Play

श्रमाधान रोजगार मेलाको तयारी पुरा, बिहिबार प्रम प्रचण्डले उद्घाटन गर्ने

गुरुकुल खबर


विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट समुद्घाटन हुने ‘श्रमाधान रोजगार मेला’को तयारी पुरा भएको छ ।  मेलाको संयोजन गरिरहेको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले साजसज्जादेखि युवाको सहभागिता बढाउन विशेष तयारी गरेको हो ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरु, विराटनगर महानगरपालि प्रमुखलगायतका व्यक्तित्वहरुको उपस्थिति रहनेछ ।

आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’को कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिका पनि आयोजकका रुपमा रहेका छन् ।

नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिएको श्रममन्त्री अर्यालले जानकारी दिए । देशका सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ कोशी प्रदेशको विराटनगरबाट जेठ १७ गते शुभारम्भ भएर बागमती प्रदेशको ललितपुरमा जेठ ३० गते समापन हुनेछ ।

युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने ध्येयका साथ आयोजना गरिएको मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रवर्धन गरेर लैजानु हो । मेलालाई सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रुपमा लिइएको छ । रोजगार मेला कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनबिन्दु स्थल हुनेछ ।

श्रम मन्त्रालयका उपसचिव एवं मेलाको कोशी प्रदेश संयोजक सुशील आचार्यले तयारीमा कुनै त्रुटी नहुने गरी काम गरिएको बताए । सरकारले उच्च प्राथमिकताका साथ आयोजना गरेको मेलालाई ‘बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्यको सुरुवात’का रुपमा लिइएको उनले जानकारी गराए ।

‘अबको १५ वर्षपछि बाध्यात्मक रुपमा विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने गरी डाटाबेस बनाउने हाम्रो तयारी छ,’ उनले भने, ‘मेलापछि मन्त्रालयले रोजगार बैंक बनाउने, जसमा रोजगारीका अवसर र प्रकृतिदेखि बेरोजगारको तथ्यांक र क्षमताबारे स्पष्ट उल्लेख हुन्छ, अहिले त्यही हिसाबले तयारी गरिरहेका छौं ।’

नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले मेलालाई भव्य बनाउन विशेष तयारी गरिएको बताए । ‘सरकारले उच्च प्राथमिकता दिएर आयोजना गरेको रोजगार मेलाको समुद्घाटन समारोहलाई विशेष बनाउने गरी तयारी गरेका छौं,’ उनले भने, ‘मेलामा युवाको पनि उल्लेख्य सहभागिता रहने हाम्रो विश्वास छ ।’

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ र होटल संघ नेपाल मेलाको सहआयोजकका रुपमा रहेका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र (सामी) र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुनः एकीकरण परियोजना (रेमी)ले पनि मेलामा विशेष सहयोग गरेका छन् ।

मेला हरेक प्रदेशमा दुई दिन चल्नेछ । जेठ १७ गते कोशी प्रदेशबाट सुरू हुने यो मेला बागमती प्रदेशमा जेठ ३० गते समापन हुनेछ । कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गते, मधेस प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बागमतीको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ ।

१६ जेष्ठ २०८१, बुधबार २२:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा