पोखरा, ब्यवसायिक रुपमा पहिलो पटक मुआथाई प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा उक्त प्रतियोगिता आगामी पुषको दोश्रो साता हुने भएको हो ।
थाई मार्शल आर्ट खेलको रुपमा विश्वभर पहिचान बनाएको मुआथाई खेल विगत केही वर्ष यता नेपालमा समेत यूवाहरुको आकर्षण बढे संगै आर्थिक वर्ष २०८०/०८१ मा प्रदेश खेलकुद परिषदले बजेट विनियोजन समेत गरि प्रतियोगिता आयोजना तयारी थालेको परिषदका सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् ।
प्रदेश खेलकुद परिषदले प्रतियोगिता आयोजना गर्न परिषदका सदस्य खगेन्द्र क्षेत्रीलाई जिम्मेवारी दिएको छ । नेपाल राष्ट्रिय मुआथाई संघको प्राविधिक सहयोगमा आयोजना हुने उक्त प्रतियोगिता सम्पन्न गर्न करिव १८ लाख खर्च हुने क्षेत्रीले जानकारी दिए । “यो पोखरामा आयोजना हुने मुआथाई खेलको पहिलो व्यवसायिक खेल हो । यसले पोखरालाई खेल पर्यटनको माध्यमबाट समेत पहिचान स्थापित गर्न सहयोग पुग्ने छ,”–संयोजक क्षेत्रीले भने ।
विभिन्न उमेर र तौल समुहमा आयोजना हुने प्रतियोगितामा महिला÷पुरुष एवं छात्र/छात्राका छुट्टा–छुट्टै प्रतिस्पर्धाहरु तय गरिएको छ । प्रतियोगिताका लागि आवेदन खुला गरिएको जानकारी दिंदै संयोजक क्षेत्रीले आवेदन दिने खेलाडीहरु मध्ये उनीहरुको विगतको नतिजाका आधारमा प्रतियोगितामा समावेश हुने अवसर प्रदान गरिने बताए । जसमा ३५ भन्दा वढि खेलाडीहरु प्रतिस्पर्धामा उत्रिने छन् ।
दुई दिन सम्म पोखराको पर्यटकिए केन्द्र लेकसाइडमा हुने प्रतियोगिताका बिजेता खेलाडीहरुलाई नगद ३ लाख खर्च हुनेछ । पोखरा बाहिरबाट आउने खेलाडी, प्रशिक्षक तथा प्राविधिकहरुलाई खाना र आवाशको सुविधा सहित एक दिन पोखराको पर्यटन क्षेत्रहरुको अवलोकन समेत गराइने संयोजक क्षेत्रीले जानकारी दिए । प्रतियोगिता सफल बनाउन विभिन्न संघ–संस्था एवं व्यवसायिक प्रतिष्ठानहरुले समेत सहयोग गर्ने भएको संयोजक क्षेत्रीले जानकारी दिए ।
पोखरामा पहिलो पटक वृहतरुपमा मुआथाई प्रतियोगिता आयोजना हुने भएकोले प्रतियोगितालाई विभिन्न अनलाइन सञ्चार माध्यम र राष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्न लागिएको क्षेत्रीले बताए ।
मुआथाई प्रतियोगिताले यो खेलको विकास संगै पोखराको पर्यटन क्षेत्रलाई समेत उकास्न महत्वपूर्ण योगदान पुग्ने परिषदका सदस्य सचिव शर्माले बताए । उनले भने–“मुआथाई प्रतियोगिता व्यवसायिक रुपमा पहिलो पटक आयोजना गर्दैछौं भविष्यमा समेत अन्य खेलका यस प्रकारका कार्यक्रमहरु तय गरि नेपाली खेलकुदलाई व्यवसायिक रुपमा अघि बढाउने योजना हामीले बनाउँदैछौं ।”