गएकै बेला पहिरो आएकाले उद्धार गर्न नसकिएको वडाध्यक्ष पाध्याले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक भुवन बरामको नेतृत्वमा १२ जनाको टोली घटनास्थलतर्फ खटाइएको छ ।

२२ असार २०८१, शनिबार २२:४३ मा प्रकाशित
Nabintech