Play

आगामी आर्थिक बर्षकालागि महानगरपालिकाको बजेट ७ अर्ब ५१ करोड

गुरुकुल खबर


पोखरा,  पोखरा महानगरपालिकाले आगमी आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको छ ।  १५ औं नगरसभामा उपमेयर मञ्जुदेवी गुरुङले आगमी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन् ।

चालु आर्थिक वर्षको भन्दा बजेटको आकार ३६ करोड १७ लाख ८३ हजार रुपैयाँले बढेको हो । चालु आर्थिक वर्षका लागि पोखराले ७ अर्ब १५ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

आगमी वर्ष बजेटको स्रोतमा संघीय सरकारबाट अनुदान ४ अर्ब २० करोड २२ लाख १ हजार रुपैयाँ, प्रदेश सरकारबाट अनुदान ९ करोड ६३ लाख ८१ हजार रुपैयाँ, आन्तरिक आयबाट १ अर्ब ५५ करोड ५१ लाख ४० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । संघीय राजस्व बाँडफाँटबाट ३८ करोड ३३ लाख ७५ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट ९ करोड ७२ लाख २० हजार रुपैयाँ, स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १२ करोड ८६ लाख ६१ हजार रुपैयाँ र रोयल्टी बाँडफाँटबाट ५४ लाख २४ हजार रुपैयाँ व्यहोरिने उपमेयर गुरुङले नगरसभामा जानकारी गराइन ।

नगर विकास कोषबाट ४ करोड ४८ लाख ८० हजार रुपैयाँ ऋण लिने बजेट वक्तव्यमा उल्लेख छ ।

पोखराले कृषि क्षेत्रका लागि ४ करोड ५ लाख रुपैयाँ विनियोजन गरेको छ । शिक्षा, खेलकुद तथा यूवा र प्रज्ञा प्रतिष्ठानका कार्यक्रम सञ्चालनमा १ अर्ब ६५ करोड रुपैैयाँ, स्वास्थ्यका कार्यक्रमलाई ३५ करोड रुपैयाँ, सामाजिक विकासमा ६ करोड, पर्यटन तथा सहरी विकास कार्यक्रम सञ्चालनार्थ ५६ करोड रुपैयाँ विनियोजन भएको हो ।

एसियाली विकास बैंकको सहयोगमा सञ्चालन हुने सहरी उत्थानशिलता तथा जिविकोपार्जन सूधार आयोजनका लागि २६ करोड १६ लाख रुपैयाँ विनियोजन भएको छ ।

पूर्वाधारतर्फ विश्व बैैंककोे सहयोगमा सञ्चालित तालचोकदेखि बेगानस, शिसुवादेखि शिसाघाट र विरौटा दोबिल्ला हुँदै बागमारा कोत्रे सडकका लागि १ अर्ब ६५ करोड, वीपी मार्ग सडक स्तरोन्नतीमा ८ करोड रुपैयाँ विनियोजन भएको छ । राजस्व सुधारमा स्वयमसेवक परिचालन गर्न पोखरा महानगरपालिकाले २ करोड रुपैयाँको व्यवस्थापन गरेको छ ।

महानगरपालिकाले बहाल कर असोेज मसान्तसम्म अग्रिम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने भएको छ ।

चालु वर्षको बजेटको जेठ मसान्तसम्म ४ अर्ब १२ करोेड ९ लाख ४७ हजार रुपैयाँ मात्रै खर्च भएको छ । आन्तरिक स्रोतबाट २ अर्ब २७ करोड ८७ लाख रुपैयाँ आम्दानी हुने पोखरा महानगरको प्रक्षेपणको ३८.३० प्रतिशत हासिल भएको छ ।

महानगरले आन्तरिक आम्दानी ८७ करोड २७ लाख ४० हजार रुपैयाँ मात्रै गरेको हो । १ अर्ब ४६ करोड ६२ लाख रुपैयाँ राजस्व बाँडफाटबाट प्राप्त हुने अनुमान गरेको पोखराले जेठ मसान्तसम्म ६२ प्रतिशत ९१ करोड ४२ लाख २० हजार रुपैयाँ पाएको छ ।

२०७९/८० को लेखा परीक्षण प्रतिवेदन अनुसार ७८ करोड समपरीक्षण गर्न पेश भएकोमा ५३ करोड ३० लाख रुपैयाँ बेरुजु समपरीक्षण भएको महानगरपालिकाले जनाएको छ ।

११ असार २०८१, मंगलवार १३:०८ मा प्रकाशित
Nabintech