पोखरा, नेकपा माओवादी केन्द्रले गरेको कारबाही गरि गण्डकी प्रदेशको सांसदबाट हटाएको भएपनि सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित सांसद फणीन्द्र देवकोटा दोश्रो पटक मन्त्री बन्ने भएका छन । उनलाई पुन ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनाउन गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आबश्यक तयारी गरेका छन ।
सर्वोच्च अदालतको अन्तरिम आदेशपछि संसदीय गतिविधिमा फर्किएका गण्डकी प्रदेशसभा सदस्य देवकोटालाई पुनः मन्त्री बनाएपछिआइतबार बिहान १० बजे शपथ गराउने तयारी प्रदेश प्रमुखको कार्यालयले गरेको छ । ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराउने तयारी छ ।
फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई गत २८ जेठमा विश्वासको मत दिएपछि उनले यसअघि २९ जेठमा सोही मन्त्रालयको जिम्मा पाएका थिए ।
माओवादी केन्द्रले सांसदबाट कारबाही गरेपछि उक्त मन्त्रालय मुख्यमन्त्री पाण्डेले आफैँसँग राखेका थिए । देवकोटालाई गत बिहीबार नै शपथ गराउने तयारी थियो । त्यो दिन सभामुखले संसद प्रवेशमा रोक लगाएपछि उनको शपथ रोकिएको थियो ।
गण्डकीमा सात सदस्यीय मन्त्रिपरिषद् छ । १७ असारमा आगामी आर्थिक वर्षको बजेट संसदबाट पारित गर्ने तयारी छ । त्यसपछि राप्रपालाई पनि सरकारमा ल्याउने योजनामा मुख्यमन्त्री पाण्डे छन् । राप्रपा समेत सरकारमा आउँदा सम्म गण्डकी प्रदेश सरकारको मन्त्री परिषद नौ जनाको बन्ने अनुमान गरिएको छ।