Play

पोखरामा आँखा पाक्ने रोगको निःशुल्क उपचार

गुरुकुल खबर


पोखरा, पोखरा महानगरका ३ अस्पतालमा आँखा पाक्ने रोगको उपचार निःशुल्क हुने भएको छ । महानगरका मेयर धनराज आचार्यको सक्रियतामा हिमालय आँखा अस्पताल, मनिपाल शिक्षण अस्पताल र चरक मेमोरियल अस्पतालमा आँखा पाक्ने रोगको टिकटदेखि जाँच र औषधी सित्तैमा हुने व्यवस्था गरिएको हो ।

महानगर प्रमुख आचार्य, मणिपाल शिक्षण अस्पतालका निर्देशक नारायण पौडेल र चरक मेमोरियल हस्पिटलका निर्देशक कपिल पोखरेल र हिमालय आँखा अस्पतालका मेडिकल डाइरेक्टर प्राडा इलिया श्रेष्ठबीच एक समझदारी भएको हो । मुलुकका विभिन्न भागमा फैलिइरहेको आँखा पाक्ने रोगको संक्रमण पोखरा महानगरपालिकाभित्र पनि बढिरहेको छ । संक्रमण चक्रलाई रोक्ने उद्देश्यले निःशुल्क आँखा परीक्षण तथा औषधी वितरणसम्बन्धी समझदारी गरिएको मेयर आचार्यले स्पष्ट पारे ।

भाइरल कन्जंक्टिभाइटिस अर्थात् आँखा पाक्ने रोगसँग सम्बन्धित बिरामीले यसको लाभ लिन सक्ने उनी बताउँछन् । व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरपालिकासँग सहकार्य गरी सित्तैमा उपाचार गरिएको निर्देशकद्वय पौडेल र पोखरेलले बताए ।

बुधबारदेखि साउन मसान्तसम्म यो सुविधा उपलब्ध छ । बिरामीलाई बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेवा प्रदान गरिने छ । महानगरको आग्रहमा हिमालयन आँखा अस्पतालले सेवाका लागि टिकट निःशुल्क दिने भएको छ । अस्पतालकी मेडिकल डाइरेक्टर प्राडा इलिया श्रेष्ठले ओपिडी टिकटको शुल्क नलाग्ने अरु सेवाको भने शुल्क तिर्नुपर्ने जानकारी दिइन् । आँखा अस्पतालमा बुधबार १ हजार १ सय ९० बिरामी उपचारका लागि आएकोमा १ सय ९० जनामा यो समस्या देखिएको उनले जानकारी दिइन् ।

महानगरपालिकाले रोगको संक्रमण नफैलियोस् भनी बुधबारदेखि शुक्रवारसम्म मातहतमा सबै विद्यालय तथा शिक्षण संस्थामा बिदा दिने निर्णय गरे अनुसार विद्यालयहरू संक्रमणको उच्च जोखिममा रहेकाले बन्द गरिएको छ ।

२५ श्रावण २०८०, बिहीबार १२:२५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा