पोखरा, गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको निसीखोला गाउँपालिका कृषि तथा पशु उत्पादनको उर्वर भुमि हो । पालिकाबासीहरु सामान्य खेतीकिसान,भेडाबाख्रा,गाईभैसी पालनमै व्यस्त छन् । परम्परागत कृषि र पशुपालनलाई थप व्यवस्थित बनाउन स्थानिय सरकारले पहिलो प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम बनाएको छ ।
नयाँ आर्थिक वर्षको सुरुवातबाट नै गाउँपालिकाले कृषि उत्पादन,विस्तार र प्रवद्र्धनमा जोड दिएको निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्तीमगरले बताएका छन् ।
“वन जलस्रोत र संस्कृति, पर्यटन र कृषि,सभ्य सम्मुनत सुखी र समृद्ध निसी” भन्ने मुल नाराका साथ पाँच वर्षको मध्यवर्ती खर्च संरचनाको आधारमा टेकेर पालिकालाई समृद्ध बनाउने कार्य सुरु भएको उपाध्यक्ष घर्तीमगरले बताए । “बार्हौ गाउँसभाबाट मध्यवर्ती खर्च संरचनाको आधारमा टेकेर पाँच वर्षको आवधिक योजना बनाएका छौ”,उनले भने,“यसै योजना मार्फत पालिकाको नारामा उल्लेख गरिएका मुख्य विषयहरुलाई प्राथमितामा राखेर पुरा गर्ने कसरत गरेका छौ ।”
स्थानिय सरकारले कृषि रणनीतिक योजना मार्फत पालिकालाई आत्मनिर्भर बनाउनका लागि मुख्य गरि आलुखेतिलाई प्राथमिता दिएको छ । पालिकाभर परम्परागत शैलिमा हुदै आएको यसखेतिको तथ्याङ्क संकलन कार्य जारी रहेकोले त्यपछि यसको उत्पादकत्व बढाउने,बजारीकरण गर्ने लगाएतका योजना बनाउने उनले बताए । पालिकामा विशेषगरि बर्खे र हिउदे गरि दुई सिजनमा आलु उत्पादन हुदै आएको छ ।
उपाध्यक्ष घर्तीमगरका अनुसार पालिकालाई तेलमा पनि आत्मनिर्भर बनाउने उद्धेश्यले गत वर्ष परिक्षण स्वरुप पहिलो पटक प्रत्येक कृषकलाई सुर्यमुखिको विउ वितरण गरिएको छ ।
यो अभ्यासले राम्रै उत्पादन दिने आशा पलाएको र तेल पेल्ने मेसिन पनि अनुदानमा उपलब्ध गराउने योजना रहेको छ । साथै निसीखोलाका निसेलढार लगाएत केहि उच्च स्थानमा स्याउ खेति हुदै आएकोले बाँकी स्थानमा यो खेतिको अभ्यास गरि पालिकालाई स्याउ पकेट क्षेत्र विस्तार गर्ने क्रम जारी रहेको र यसका लागि आवश्यक बजेट विनियोजन गरिएको उनको भनाई छ ।
“हाम्रो पालिकामा ४ हजार उचाई भन्दा माथि पर्ने भुगोल छन्,निसेलढोर लगाएत उच्च स्थानमा स्याउखेति हुदै आएको छ”,उपाध्यक्ष घर्तीमगरले भने, “हावापानी र सुहाउदो माटो अनुसार बाँकी ठाँउमा पनि स्याउ पकेट क्षेत्र विस्तार गर्ने यस वर्ष १० लाख बजेट विनियोजन गरेका छौ ।”
अवको ५ वर्षमा स्थानिय सरकारले भांगो खेति,तेलहन खेति,स्याउ,आलु,मकै,जौँ,गहुँ लगाएत रैथाने बालीको संरक्षणमा जोड दिदै आत्मनिर्भरताको कदम चालेको छ । “कृषि र पशुपालनमै आश्रित यहाँका स्थानियले उत्पादन गरेको वस्तुले राजधानी काठमाडौँसम्मको बजार धान्न सक्ने क्षमता छ,उनले भने, “अझै उत्पाकत्व बढाउने र बजारीकरण गरि स्थानियको आयआर्जनलाई सुनिश्चित गर्न स्थानिय सरकारले हरपर्यत्न कोसिस गरिरहेको छ ।”
समुन्द्रि सतहबाट ८ सय ८९ देखी ४ हजार मिटर सम्मको उचाईमा र २४४.३७ वर्ग कि.मी. क्षेत्रफल फैलिएको निसीखोला गाउँपालिका प्रशस्त हरियो घाँसे मैदान र चरिचरणको सुव्यवस्थित भुगोल समेत हो ।
प्रशस्त चरिचरणको भौगलिक सु–व्यवस्थाकै कारण हाल करिव २५ हजारको संख्यमा भेडाबाख्रासंग कृषकहरु आवद्ध रहको उनको दावी छ । किसानलाई प्रत्साहन गर्नका लागि अवको एकवर्षमा संघ सरकारबाट उपलब्ध भएका कृषि तथा पशुमा आधारित विभिन्न अनुदानका कार्यक्रमलाई लागु गर्ने स्थानिय सरकारले तयारी गरेको उनले बताए ।
उनका अनुसार पालिकाले कृषकलाई प्रत्साहन स्वरुप पशुव्यवसायका लागि खोर,औषधी,घाँस तथा दाना खरिदका लागि रकम उपलब्ध गराउनुका साथै कृषिका लागि विभिन्न विउविजन र कृषि औजार उपलब्ध गराउने योजना रहको छ ।
“स्थानिय सरकाले यो वर्षदेखि कृषकलाई प्रोत्साहनका लागि विभिन्न कार्यक्रमहरु ल्याउने योजनामा छ,यो सेवा प्राप्त गर्नका लागि कृषकहरु पालिकाको सम्पर्कमा आउनुपर्छ,” उनले भने,“हाम्रो पालिका जिल्लाको निकै विकट भुगोलमा पर्छ,पर्याप्त सुचनाको सुविधा छैन र वास्तविक कृषकलाई फुर्सद नभएकोले सेवाको पहुँच सम्म आउन समस्या छ,त्यसैले अव छिट्टै हामी नै स्थलगत रुपमा कृषक कहाँ पुगेर तथ्याँक संकलन गरि उनीहरुलाई सेवाको पहुँचमा ल्याउने योजना बनाएका छौ ।”
स्थानिय सरकारसंग पर्याप्त बजेट नभएपनि यहाँका कृषकको आवश्यकता र भोगोलका दृष्टिले के–कस्तो कार्यक्रम ल्याउन सकिन्छ त्यसको विषयमा पालिकाले स्थानियसंग छलफल,अनुसन्धान र अभ्यास जारी राखेको उनले बताए ।
“संघबाट हामीलाई पर्याप्त बजेट विनियोजन भएको छैन,त्यसैले सोचेअनुसार यसमा बजेट लगानी गर्न सकिरहेका छैनौ,आवश्यकताहरु अधुरो नै छन्,” उनले भने, “तरपनि जेजति बजेट विनियोजित भएको छ र त्यसमा आन्तिरिक राजस्वबाट संकलित रकम गरि कृषकका अत्यावाश्यक समस्या पुर्ति गर्ने,ठाँउ र हावापानीका हिसाबले केकस्तो कृषिका कार्यक्रम ल्याउन सकिन्छ हामीले निरन्तर स्थानिय र सरोकारवालाहरुसंग छलफल जारी राखेका छौ ।“
साविकका ४ गा.वि.सहरु ( देवीस्थान, बोहोरागाउँ, निसी र राजकुत) मिलेर ७ वटा वडाको एउटा गाउँपालिका बनेको छ । पुर्वि देशान्तर ८२ डिग्री ५३ मी देखी ८२३ डिग्री १० मी र उत्तर अक्षाशं २८ डिग्री २८ मी देखी २८ डिग्री १७ मी मा फैलिएको छ । यस गाउँपालिकामा कुल ४ हजार ८ सय ९३ घरधुरीका २३ हजार ३ सय जनसङ्ख्या छन् ।