Play

दुई प्रहरी अधिकृत- जागिरे जीवनमा प्रायः सफलता तर राजनीतिमा बिर्सन लायक नतिजा

गुरुकुल खबर


वैशाख १० को उपनिर्वाचनको तीनवटै क्षेत्रको अन्तिम परिणाम आइसकेको छ । तीनक्षेत्रमध्ये दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हात पार्यो भने एक क्षेत्रमा जसपाका उम्मेदवारले जित हात पारे ।

यसपटकको निर्वाचनमा पनि गत मंसिरमा उठेका उम्मेदवारहरु चुनावी मैदानमा उत्रिए । ती मध्ये तनहुँ र बारामा दुई फरक राजनीतिक दलबाट उम्मेदवारी दिएका एउटै पृष्ठभूमिका दुई व्यक्तिहरुले ठूलो पराजय भोगे । ती मध्ये हुन् तनहुँबाट उम्मेदवारी दिएका पूर्व प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनाल र प्रहरी नायब महानिरीक्षक (डिआईजी) रमेश खरेल ।

सर्वेन्द खनाल (उम्मेदवार, तनहुँ-१, नेकपा एमाले)

सर्वेन्द्र खनाल । नाम सुन्ने बित्तिकै सफल प्रहरी, जसले संगठनमा रहँदा गरेका राम्रा कामको बयान धेरैले गर्ने गर्दथे । राम्रा काम गरेका उत्कृष्ट प्रहरी भएकै कारण नेपालको सबैभन्दा बलियो संगठनको नेतृत्व गर्ने मौका पाए ।

उनै सर्वेन्द्र जागिर सकिएसँगै पेन्सन पट्टा बोकेर राजनीतिमा होमिए । प्रहरीमा रहँदाको लोकप्रियतालाई राजनीतिमा प्रयोग गर्ने लोभसहित गत मंसिरमा सम्पन्न निर्वाचनमा काठमाडौं क्षेत्र नं. ६ का जनताको घरदैलोमा पुग्ने प्रयास गरे । उनी जनताको घरदैलोमा त पुगे होलान, तर जनताले उनको संसदको ढोकामा पुग्ने रहर पूरा गराइदिएनन् । अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग पराजित हुन पुगे ।

उनै सर्वेन्द्र गत निर्वाचनको निर्वाचन खर्चको विवरण नबुझाइनसक्दै फेरी संसद पस्ने चाहले जन्मेको ठाउँको ट्यागसहित तनहुँ पुगे । तर यसपटक पनि उनले आफ्नो चाह पूरा गर्न पाएनन् । त्यसमा बाधक बने त्यही राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले ।

तनहुँमा रास्वपा र कांग्रेस उम्मेदवारको लडाईँबाट आफूले बाजी मार्छु भन्ने सर्वेन्द्रको आशामा तनहुँका जनताले तुषारापात गरिदिए ।

तनहुँबासीले यसपटक रास्वपासँग कांग्रेस–एमालेलाई प्रतिस्पर्धा गर्ने अवसर नै दिएनन् । किनकी रास्वपाका उम्मेदवारले ३४ हजार बढी मत ल्याउँदा कांग्रेसका उम्मेदवारलाई २० हजार मै रोकिदिए । गत मंसिरको चुनावमा तनहुँमा नेपाली कांग्रेसका तत्कालिन उम्मेदवार एवं वर्तमान राष्ट्रपतिले २५ हजार मत ल्याएका थिए भने नेकपा एमालेका उम्मेदवारले १९ हजार मत ल्याएका थिए ।

यसपटक भने कांग्रेस उम्मेदवारले २० हजारबढी मत ल्याउँदा करिब ५ हजार मत घटे पनि एमाले उम्मेदवार खनालले जम्मा ८ हजार मत ल्याए । यसबाट एमाले उम्मेदवारले मंसिरमा ल्याएको भन्दा ११ हजार बढी मत घट्यो, जसबाट सर्वेन्द्रको राजनीतिक भविष्य संकटमा पर्ने देखिन्छन् ।

६ महिनाको अवधिमै दोस्रो पटक सांसद हुने चाहसहित मैदानमा उत्रिएका सर्वेन्द्रले एउटा कुरा भने पक्कै पुष्टी गरे, ‘नेपाल प्रहरी हो, सानो तिनो कुराले हार खाँदैन’ भन्ने । ६ महिनामा ‘कर्मभूमि’बाट राजनीतिकै लागि जन्मभूमि पुगेका सर्वेन्द्रले अब राजनीति गर्छन् वा गर्दैनन् त्यो समयले नै बताउला । दुई÷दुईपटकको पराजयले उनले पक्कै पनि आफू राजनीतिमा फिट नभएको महसुस गर्नुपर्ने हो ।

रमेश खरेल (उम्मेदवार, बारा-२, रास्वपा)

त्यस्तै उनै सर्वेन्द्रका जागिरे जीवनका प्रतिस्पर्धी हुन् रमेश खरेल । सर्वेन्द्रसँगको टकरावका कारण समयपुग्नुभन्दा केही अघि संगठन छाडेका रमेश खरेलको नियति पनि सर्वेन्द्रकै जस्तो भयो तर केही फरक । गत मंसिर र अहिले उपनिर्वाचन भएका अन्य दुई क्षेत्रमा जस्तो उनले रोजेको रास्वपाको माहौल बारा क्षेत्र नं. २ मा देखिएन । देशविदेशमा आएको घन्टीको माहौल बारामा आएन । जसले गर्दा जमानत समेत गुमाउन पुगे खरेलले ।

सर्वेन्द्रसँगको प्रतिस्पर्धामा आईजी हुन नसकेका खरेलले पार्टी परिवर्तन गरे भए पनि रास्वपाको पार्टीबाट चुनाव लडेर संसद छिर्ने दाउ उपेन्द्र यादवले पूरा हुन दिएनन् । यसअघि मंसिरमा काठमाडौं – १ बाट आफैं अध्यक्ष रहेको पार्टीबाट चुनाव लडेका खरेल यसपटक पार्टी नै परिवर्तन गर्दासमेत त्यति मत ल्याउन सकेनन् ।

खरेलको यसपटकको मत हेर्दा ‘रास्वपा’ होइन रास्वपाका अध्यक्ष ‘रवि’मात्र हिट भएको देखियो नेपालमा । तराईले परिवर्तन जरुरी देखेन जसरी पहाड अनि भित्रि मधेशले देख्यो । त्यसको पुष्टी खरेलले बारामा ल्याएको २ हजार ८२९ मतले गर्यो । सप्तरीबाट बारा आएर संसद छिर्ने साँचो बोक्ने लालसासहित मैदानमा रहेका उपेन्द्रले कांग्रेस, माओवादी जस्ता बलिया दलको सहयोगमा ५ हजारमात्र मतान्तरले विजयी बने । जबकि उपनिर्वाचनका अन्य दुई क्षेत्रमध्ये चितवनमा ४३ हजार र तनहुँमा १४ हजार मतान्तरले चुनावी नतिजा आएको छ ।

बारामा खरेलले आफ्नो माहौलभन्दा पनि रास्वपाको माहौललाई मतमा परिणत गर्दै संसद छिर्ने दोस्रो प्रयास गरेका थिए । तर उनी पनि असफल रहँदै संगठनमा रहँदा सर्वेन्द्र, गत मंसिरमा काठमाडौं र अहिले बारामा नियति तेहेर्याए ।

यसबाट जागिरे जीवनमा प्रायः ‘अपरेशन’हरुमा सफलता पाएका दुई प्रहरी अधिकृतले राजनीतिको ‘अपरेशन’ मा बिर्सन लायक नतिजा भोगे । राजनीति गर्न त्यति सजिलो रहेनछ भन्ने कुरा पक्कै पनि दोस्रोपटकको यी दुई पूर्वप्रहरीको असफल अपरेशनपछि अरुलाई पनि बुझ्ने मौका मिल्यो । प्रहरीको सफल कार्यकाल, राजनीतिको दुई बिर्सनलायक नतिजापछि अब उनीहरुले आगामी यात्रा सफल बनोस् ।

१३ बैशाख २०८०, बुधबार १३:३८ मा प्रकाशित
Nabintech