Play

मन्त्रालय भागबण्डामा सहमति, समाजबादी पनि सरकारमा जाने, रास्वपा गृह, माओबादी अर्थ र परराष्ट्र, एमालेलाई भौतिक पूर्वाधार मन्त्रालय

माओबादीबाट प्रधानमन्त्री सहित छ जना, एमालेबाट आठजना, रास्वपाबाट चारजना र समाजबादीबाट दुईजना मन्त्री बन्ने


गुरुकुल खबर


काठमाडौँ, नेकपा माओबादी र नेकपा एमाले सहितको नया गठबन्धनमा बनेको सरकारमा मन्त्रालय भागबन्डामा लगभग सहमति भएको छ। बुधबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन दलहरूको बैठकले मन्त्रालय भागबण्डाको टुंगो लगाएको बुझिएको छ। सरकारमा नेकपा एकीकृत समाजबादी पनि दुई मन्त्रालय लिएर सहभागी बन्ने भएको छ ।

सहमतिअनुसार नेकपा माओवादी केन्द्रबाट उपप्रधान तथा परराष्ट्रमन्त्रीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ जानेछन्।यसको साथै  अर्थमन्त्री पनि माओवादीले नै लिने सहमति भएको छ। उपमहासचिव वर्षमान पुनलाई अर्थमन्त्री बनाउने माओवादीको निर्णय छ।  माओवादीले सञ्चार मन्त्रीका रूपमा रेखा शर्मालाई पठाउने भएको छ । त्यसै गरी ऊर्जामन्त्रीका रूपमा शक्ति बस्नेत र हितबहादुर तामाङ पर्यटन मन्त्री बन्ने भएका छन् ।

नेकपा (एमाले) बाट सचिव रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्ने सहमति भएको एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिएका छन् । सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ । नेताहरुका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् । पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदार भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् । महासेठ र अधिकारी बाहेक सबै अघिल्लो पटक प्रचण्ड सरकारमा मन्त्री भएका थिए ।

रास्वपाले लिने चार मन्त्रालयको पनि टुंगो लागेको छ। सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने भएका छन्। शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ, श्रममन्त्रीमा उपसभापति डोलप्रसाद अर्याल (डिपी) बन्ने पक्का भएको छ । लामिछाने र अर्यालले यसअघि पनि सोही मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

यसैबीच नेकपा एकीकृत समाजवादी पनि नया सरकारमा सहभागी हुनेभएको छ। केन्‍द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले जानकारी दिए। उनकाअनुसार एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने टुंगो लागेको छ।

‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को एक मन्त्रालय लिएर हामी सरकारमा जाने भएका छौं,’ ती नेताले भने।

गत सोमबार एमालेबाट पदम गिरी, रास्वपाबाट अर्याल र माओवादीबाट हितबहादुर तामाङ मन्त्री भएका थिए।

२३ फाल्गुन २०८०, बुधबार १३:५५ मा प्रकाशित
Nabintech