पोखरा– अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा सञ्चालित यसवर्षको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार-२०८० पत्रकारद्वय रूपनारायण ढकाल र सन्तोष पोखरेललाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । पुरस्कारको राशी २५ हजार नगद, दोसल्ला र सम्मानपत्र छ । यो दोस्रो पुरस्कार हो ।
छनौट भएका प्रतिभामध्ये पत्रकार रुपनाराण ढकाल विगत २५ वर्षदेखि पोखरालाई कार्यक्षेत्र बनाएर पर्यटनका क्षेत्रमा कलम चलाउँदै आएका छन् । हाल उनी आदर्श समाज र रिसेन्टफ्यूजन नामक अग्रेजी संस्करणको अनलाईपत्रिकामा आवद्ध छन् । त्यस्तै अर्का प्रतिभा पत्रकार सन्तोष पोखरेल विगत १६ वर्षदेखि पत्रकारिता सक्रिय छन् । हाल उनी नागरिक दैनिकका लागि गण्डकी प्रदेशको व्यूरोको कमाण्ड सम्हाल्दै आएका छन् ।
प्रत्येक वर्ष वितरण गरिने भनिएको सो पुरस्कार कोभिड-१९ का कारण गत ३ वर्षदेख़ि स्थगित गरिएको थियो । दोस्रो पटक प्रदान गरिने यो पुरस्कार अन्नपूर्ण दिवसको अवसर पारी यही जेठ २० गतेका दिन वितरण गरिनेछ। यस अघि सो पुरस्कारबाट पत्रकारद्वय बासुदेव पौडेल र दीपक परियार पुरस्कृत भएका थिए ।
यसअघि नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष एबं पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य राजबहादुर गुरुङको संयोजकत्वमा पाँच सदस्यीय प्रतिभा छनोट समिति गठन भएको थियो । समितिको सदस्यमा पत्रकार एवं पर्यटन समितिका कानुनी सल्लाहाकार अधिवक्ता हरिप्रसाद भट्टराई, समितिका मिडिया संयोजक टंकराज अधिकारी भएको प्रतिभा छनौट समिति गठन भएको थियो । छनौट समितिमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ र महासचिव दिलीप गुरूङ पदेन सदस्य रहने व्यवस्था छ ।
समितिको आइतवार बसेको बैठकले प्रतिभा छनोट समितिको सिफारिस अनुमोदन गर्दै पत्रकारद्वय ढकाल र पोखरेललाई सो पुरस्कार प्रदान गर्ने निर्णण गरेको हो । समितिले प्रतिभा छनौटका लागि तयार पारेको कार्यविधि बमोजिम प्रतिभा छनौट गरिएको संयोजक राज बहादुर गुरूङले बताए ।
पुरस्कार अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा आँउदो जेठ १७ देखि २० सम्म घान्द्रुकमा आयोजना हुने दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको समापन समारोहमा वितरण गरिने समितिका मिडिया संयोजक टंकराज अधिकारीले जानकारी दिए। महोत्सवमा विविधि खेलकूद तथा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम समावेश गरिएको छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ ।
















