रीता गुरुङ / काठमाडौँ –
नेपाली काँग्रेसका भात्री संस्थाहरुमध्ये पार्टीले तोकेको मिति भित्र महाधिबेशन गर्ने संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ मात्र बनेको छ । यो संस्था बाहेक अन्य संस्थाले पार्टीले निर्धारण गरेको समय सीमा असार १५ सम्म महाधिबेशनको प्रक्रिया अगाडी बढाउन सकेको छैनन तर आदिबाशी जनजाती महासंघको महाधिबेशन भने काठमाडौँमा जारी छ ।
‘संगठित, प्रशिक्षित र समुन्नत समाज निर्माण अभियान संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ प्रथम राष्ट्रिय महाधिवेशन’को मुल नारासहित असार ११, १२ र १३ मा काठमाडौँमा महाधिवेशन भैरहेको हो ।
महाधिबेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार गरे। त्येस अबसरमा बोल्दै देउबाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताउंदै सबै एक आपसमा मिलेर राष्ट्रलाई ठूलो योगदान दिनुपर्ने आबश्यकता औंल्याएका छन । उनले आदिवासी जनजातिहरु एक भएर देश, पार्टी र आफ्ना हक अधिकारहरु संरक्षण गर्न लाग्नु पर्नेमा जोड दिए । देउबाले नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्वपूर्ण रहेको भन्दै सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।
‘नेपालमा आदिवासी जनजाति सम्बद्ध दाजुभाई दिदीबहिनीहरुले अत्यन्तै महत्वपूर्ण योगदान दिनुभएको छ । त्यसकारण तपाईंहरु सबै एक भएर यो राष्ट्रलाई ठूलो योगदान दिन सक्नुहुन्छ । भोलिका दिनमा आफ्नो हक अधिकारका लागि पनि लड्दै जानुस् । साथसाथै काँग्रेस पार्टीलाई पनि मजबुत पार्नुस्’, देउवाले भने।
देउबाले राष्ट्रलाई बलियो बनाएको खण्डमा हाम्रो राष्ट्र, पार्टी मजबुत हुनेमा जोड दिए र भने, “तपाईंहरु आदिवासी, जनजाति दिदिबहिनीहरुको अधिकार पनि संरक्षण हुन्छ । आपसमा मिलेर जाने हो, आपसमा झगडा गर्ने होइन । छलफल गरेर अगाडी बढे सबैका मागहरु पूरा हुनेछन् । म पनि यसमा लाग्ने विश्वास दिलाउन चाहन्छु ।’ उनले आदिवासी, जनजातिका मागहरु सम्बोधन गर्न आफू लाग्ने पनि प्रतिवद्धता जनाए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूले कहि कतै एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाण लिएर आए राजनीतिबाट सन्यास लिने घोषणा गर्दै वडाध्यक्षदेखि पार्टीका शीर्ष नेताहरुको सम्पत्ति छानबिन गर्ने प्रस्ताव महासमितिको बैठकमा पनि राखेको बताए।
उनले भने, ‘मैले कुनै एउटा मात्रै ठाउँमा एक रुपैयाँ मात्रै भ्रष्टाचार गरेको छ भन्ने प्रमाण लिएर आउँछ भने राजनीतिबाट सन्यास लिन तयार छु । यही कुरा हरेक नेताले भन्न सक्ने कि नसक्ने आजको दिनमारु सवाल यो हो। मैले महासमितिको बैठकमा पनि भनेको थिए वडाध्यक्षदेखि पार्टीका सबै नेताहरुको सम्पत्ति छानविन गर्नुपर्छ। मैले सदनमा पनि सबैको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर दर्ता गरेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारसंग तागत नभएको टिप्पणी गर्दै नेपाल सरकारमा भएका दलहरुलाई आआफ्नो चिन्ता भएको बताए ।
उनले भने, ‘एउटालाई आफ्नो अध्यक्ष जोडिएको सहकारीबाट मुक्त गराउनु छ । अर्कोलाई आफ्नो अध्यक्ष जोडिएको गिरीबन्धु जग्गा प्रकरणबाट जोगाउन सकियोस् भन्ने चिन्तामा छ । प्रधानमन्त्रीलाई कसरी गणितको रक्षा गर्ने भन्ने मात्रै छ । प्रधानमन्त्रीको दुःख हेर्छु, उपप्रधानमन्त्रीले बोलेको कुराको खण्डन गरेर बस्नुपरेको छ ।’ उनले सरकार बलियो नभएकाले अहिले प्रतिपक्ष दल कांग्रेसलाई बलियो बनाएर जनताको विश्वास जित्नुपर्ने आबश्यकता रहेकोमा जोड दिए ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले आगामी निर्वाचनमा कम्तीमा सय सीट ल्याउने गरी लाग्न नेता/कार्यकर्तालाई आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले ‘जादुवाला सांसद’ भनि दिएको अभिव्यक्तिप्रति टिप्पणी गत्दै थापाले भने, ‘म जादुगर हो भनेको जस्तो गरी यता उफ्रिने, उता उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिऔँ । यो उहाँहरूकै जिम्मा हो । यो बीचमा पार्टी निर्माण गर्ने काममा हामी सबै लागौँ ।’
महामन्त्री थापाले भने ‘यो सरकार माओवादी, घण्टी, बण्टी, जो-जोले चलाएका छन्, चलाउन दिउँ । चलाउन्, सरकारतिर हामी हेर्दै नहेरौँ । र यत्ति राम्रोसँग हामी पार्टी निर्माण गरौँ कि, पार्टीलाई स्वच्छ पनि पारौँ, बलियो पनि बनाऔँ। तलैबाट पार्टीको एकता पनि गरौँ । हार्दिकता पनि बनाऔँ ।”
उनले आसन्न २०८४ सालमा कम्तीमा पनि सय सीट जित्ने तथा ४० प्रतिशत मत ल्याउन सक्ने गरी संगठन गयौँ भने यही मिश्रित प्रणालीमा एकल सरकार चलाउने तागत नेपाली काँग्रेससंग हुन्छ र संविधानमा लेखिएका कुराहरुलाई सकारात्मक ढंगले कार्यान्वयन गर्नसक्ने तागत पनि नेपाली कांग्रेसले राख्नसक्ने हुन्छ ।’ यता मिल्ने, उता मिल्ने, ऊसँग मिल्ने कुरा अब कांग्रेसले छाड्नुपर्छ- उनको भनाइ थियो।
आदिवासी जनजाति सङ्घ महासङ्घका रुपमा रुपान्तरण भएपछिको यो पहिलो महाधिवेशन हो । महासङ्घमा ५९ वटै जनजातिका सङ्घ संस्थाको प्रतिनिधित्व रहेको महासचिव जगत बरामले जानकारी दिए । महाधिबेशनको उद्घाटन समारोहमा विभिन्न व्यक्तिहरुले आफ्नो आफ्नो भनाई राखेका थिए ।
कांग्रेसको गत महासमिति बैठकले यही असार १५ गतेसम्म सबै भ्रातृ संस्थाको महाधिवेशन गरिसक्ने समय निर्धारण गरेको थियो । महासमिति बैठकले तोकेको अवधिमा महाधिवेशन सम्पन्न गर्ने महासङ्घ पहिलो भ्रातृ संस्था बनेको छ । महासमिति बैठकले तोकेको असार १५ गतेसम्म अरु कुनै पनि भ्रातृ संस्थाले महाधिवेशन गर्ने तयारी गरेका छैनन् ।नेविसंघ, तरुण दल, महिला संघ लगायतमा आन्तरिक किचलो हुँदा अधिवेशन अनिश्चित रहेको बेला नेडफिनले भने महाधिवेशन सम्पन्न गर्ने प्रक्रियामा छ ।
नेपाल आदिवासी जनजाति संघ २०५५ सालमा स्थापना भएपनि अहिलेसम्म महाधिवेशन हुने सकेको थिएन तर पछिल्लो समय नेपाली कांग्रेसले बिभिन्न जातीय संस्थाहरुको छुट्टा छुट्टै संघ बनाएर तिनै संस्थाको महासंघको रुपमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गठन गरेको हो।
महाधिवेशन सम्पन्न गर्न अध्यक्ष ओम बहादुर घर्तीमगरको संयोजकत्वमा केन्द्रीय सदस्यहरु, जातीय संघका अध्यक्षहरु, महासंघका प्रदेश अध्यक्षहरु र काठमाडौँ, भक्तपुर र ललितपुरका महासंघका अध्यक्ष रहेको १०१ सदस्यीय महाधिवेशन मुल व्यवस्थापन समिति गठन गरिएको थियो ।
महाधिवेशनलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको छ । प्रचार प्रसार उपसमिति संयोजक पासाङ शेर्पा, आर्थिक उपसमिति संयोजक मनमोहन छन्त्याल, स्वयम सेवक परिवालन उपसमिति संयोजक नेपाल तामाङ संघ सभापति रामकृष्ण लामा, अतिथि सत्कार उपसमिति संयोजक केशाङमु शेर्पा आवास तथा भोजन व्यावस्थापन उपसमिति संयोजक टोपबहादुर थापामगर, मञ्च व्यावस्थापन उपसमिति संयोजक मदनलाल श्रेष्ठ, सांस्कृतिक कार्यक्रम उपसमिति संयोजक नेपाल तमु संघको अध्यक्ष भुवनसिंह गुरुङ र प्रतिनिधि दर्ता उपसमिति संयोजक केन्द्रीय सदस्य रेनुका काउचा मगर रहेको जानकारी महासंघको गण्डकी प्रदेश समितिका अध्यक्ष जित बहादुर गुरुङले गुरुकुल खबरलाई जानकारी दिए ।
महाधिबेशनमा कास्कीका महाधिबेशन प्रतिनिधिहरु मध्ये कमल गुरुङ, खेम गुरुङ र भिम बहादुर गुरुङ सहित महिला महाधिबेशन प्रतिनिधिहरु चीनु गुरुङ, सिता गुरुङ, ज्योती थापा र भिममाया गुरुङ लगाएतकाहरु केन्द्रीय नेतृत्वमा पुग्न इछ्यूक रहेको बुझिएको छ। तर को को केन्द्रीय समितिको कुन पदमा उमेद्वार बन्ने भन्ने बिषयमा छलफल जारी छ
एक प्रदेशबाट सात जनाले केन्द्रीय समितिमा प्रतिनिधित्व गर्न पाउने व्यवस्था विधानमा रहेकोले गण्डकी प्रदेशबाट पनि सातजनाले प्रतिनिधित्व गर्न पाउने छन । प्रथम महाधिवेशनबाट वर्तमान अध्यक्ष घर्तीमगर सर्वसम्मत अध्यक्ष बन्ने तयारीमा छन् । अहिलेसम्म घर्तीमगरलाई चुनौती दिन नेडफिनमा अन्य व्यक्ति अगाडि आएको देखिएको छैन ।