Play

पोखराको कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र, क्याम्पसको शैक्षिक गुणस्तर वृद्धि हुने बिश्वास

युजिसीबाट सबैभन्दा छोटो समयमा क्युएए प्रमाणपत्र पाउने हाम्रो क्याम्पस हो- क्याम्पस प्रमुख गौतम


गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -१४ मा २०४८ सालबाट संचालित कालिका बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको प्रमाणपत्र ( क्युएए ) प्राप्त गरेको छ । क्याम्पसले उक्त प्रमाणपत्र प्राप्तिको लागि २०७८ साल कार्तिकमा आशयपत्र पेश गरेकोमा बिभिन्न प्रक्रिया र चरणहरु सहित त्यसको लागि आबश्यक सबै मापदण्ड पुरा गरेपछि २०८१ सालको जेठ ३ गते विश्वबिद्यालय अनुदान आयोगले उक्त क्याम्पसलाई क्युएए प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको हो  । आयोगको निर्णय अनुसार यहि असार १२ गते आयोगले एक समारोहका बीच क्याम्पसलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

विश्वबिद्यालय अनुदान आयोगले गुणस्तरीय शिक्षालाई केन्द्रमा राखेर तयार गरिएका विभिन्न ८ वटा मापदण्ड पुरा गर्ने क्याम्पसलाई क्युएए प्रमाणपत्र दिंदै आएको छ आयोगले निर्धारण गरेका मापदण्डहरु क्याम्पसको नीति , पाठ्यक्रम, अध्यापन एबम मुल्यांकन बिधि, अनुसन्धानात्मक प्रयास, भौतिक संरचना, बिद्यार्थीहरुलाई गरिने सहयोग, क्याम्पसका गतिविधिको सूचना प्रणाली र क्याम्पसको सूचना सार्बजनिक रुपमा प्रबाह गर्ने बिधि लगायतका रहेका छन ।  कालिका बहुमुखी क्याम्पसले उल्लिखित विभिन्न मापदण्ड पुरा गरेर पहिलोपटक यो प्रमाणपत्र प्राप्त गरेको हो । यस किसिमको प्रमाणपत्र प्राप्त गरेपनि निरन्तर रुपमा तोकिएका मापदण्ड पुरा गर्न नसके ५ वर्षपछि यो प्रमाणपत्र गुम्ने अवस्था समेत आउनसक्छ ।

यस किसिमको प्रमाणपत्र प्राप्त गर्न आबेदन दिने क्याम्पसहरुले विभिन्न मापदण्ड र प्रक्रिया पुरा गरि प्रमाणपत्र प्राप्त गर्न ८/१० वर्ष सम्मको अबधि लाग्ने गरेकोमा कालिका बहुमुखी क्याम्पसले २ बर्ष ७ महिना अबधिमा नै आबश्यक सबै प्रक्रिया र मापदण्ड पुरा गरेर प्रमाणपत्र प्राप्त गरेको जनाएको छ । क्याम्पसका प्रमुख बिरन्जी गौतमका अनुसार विश्वबिद्यालय अनुदान आयोगले यति छोटो समयमा प्रमाणपत्र दिएको क्याम्पस संभवत कालिका बहुमुखी क्याम्पस नै पहिलो हो ।

क्युएए प्रमाणपत्र प्राप्त गर्नुलाई क्याम्पसको महत्वपूर्ण उपलब्धीको रुपमा ब्याख्या गर्दै क्याम्पस प्रमुख गौतमले बुधबार क्याम्पसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा भने। ” यो प्रमाणपत्र प्राप्ति संगै बिद्यार्थी भर्ना बढ्ने, उत्तीर्ण प्रतिशतमा बृद्दी हुने, क्याम्पसको ब्यबस्थापन तथा प्रशासन सक्षम हुने, अनुसन्धानमुलक क्रियाकलाप बढ्ने, राष्ट्रिय एबम अन्तराष्ट्रिय स्तरका गोष्ठी र सेमिनारमा सहभागिता हुने र क्याम्पसमा अध्ययन गरेका बिद्यार्थीहरुले बिदेशी विश्वबिद्यालयहरुमा अध्ययनको अवसर पाउनुको साथै प्रतिष्ठित कम्पनीहरुले क्याम्पसबाट उत्तीर्ण बिद्यार्थीहरुलाई रोजगारीको अवसर प्रदान गर्ने अवस्था सिर्जना हुनेछ । ”

२०४८ सालमा स्थानीय शिक्षाप्रेमी र समाजसेवीहरुको प्रयासमा सामुदायिक क्याम्पसको रुपमा स्थापित उक्त क्याम्पस त्रिभुवन विश्वबिद्यालयबाट सम्बन्धन प्राप्त गरेर संचालनमा आएको हो । शुरुवातमा मानविकी र ब्यबस्थापन संकायको सम्बन्धन लिएर ८९ जना बिद्यार्थीको साथ क्याम्पसमा पढाइ शुरु भएको थियो । कालिका बहुमुखी क्याम्पसमा हाल कक्षा ११ र १२ को साथै स्नातक र स्नातकोत्तर तहमा गरि ९ वटा शैक्षिक कार्यक्रम संचालन भैरहेको र १ हजार ४ सय १५ जना बिद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख गौतमले जानकारी दिए ।

क्युएए प्रमाणपत्र प्राप्त गरेपछि विश्वबिद्यालयले कुनै नया कार्यक्रम दिंदा प्राथमिकतामा परिने र विश्वबिद्यालय अनुदान आयोगले समेत विभिन्न सहयोग गर्ने बिश्वास ब्यक्त गर्दै क्याम्पस प्रमुख गौतमले भने, “अब क्याम्पसको पहिचान अन्तराष्ट्रिय स्तरमा समेत फैलिने र नयाँ नयाँ शैक्षिक कार्यक्रम संचालन गरि क्याम्पसबाट उत्पादित जनशक्तिले तत्काल रोजगारीको अवसर पाउने किसिमको पढाइ शुरु गर्नेछौं ।” यसको लागि सरकार, निजि क्षेत्रका उद्योगी ब्यबसायी र क्याम्पस तथा विश्वबिद्यालयबीच सहकार्य गर्ने तर्फ पनि आँफुहरुको प्रयास रहने गौतमले बताए ।

क्याम्पसका संचालक समितिका अध्यक्ष किरण केसीले क्याम्पस प्रमुख सहित सिंगो टिमको साथ र सहयोगको कारण क्याम्पसले महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै आगामी दिनमा पनि क्याम्पसको शैक्षिक सहित अन्य गतिबिधि सबैको लागि प्रशंसनीय रहने बिश्वास ब्यक्त गरे । उनले आफ्नो बुवा सुर्यबहादुर केसीको साथै तत्कालिन क्याम्पस प्रमुख बलबीर सिंह नेगी, सन्तबहादुर गुरुङ र रामचन्द्र केसी लगायतको सदिक्षा र चाहना एबम स्थानीयहरुको सहयोगबाट कालिका क्याम्पस पोखरामा मात्र नभएर राष्ट्रिय स्तरमा नै राम्रो शैक्षिक संस्थाको रुपमा स्थापित भएको भन्दै खुशी प्रकट गरे ।

१६ असार २०८१, आईतवार २३:२० मा प्रकाशित
Nabintech