पोखरा, जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीलाई विकासमा नमुना बनाउने गरी काम गर्न कास्कीका स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।
पौडेलले जिल्ला समन्वय समिति कास्कीको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि वडा सदस्यहरूको लागि क्षमता अभिबृद्धी तालिमको समापनको अबसरमा सो कुरा बताएका हुन् । पौडेलले बिकासका काम युग सुहाउदो, समय सापेक्ष र वडामा बिकास प्रभावकारी हुन नसकेको गुनासो सुन्नु नपरोस भन्ने हेतुले कार्यक्रम आयोजना गरीएको उल्लेख गरे ।
उनले जनप्रतिनिधिहरूको सबलीकरणमा तालिम कोशेढुंगा सावित भएको दाबी गरे । प्रमुख पौडेलले विकासमा गुणस्तरीय सेवा प्रवाहमा स्थानीय तहका प्रतिनिधिहरूको यो कार्यकाल ऐतिहासिक र स्वर्णिम हुनुपर्ने र त्यहि अनुसार तालिमबाट प्राप्त ज्ञान सीपलाई अब्बलरूपमा ब्यबहारमा उतार्न आग्रह गरे ।
जिल्ला समन्वय अधिकारी नवराज बरालले क्षमता निरन्तर बढाउन जरूरी रहेको भन्दै सम्बृद कास्कीको लागि प्रभाबकारी जनप्रतिनिधिहरू निर्माणमा तालिम फलदायी भएको दाबी गरे । जिल्ला समन्वय समिति कास्कीले कास्कीका चारवटा गाउँपालिका र बुधबार पोखरा महानगर अन्तर्गतका वडा सदस्यहरू सहभागी भएको क्षमता बिकास तालिम आयोजना गरेको थियो ।
कार्यक्रममा बिकासका योजना छनोट, प्रक्रिया र विधि स्थानीय सरकार संचालनमा वडा सदस्यको भुमिका, बिद्यमान ऐन कानुन लगायतका बिषयमा प्रशिक्षण प्रदान गरिएको सो कार्यालयका सूचना अधिकारी झविश्वर रेग्मीले उल्लेख गरे ।
कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे, जिल्ला समन्वय अधिकारी नवराज बराल, शाखा अधिकृत झविश्वर रेग्मी लगायतले सहजीकरण गरेका थिए । जि. स. स. कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप – प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।