Play

पोखरा र आसपासमा पर्यटन क्षेत्रमा गरिएको पांच खर्ब बढी लगानीको सुरक्षामा जोड

होटेल संघ पोखराद्वारा कास्कीका प्रजिअलाई स्वागत, प्रहरी प्रमुखलाई सम्मान


गुरुकुल खबर


पोखरा। होटल संघ पोखरा नेपालले कास्कीका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई सोमबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ ।

सोही अवसरमा संघले कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई सम्मान पनि गरेको छ । जिल्लामा शान्ति सुरक्षा कायम राख्दै विविध विकृति नियन्त्रणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै प्रहरी प्रमुख थापालाई सम्मान गरिएको हो ।

प्रहरी प्रमुखका रुपमा थापाले पोखरा भित्रिंदै गरेका पर्यटकलाई गैरकानूनी रुपमा स्कर्टिङ गरी उनीहरुलाई दुःख र हैरानी दिने गिरोहलाई निस्तेज पारेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले स्मरण गराए । यसैगरी मोडिफाई गरिएका बाईक नियन्त्रणमा लिई कार्वाही गरेर थापाले ध्वनी प्रदूषण नियन्त्रणमा देखिने र अनुभुत हुने गरी नतिजा दिएको सुवेदीले बताए ।

सो अवसरमा अध्यक्ष सुवेदीले सात प्रदेशका ७७ वटै जिल्लामा होटल संघको संजाल रहेको, प्रदेश स्तरमा समेत संघका समिति रहेको र लगानीका हिसावले सबै भन्दा ठूलो पर्यटनको क्षेत्र होटल नैै रहेको सुवेदीले बताए । पोखरा र वरपरको होटल क्षेत्रमा मात्र पाँच खर्ब रुपैयाँ लगानी रहेको तथ्यंक पनि उनले सुनाए ।

कार्यक्रमका अवसरमा संघका सल्लाहकार र पदाधिकारीहरुले पोखरा पर्यटकीय राजधानी घोषणासँगै रात्रीकालिन व्यवसाय २४ घण्टा खोल्न पाउने सन्दर्भमा त्यस्तो व्यवसायलाई व्यवस्थित गर्न ४१ बुँदे आचारसंहिता पालना गराउनुपर्ने र अनुगमन समेत अगाडि बढाइनुपर्ने सुझाव राखे ।

पर्यटकीय अपार्टमेण्टमा हुनसक्ने अवाञ्छित गतिविधिप्रति सचेत हुनुपर्ने, अव्यवस्थित पार्किङको समस्या सुल्झाउनुपर्ने र माशिक रुपमा प्रमुख जिल्ला अधिकारीले सर्वपक्षीय बैठक राखी जनता र व्यवसायीका समस्या, गुनासो र सुझाव सुन्ने व्यवस्थाका लागि समेत सोे अवसरमा अनुरोध गरिएको थियो ।

भारतीय पर्यटक बढेको बेला अहिले सिमा नाकाबाट पोखरा आउँदा उनीहरुमाथि धेरै ठाउँमा चेकिंग हुँदा हैरानी व्यहोर्नुपर्ने अवस्था रहेको र नगरबसले जथाभावि पार्किङ गर्ने तथा नो हर्नको नियम समेत पोखरामा प्रभावकारी रुपमा लागू हुन नसकेको गुनासो व्यवसायीले गरेका थिए ।

कार्यक्रममा हानका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपालका पूर्व अध्यक्ष भरतराज पराजुली, हान गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे, संघका सल्लाहकारहरु बच्चुराम तिवारी, मेहरमान श्रेष्ठ, उपाध्यक्ष गणेशराज पहारी र कोषाध्यक्ष नेत्रप्रसाद पौडेल लगायतले भनाई र सुझाव राखेका थिए ।

कार्यक्रममा बोल्दै प्रजिअ पाण्डेले पर्यटकीय क्षेत्र लगायत समग्र जिल्लाको सुरक्षा र उपभोक्ता अधिकार तथा हितलाई समेत ख्याल गरेर प्रहरी प्रशासन अगाडि बढ्ने प्रतिबद्धता सुनाए । यसका लागि प्रहरी प्रशासन व्यवसायीसँग हातेमालो गरेर नै अगाडि बढ्ने उनले बताए।

प्रहरी उपरीक्षक थापाले विविध विकृति विरुद्ध कास्की प्रहरीले आफ्नो अभियानलाई जारी रहेको बताए । मोडिफाई गरिएका ६ सय ८१ मोटरसाइकललाई कार्बाही गर्दा मात्र ५० लाख रुपैयाँ राजश्व संकलन भएको जानकारी उनले दिए । मोडिफाई गरिदिने वर्कसपलाई पनि कार्वाही गरिएको र अहिले कुनै पनि वर्कसपले वाइक मोडिफाई नगर्ने प्रहरी उपरीक्षक थापाले सुनाए ।

क्लब र डिस्कोबाट निस्कँदा राति वा विहान वियर र रक्सीको बोतल लिएर निस्कनेलाई पनि कार्वाही गरिने उनले बताए । इमान्दारितापूर्वक आफूले गर्नै पर्ने काम गरेको बताउँदै उनले यसक्रममा आफू सम्मानित भएकोमा संघलाई उनले धन्यवाद दिए । कार्यक्रमको संचालन  संघका महासचिव राजेन्द्र ढकालले  गरेका थिए ।

३ असार २०८१, सोमबार २२:०९ मा प्रकाशित
Nabintech