Play

महिलाको जीबन परिवर्तन गर्ने अन्तराष्ट्रिय अभियानको नेतृत्व लिंदै-सदैब सारीमा सजिने नारी ‘बन्दना’

गुरुकुल खबर


गुणराज लुइंटेल –

न्युयोर्कदेखि जेनेभासम्मका बैठकमा सारीचोलोमा प्रतिभाशाली एक नेपाली महिलालाई देखेर अन्तर्राष्ट्रिय प्रतिनिधिहरू झुक्किने गर्छन्– हिमाली अधिराज्य नेपालका सबै महिला उनीजस्तै हुनुपर्छ। अझ कतिपयलाई त उनले बोलेको धाराप्रवाह अंग्रेजीले नेपाल कुनै पश्चिमा मुलुकको उपनिवेश रहेको आशंका पनि हुन्छ।

उनी हुन्– वन्दना राणा। यो नामको पछाडि अहिले जोडिएको छ– महिलाविरुद्ध सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड्अ)। तीन वर्षअघि नोभेम्बरमा सिड्अ कमिटी सदस्यमा दोस्रो कार्यकालका निम्ति निर्वाचित भएयता उनी निरन्तर संयुक्त राष्ट्रसंघीय बैठकहरूका निम्ति अनिवार्य अनुहार भइरहेकी छन्।

सन् २०१७ को पहिलो कार्यकालका निम्ति निर्वाचित भएपछिका बैठक उनका लागि आफैंमा अनौंठा थिए। धेरैलाई नेपाल भन्ने देशबारे अत्तोपत्तो थिएन। कोही यिनले राम्ररी अंग्रेजी नबुझ्लिन् कि भनेर बिस्तारै बोल्थे। उनी बोल्न थालेपछि नेपाल कतै अंग्रेजहरूको उपनिवेश थियो कि भनेर सोध्थे। उनी भन्थिन्, ‘नेपाल कहिल्यै कसैको उपनिवेश रहेन।’ फेरि उनलाई सोध्थे, ‘उसो भए तिमी विदेशमै पढेको र बसेको हो कि?’ ‘विदेशमा होइन, नेपालमै शिक्षादीक्षा लिएको हो,’ यस्तो जवाफ पाएपछि ती आश्चर्यमा पर्थे।

सिड्अ कमिटीमा उनले गरेको अभ्यासबाट नेपाल महिलाविरुद्धको भेदभाव उन्मूलनमा निकै अगाडि रहेको सन्देशसमेत गएको छ। तर जब यहाँबाट बैठकमा भाग लिन प्रतिनिधिमण्डल जान्छ र त्यसले भनेजत्तिकै उपलब्धि देखाउन सक्दैन । त्यो बेलामा भने उनलाई अलि अप्ठेरो पनि पर्छ। उनका अनुसार कतिपय बेलामा नेपालले सिड्अ कमिटीसँग संवाद गर्दा मौन भएर बस्नुपर्छ। त्योबेला देशलाई प्रतिरक्षा गर्न नपाउँदा उनलाई छटपटी पनि हुन्छ। धेरैपटक उनी कमिटी बैठकको तयारीका लागि मन्त्रालयहरूसँग समन्वय गरी प्रस्तुति राम्रो बनाउन सघाउँछिन् पनि।

परिवारका चार सन्तानमध्ये सबैभन्दा जेठी वन्दना आफ्नो बाल्यकालमा त्यो बेला सबैले सोच्नेजस्तो डाक्टर वा इन्जिनियर बन्ने भनेर परिवारलाई खुसी पार्ने गर्थिन्। ६ दशकअघि ललितपुरको जाउलाखेलमा एउटा मध्यमवर्गीय परिवारमा जन्मेकी छोरीको चाहना परिवारलाई खुसी दिने भन्ने नै हो। सञ्चार क्षेत्रमा जोडिएर काम गर्दा उनलाई आफ्ना सपनाले भन्दा मुलुकमा महिलाको अवस्थाले डोहोर्‍याउँदै अगाडि लगेको हो। कुनै बेला उनी नेपाल टेलिभिजनमा काम गर्थिन्। टेलिभिजनमा आफ्ना वरिष्ठ सहकर्मीले भनेजस्तै काम गर्दै पनि थिइन्।

जब उनले अन्तर्राष्ट्रिय तालिम र अध्ययनसँग साक्षात्कार गर्ने अवसर पाइन्, तब क्रमश: आफ्नो बाटो परिवर्तन गर्न थालिन्। सिकाइ र भोगाइले जिन्दगीको गोरेटो परिवर्तन हुँदै जान्छ भन्ने उदाहरण बन्दना हुन्।

उनको कामको थालनी भने संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) बाट भएको हो। सन् १९९० को दशकको प्रारम्भतिरको समय थियो। एक शनिबार उनलाई बनेपामा रहेको महिला समूहसँग अन्तरक्रिया गर्न जानुपर्ने भयो। बिदाको दिन पनि के काममा जाने भन्ने उनलाई लाग्यो र त्यहाँ जान अनिच्छा प्रकट गरिन्।

फेरि उनको अर्को मनले भन्यो– बनेपामा नारी दिवसकै कार्यक्रम रहेकाले जानुपर्छ। उनले शनिबार दिनभरि त्यहाँ महिलासँग समय बिताइन्। त्यहाँ महिलाहरूले दर्शाएको आभारले उनको मन बेग्लै भयो। त्यो कार्यक्रममा नपुगेको भए शायदै उनले ती महिलाको आत्मियता महसुस गर्न सक्ने थिइन्।

उनलाई त्यसपछि गाउँमा गएर महिलाका बारेमा काम गर्नुको अर्थबोध भयो। उनले राष्ट्रसंघीय कार्यालयभित्रका सुविधाजनक कक्षमा बसेर बनाइने प्रतिवेदनभन्दा गाउँका महिलासँग गरिने कामलाई बढी महवपूर्ण ठानिन्। राष्ट्रसंघीय सेवाका निम्ति उनको कार्यकालको करार अवधि बढाउने तयारी भएको थियो। तर उनले त्यसलाई त्यही रोकिन। त्यो अवसर नत्यागेको भए उनी राष्ट्रसंघीय प्रणालीभित्र एउटा उच्चस्तरीय कर्मचारी हुने थिइन्। मोडिएको बाटोले पनि फेरि उनलाई अन्तर्राष्ट्रिय योगदान गर्नसक्ने ठाउँमै पुर्‍यायो।

सन् ९० को दशकमा नेपालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि मानवअधिकार, प्रेस स्वतन्त्रता र अन्यान्य अधिकारका क्षेत्रमा वकालत सुरु भयो। उनी भने सन् १९८६ मै नेपाल टेलिभिजन खुल्नासाथ त्यसमा काम गर्दै थिइन्। कामकै सिलसिलामा उनलाई नेदरल्याण्ड्समा उच्च शिक्षा र तालिमको अवसर प्राप्त भयो। त्यसबाट पनि आफ्नो पहिचान र मनको आवाज सुन्ने क्षमता विकास उनीमा भयो।

त्यसपछि उनले कामको सिलसिलामा कतिपय विषयमा धारणा राख्न थालिन्। त्यसले द्वन्द्वको अवस्था पनि सिर्जना गर्‍यो। हिजोसम्म लाएअह्राएको काम खुरुखुरु गर्ने मान्छेले तर्क गरेपछि कार्यालयकै अवस्था पनि स्वाभाविक भएन। त्यो बेलासम्म स्थायी कर्मचारी रहेकी उनले करारमा काम गर्ने निधो गरिन्। र, अंग्रेजी समाचार कक्षमा दुई दशकसम्म यही स्थितिमा काम गरिन्। स्थायी र सजिलो काम गर्ने ठाउँ छाडेर आफैं केही गर्ने हुट्हुटीले उनको नयाँ बाटो खुल्दै गएको हो।

पत्रकारका रूपमा उनले समाचार संकलन, सामयिक कार्यक्रम निर्माण आदिबाट विषयवस्तु बुझ्ने अवसर पाइन्। पूर्णकालीन जागिर न राष्ट्रसंघमा न टेलिभिजनमा नै रह्यो। उनले बिस्तारै आफूजस्तै विचार बोक्ने व्यक्तिहरूको समूह खडा गरी समाजलाई नै आफूले सिकेको कामबाट केही दिनुपर्छ भन्नेमा लागिन्।

सन् १९९२ मा बन्दना र उनको समूहले मुलुकमा महिलाका निम्ति काम गर्ने संस्था ‘साथी’ स्थापना गर्‍यो। यसमा आठजनाको समूह थियो। सन् १९९१ मा राष्ट्रसंघीय एउटा परियोजनाका निम्ति गाउँगाउँमा जाँदा उनले धेरै सर्वसाधारणको अन्तर्वार्ता गरिन्। त्यसक्रममा पुरुषसँग अन्तर्वार्ता गर्न सजिलो थियो। महिलासँग अन्तर्वार्ता गर्न खोज्दा पुरुष नै अघि सर्थे। महिलाले त बोल्न पाउँदैनथे। ‘यसलाई बोल्न आउँदैन,’ पुरुषहरू भन्थे, ‘यसले जान्दिन लाज मान्छे।’

उनलाई असाध्यै पीडा भयो। त्यसपछि उनी बिहान चार बजेतिर पँधेरामा पुगिन्। वास्तवमा महिलाको सबैभन्दा स्वतन्त्र ठाउँ त्यो थियो, जहाँ उनीहरू सुखदु:खका कुरा गर्थे, आफूलाई लागेको बोल्थे। त्यहाँ सजिलै उनले अन्तर्वार्ता लिन सकिन।

ती महिलासँग कुरा गरेपछि बन्दनालाई नेपाली समाजको वास्तविक समस्या बोध भयो। घरेलु हिंसाले समाज आक्रान्त थियो। महिलाले आफूलाई लागेका कुरा भन्न पाउने ठाउँ थिएन। त्यसैले उनलाई यस क्षेत्रमा काम गर्ने संस्था खोल्न अभिप्रेरित गर्‍यो। साथीमार्फत महिलालाई ‘सेल्टर’, परित्यक्त र विपन्न बालबालिकालाई शिक्षाका निम्ति पनि यो संस्थामार्फत बन्दना र उनको समूहले भूमिका निर्वाह गर्‍योे।

उनले सन् १९९५ मा चीनको बेइजिङमा सम्पन्न चौथो विश्व महिला सम्मेलनमा भाग लिएपछि यस क्षेत्रलाई थप बुझ्ने अवसर पाइन्। सम्मेलनले पारित गरेका विषयमध्ये एउटा थियो– सञ्चार र महिला। सञ्चार क्षेत्रमा काम गर्ने महिला पनि संगठित र सशक्त हुनुपर्ने रहेछ भन्ने उनलाई महसुस भयो। सन् १९९६ अप्रिलमा उनकै पहलमा पत्रकार महिलाहरूको संस्था सञ्चारिका समूह गठन भयो। ३१ जना पत्रकार महिलाको सहभागितामा तदर्थ समिति बनेको थियो।

साथी र सञ्चारिका समूह उनले बनाएका दुई संस्था हुन्। यी दुई संस्थाको अनुभवले उनलाई सिकायो– ‘राज्यसँग मिलेर काम गर्दा सुधार गर्दै जान सकिने रहेछ। एकोहोरो आलोचना मात्र गर्ने होइन, भएका कामको प्रशंसा गर्ने र कमीकमजोरी औंल्याएर संयुक्तरूपमा काम गर्दा दीगो र प्रभावकारी हुने रहेछ।’

नेपालको सन्दर्भमा उनले गरेको अनुभव पनि यही हो। स्थानीयस्तरमा सिकेका कुरालाई विश्वस्तरमा लैजाने र विश्वमा भएका उपलब्धिलाई स्थानीयस्तरमा पुर्‍याउने रणनीतिलाई उनले आत्मसात् गरेकी छन्।

उनी संस्थाहरू बनाई नेतृत्व हस्तान्तरण गर्दै अगाडि बढेकी छन्। यहीक्रममा विश्वका १ सय ८९ मुलुकले अनुमोदन गरेको सिड्अ महासन्धि कार्यान्वयन गर्न राष्ट्रहरूलाई प्रेरित गर्ने ठाउँमा पुगेकी हुन् उनी। सिड्अ महासन्धि महिला जीवन परिवर्तनका निम्ति एउटा महत्वपूर्ण घोषणापत्रका रूपमा आएको छ। राष्ट्रसंघीय महासभाले सन् १९७९ मा यसलाई पारित गरेको हो।

सिड्अका तीन सिद्धान्त छन्– निर्विभेद, सारभूत समानता र राज्यको दायित्व। सिड्अको कार्यान्वयन यिनै तीन सिद्धान्तमा निर्भर छ। यही महासन्धिअन्तर्गतको सिड्अ कमिटीले राज्यलाई कठघरामा उभ्याउने हैसियत राख्छ। यसैका कारण आआफ्नो मुलुकभित्र कानुनदेखि नीतिगत सुधारसम्म गर्न सरकारहरू बाध्य भएका छन्।

वास्तवमा बन्दनालाई साथी र सञ्चारिका समूहमार्फत विश्वमञ्चमा निर्वाह गरेको भूमिकाका कारण सबैले सम्झिन थालेका हुन्। दक्षिण एसियाली मुलुक नेपालकी यी अभियन्तालाई सबैले कुनै न कुनै रूपमा सम्झिने गरेका हुन्। यसै सिलसिलामा उनलाई कसैले सिड्अ कमिटीमा नेपालका तर्फबाट उम्मेदवार हुनुपर्छ भन्ने सुझाव दिए। उनलाई त्यस्तो सन्देश आउनुअघिसम्म त्यहाँ गएर आफूले योगदान गर्ने भन्ने लागेको पनि थिएन। त्यो सन्देशपछि यसका सम्भावनाबारे उनले खोजी गरिन्।

त्यसपछि उनले तत्कालीन परराष्ट्रमन्त्री कमल थापालाई भेटिन्। थापालाई भेट्न जानुअघि राति नै उनले दुई पृष्ठको यससम्बन्धी विवरणसमेत तयार पारिन्। मन्त्री यसका निम्ति तयार भएपछि कर्मचारीतन्त्र पनि सहयोगी नबन्ने कुरा थिएन। त्यो निर्णय गर्ने बेलामा प्रधानमन्त्री केपी शर्मा ओली थिए। दोस्रो कार्यकालको निर्वाचन जित्ने बेलामा पनि उनै प्रधानमन्त्री थिए। उनी विजयी भएपछि ओलीले आफैं फोन गरेर बधाईसमेत दिएका थिए।

बन्दनाका निम्ति पहिलो उम्मेदवारीको निर्णय गर्न तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको महवपूर्ण योगदान छ। उम्मेदवार बनेको पहिलो पटकमै उनलाई सफलता प्राप्त भयो। ११ पदका निम्ति २६ उम्मेदवारमध्ये उनको स्थान छैठौं थियो। कुल मतदाता १८९ मध्ये नेपाललाई १ सय ५ मत प्राप्त भयो।

उम्मेदवारीका क्रममा उनले अनगिन्ती बैठक गरिन् र नेपालका निम्ति मत मागिन्। उनको प्रस्तुति, शालीनपन र निरन्तर काममा लागिरहने प्रवृत्तिले त्यो सफलता दिलायो। पहिलो कार्यकाल सकिएपछि दोस्रो पटक उम्मेदवार हुँदा उनी सबैभन्दा बढी मत ल्याउनेमा तेस्रो उम्मेदवार भइन्। अघिल्लोपटक भन्दा बढेर १ सय ३७ मत प्राप्त भयो। त्यसयता उनले कमिटी उपाध्यक्षका रूपमा समेत काम गरेकी छन्। यो राष्ट्रसंघ महासन्धि समितिको उपाध्यक्ष हुने उनी पहिलो नेपाली हुन्।

आगामी डिसेम्बरसम्म उनको दोस्रो कार्यकाल चल्ने छ। तेस्रो कार्यकालका निम्ति पनि उनी उम्मेदवार बन्ने तयारीमा छन्। अझ यसपटक एसिया महादेशलाई कमिटी अध्यक्षताको अवसर पनि आएका कारण उनी नेपाललाई प्रतिनिधित्व गर्दै त्यो सर्वोच्च स्थानमा पुग्ने सम्भावना बलियो छ।

सिड्अ कमिटीमा विश्वकै प्रतिभाशाली महिलाहरू पुग्छन्। त्यसमा छानिएर गएकाहरू पूर्वमन्त्री, राजदूत, न्यायाधीश, प्राध्यापक आदि हुन्छन्। तर बन्दनाको नेपाली ग्रामीण परिवेशको जानकारीले बैठकहरूलाई तरंगित पार्ने गरेको छ। त्यही भएर उनी न्युयोर्क र अन्य अन्तर्राष्ट्रिय सहरका बैठकपछि काठमाडौं आउँछिन् र लाग्छिन् गाउँतिर, जहाँ प्राप्त हुन्छन्– नेपाली सुस्केरा र माटोका कथा।

प्राय: नेपालमा सारीको सप्कोले महिलाले अनुहार ढाक्छन्। अझ सारीले महिलालाई फड्को मार्न दिँदैन भन्छन्। तर यही सारी लगाएर बन्दनाले अन्तर्राष्ट्रिय मञ्चमा नेपाल चिनाइरहेकी छन्। ‘हिउँ, पानी वा हावा जस्तो भए पनि म सबै ठाउँमा सारीमै जान्छु,’ उनले  भनिन्, ‘सारीलाई मैले नेपाली पहिचानकै रूपमा अन्तर्राष्ट्रिय मञ्चमा लगिरहेकी छु।’

 – नागरिक दैनिकबाट साभार 

२५ फाल्गुन २०८०, शुक्रबार २३:०८ मा प्रकाशित
Nabintech