Play

लेखनाथ महोत्सवको टिकट ईसेवाबाट नै काट्न सकिने

गुरुकुल खबर


लेखनाथ,  लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १९ औं लेखनाथ महोत्सवमा ईसेवा बाट नै टिकट काट्न सकिने भएको छ । महोत्सवमा लाइन बसेर टिकट लिनुपर्ने बाध्यता हटाउँदै घरबाटै टिकट लिन सकिने व्यवस्था मिलाइएको हो । समयको माग, दर्शकको भिड र सुरक्षालाई मध्यनजर गर्दै विशेषतः युवा विद्यार्थी वर्गलाई लक्षित गरी यसपटक ईसेवाबाट नै टिकट काट्ने व्यवस्था मिलाईएको टिकट व्यवस्थापन उप–समितिका संयोजक अर्जुन भण्डारीले बताए ।

‘‘यसपटक टिकटको भीडभाड कम गर्न महोत्सव परिसरमा ठाउँ–ठाउँमा ई–टिकटका लागि क्यू आर कोड राख्ने तथा ई–टिकट काट्नेका लागि सहज तरिकाले प्रवेश गर्ने व्यवस्था मिलाइएको छ भने मोबाइलमा भएको ईसेवाको एपमा गई दिइएको निर्देशन अनुसार घरमै बसेर मोबाइलबाटै टिकट काट्न सकिने छ’–संयोजक भण्डारीले भने ।

यस बाहेक ईसेवाबाट टिकट काट्नेहरुमध्येबाट हरेक दिन १ जनालाई लक्की ड्र को आधारमा बञ्जी जम्प, प्याराग्लाईडिङ लगायतका अफरहरु समेत ल्याईएको र महोत्सवका हरेक स्टलमा भुक्तानीको लागि ईसेवाको क्यू आर कोड राखिने ईसेवाका गण्डकी प्रदेश ईञ्चार्ज बिनोद बोहोरा क्षेत्रीले जानकारी दिए । महोत्सवमा सर्वसाधारणको लागी ८० रुपैंया र विद्यार्थीहरुको लागी परिचयपत्रको आधारमा ५० रुपैंया, बेलुकाको लाईभ कन्र्सटको लागी १ सय ५० रुपैंया मुल्य तय गरिएको छ भने ज्येष्ठ नागरिकहरुका लागी सामाजिक सुरक्षा भक्ताको कार्डको आधारमा निशुल्क प्रवेशको व्यबस्था गरिएको छ ।

महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु, विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामाग्री, सुचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु समावेश गरिएको र यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयां प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।

यहि पुष ५ गतेदेखी १६ गतेसम्म सञ्चालन हुने महोत्सव सम्पन्न गर्नका लागी ९ सदस्यीय निर्देशक समिति, ४१ वटा उप–समिति र १ सय २० सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ । हाल शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान बनाउदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरि यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र आन्तरिक एंव बाह्य पर्यटकहरुलाई आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पु-याउने प्रचार प्रसार समितिका संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले बताए ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने १९ औं संस्करणको महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा पशुपति बिस्कुट र हेटौंडा डेरी, फुड फेस्टीभल प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उप–समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।

 

२७ मंसिर २०८०, बुधबार १२:५९ मा प्रकाशित
Nabintech