Play

अन्नपूर्ण गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न

गुरुकुल खबर


पोखरा, काठमाडौंका मेयर बालेन्द्र शाहले सुरु गरेको ‘बुक फ्रि फ्राइडे’ अहिले अभियान चर्चामा छ । काठमाडौंमा हरेक शुक्रबार विद्यार्थी किताब नबोकी विद्यँलय जान्छन्, दैनिक जीवनयापनसँग जोडिने सीप सिक्छन् । त्यो अभियान अन्नपूर्ण गाउँपालिकामा पनि चलाउन स्थानीयले माग गरेका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका ३ का ध्रुव पौडेलले शुक्रबार आयोजित सार्वजनिक सुनुवाईमा बोल्दै हप्तामा एकदिन जीवनउपयोेगी शिक्षा सिकाउने व्यवस्था गर्न गाउँपालिकासँग माग गरे । ‘काठमाडौंमा शुक्रबार विद्यार्थी किताब निलई विद्यालय जान्छन् । पाठ्यपुस्तकभन्दा बाहिरका कुरा सिक्छन्,’ पौडेलले भने, ‘हाम्रा विद्यालयमा पनि त्यसरी नै एकदिन जीवनउपयोगी शिक्षा सिकाउन पाए राम्रो हुन्थ्यो ।’

जवाफमा गाउँपालिकाले आफूहरु विद्यार्थीलाई खेती सिकाउने योजना रहेको बतायो । जवाफमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख बलराम भुगाइँले आफूहरु पनि हप्तामा एकदिन विद्यार्थीलाई मौसमअनुसारको खेती गर्न सिकाउने योजनामा रहेको सुनाए । ‘हामीकहाँ ५७ वटा विद्यालय छन् । सबैमा सुरुमा नसकिएला, २-३ वटा विद्यालयका कक्षा ६ देखि ९ सम्मका विद्यार्थीलाई मौसमी खेती सिकाउने योजना छ,’ भुगाइँले भने, ‘असारमा धान लगाउन, त्यसपछि गहुँ, कोदो लगाउन अनि मौसमी तरकारी पनि खेतमै लगेर लगाउन सिकाउँछौं ।’

अन्नपूर्ण–२ का हरिराम भण्डारीले पशुमा लम्पी स्किन रोग देखिएकाले त्यसले भयावह स्थिति लिन नसक्ने गरी योजना ल्याउन गाउँपालिकालाई आग्रह गरे । गाउँपालिकामा मौज्दात औषधि पनि नभएको जानकारी पाएकाले त्यो समस्या समाधान गर्न उनले ध्यानाकर्षण गराए । ‘मान्छेमा कोरोना देखिएजस्तै पशुमा लम्पी स्किन रोग भयावह देखिएको छ । यसमा गाउँपालिकाभरको अनुगमन एकैपटक गर्न नसकिएला । तर, त्यसको जोखिमलाई ध्यानमा राखेर औषधि तयार राख्नप-यो,’ उनले भने ।

जवाफमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले आफूहरुले बिहीबार कार्यपालिका बैठकबाटै लम्पी स्किन नियन्त्रणका लागि सबै पहल गर्न सम्बन्धित शाखालाई जिम्मा दिने निर्णय गरेको जानकारी दिए । ‘रोग फैलन नदिन के गर्न सकिन्छ ? के–के औषधि चाहिन्छ, के गर्नुपर्छ सबै गर्न भनेर पशु शाखालाई भनेका छौं,’ उनले सुनाए ।

अन्नपूर्ण ११ का जमान गुरुङले आफूले चार वर्षअघि स्वास्थ्य चौकी बनाएबापतको पैसा अहिलेसम्म नपाएको बताए । गाउँपालिकाबाट उपभोक्ता समितिलाई पैसा गएको भनिए पनि आफूले त्यो नपाएको उनको भनाइ थियो । ‘पुरै पैसा पाएकै छैन । उपभोक्ता समितिले हामीले हार्डवेयरमा तिर्दियौं भन्छ । त्यहाँ तिर्ने त मेरो काम हो नि,’ ठेकेदार गुरुङले सुनाए । उनले छानबिन गर्न माग गर्दै शुक्रबार नै न्यायिक समितिमा निवेदन दिएका छन् । न्यायिक समिति संयोजकसमेत रहेकी गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले आफूहरुले दुवै पक्षलाई बोलाएर सत्य पत्ता लगाउने बताइन् ।

बजेट खर्च ७९ प्रतिशत
अन्नपूर्णको चालु आर्थिक वर्ष २०७९–०८० को ७३ करोड ३४ लाख रुपैयाँको बजेटमध्ये ५८ करोड खर्च ९ लाख रुपैयाँ अर्थात् ७९.२१ प्रतिशत भएको छ । चालु आर्थिक वर्षको प्रतिवेदन सार्वजनक गर्दै प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले चालुतर्फ विनियोजित ४४ करोड ७३ लाख रुपैयाँमध्ये ३७ करोड ६६ लाख रुपैयाँ अर्थात् ८२.२ प्रतिशत र पुँजीगततर्फ विनियोजित २८ करोड ६० लाख रुपैयाँमध्ये २० करोड ४३ लाख अर्थात् ७१.७२ प्रतिशत खर्च भएको जानकारी दिए ।

आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि गाउँपालिकाले ५८ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको छ । विगत वर्षको एक करोड ५६ लाख रुपैयाँ बेरुजु चालु आर्थिक वर्षमा लेखापरीक्षण गर्ने क्रममा सम्परीक्षण गरेर फछ्र्यौट गरिएको देवकोटाले बताए ।

उनकाअनुसार स्वास्थ्यतर्फ गाउँपालिकाले ल्याएको ५० प्रतिशत अनुदानमा बिमा गर्ने कार्यक्रमबाट १ हजार ६७४ जना लाभान्वित भएका छन् । त्यसमध्ये ५६ जना विपन्न परिवारलाई शत प्रतिशत अनुदान उपलब्ध गराइएको छ । चालु आर्थिक वर्षमा १ हजार १७४ जना पशु पालकलाई औषधि वितरण गरिएको र त्यसबाट ४ हजार ३२५ पशु लाभान्वित भएको प्रतिवेदनमा उल्लेख छ ।

अध्यक्ष भन्छन्, चुनावको १५ दिनअघिसम्म निष्पक्ष

पालिका हाँक्नेलाई राजनीतिक आस्था हेरेर बजेट, योजनामा विभेद हुने गरेको आरोप छ । अन्नपूर्णका अध्यक्ष विष्णुबहादुर केसीले आफूले अहिलेसम्म कसैले राजनीतिक आस्थाको हिसाबले निर्णय गरेको भनेर प्रश्न उठ्ने गरी काम नगरेको दाबी गरे । ‘मेरो नेतृत्वकोको टिम आएको एक वर्ष भयो तर आजसम्म राजनीतिक पूर्वाग्रह राखेर निर्णय गरेको छैन,’ शुक्रबारको सार्वजनिक सुनुवाईमा उनले थपे, ‘आफूलाई मन नपर्ने निर्णय भएपछि अनेक भन्नु त मानवीय चरित्र नै हो । तर, कुनै ठाउँमा राजनीतिक आस्थामा रहेर निर्णय गरेको भए त्यो मान्छेले प्रमाणसहित गाउँपालिका आए बल्ल स्वीकार्छु ।’

आर्थिक स्रोतको अभावले पाँच वर्षमा चाहेजस्तो काम गर्न सक्ने अवस्था नभए पनि सुरुआत भने गर्ने उनको भनाइ थियो । अध्यक्ष केसीले बाँकी ४ वर्षको कार्यकालमा पनि निष्पक्ष भएर काम गर्ने बताए । ‘हामी जति बाँडिए पनि चुनावभन्दा १५ दिनअगाडि टिकट पाएपछि हो । फेरि टिकट पाइन्छ–पाइँदैन थाहा छैन । तर, त्यो चुनावसम्म निष्पक्ष भएर काम गर्ने हो,’ उनले भने, ‘कास्कीका पाँच पालिकामध्ये हामी हरेक हिसाबले पहिलो छौं । यसलाई पहिलो बनाइराख्ने चुनौती सम्झेर काम गर्छौं ।’

विपद् व्यवस्थापनका सामान त्रिपाल बाँड्ने विषयमा उठेका प्रश्नमा आफ्नो ध्यानाकर्षण भएको उनले बताए । त्यहाँ प्रक्रियागत त्रुटि रहेको स्वीकार्दै उनले आगामी वर्षदेखि वडाबाट सिफारिस हुँदै कडाइ गर्ने अध्यक्ष केसीले सुनाए । ‘सहयोग भनेको जसले केही गर्न सक्दैन उसलाई दिने हो । तर, यहाँ माग्न आउनेकहाँ हेर्न जाँदा दिनैपर्ने खालको अवस्था हुँदैन,’ उनले थपे, ‘सिफारिस नदिए वडाध्यक्षलाई पनि ठूलो पल्टियो भन्ने हुन्छ । तर, अब अतिविपन्न जो हो त्यो पहिचान गरेर बल्ल दिने व्यवस्था गर्छौं ।’ वडा नम्बर १, २ र ३ मा गाउँपालिकाबाट सामान लिएर घरमा लगेर थन्क्याउने अवस्था आफूहरुले अनुगमन गर्दा देखेको उनको भनाइ थियो ।

 

 

३१ असार २०८०, आईतवार १७:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर :

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. :

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
द्वारा सञ्चालित गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा