काठमाडौं । सत्ता गठबन्धन आबद्ध दलबीच मन्त्रालय भागबन्डामा सहमति लगभग जुटेको छ । गठबन्धन आबद्ध दलले सरकार विस्तार गर्न मन्त्रालय भागबन्डाको खाकासमेत बनाइसकेका छन् ।
शनिबार र आइतबार बसेको सत्ता गठबन्धन आबद्ध दलको अनौपचारिक बैठकमा मन्त्रालय भागबन्डाको खाका तयार गरिएको हो । तर, संख्यामा सहमति जुटे पनि कुन मन्त्रालय कसले लिने भन्नेमा असहमति कायमै छ । स्रोतका अनुसार अनौपचारिक सहमतिलाई नेताहरूले मन्त्रालयको नामसमेत टुंग्याएर औपचारिकता दिने तयारी गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनभित्र सहमति जुटाएर बुधबारसम्म मन्त्रिपरिषद्लाई पर्णता दिन चाहेका छन् ।
गठबन्धन आबद्ध मुख्य चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताबीचमा भएको अनौपचारिक छलफल अनुसार मन्त्रायल भागबन्डाको खाका तयार बनिसकेको छ ।
जसअनुसार कांग्रेस ८ मन्त्रालयसहित सरकारमा सहभागी हुने सम्भावना छ । कांग्रेसबाट सरकारमा उपप्रधानमन्त्रीसहित उपसभापति पर्णबहादुर खड्काले नेतृत्व गर्ने लगभग निश्चित छ ।
कांग्रेस उपसभापति खड्काले कुन दलले कुन मन्त्रालय लिने भन्ने टुंगिन बाकी रहेको बताए । उनले आइतबार संसद् भवन नया बानेश्वरमा सञ्चारकर्मीसगको संवादमा कुन दलले कुनकुन मन्त्रालय पाउने भन्ने तय हुन बाकी रहेको बताएका हुन् ।
‘कुन दलले कुन मन्त्रालय पाउने भन्ने तय हुन बाकी छ, तीन दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने गरी छलफल अघि बढेको छ,’ कांग्रेस उपसभापति खड्काले सञ्चारकर्मीसग भने ।
यसैगरी, नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाच मन्त्रालय यथावत् राख्ने सहमति भएको छ । माओवादी केन्द्रका केही मन्त्रीको जिम्मेवारी भने हेरफेर गर्ने प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डको तयारी छ ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी तीन मन्त्रालय लिएर सरकारमा जाने अवस्था बनेको छ । रास्वपा गृह मन्त्रालयको अडान छाडेर सरकारमा जान सहमत बनेको हो । यसअघि सो दलले गृह मन्त्रालयको अडान लिदै आइरहेको थियो भने सरकारबाट बाहिरिदा पनि प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन यथावत् राखेको थियो ।
रास्वपाले हाल १० पुसको सहमति कार्यान्वयन भए मात्रै सरकारमा जाने अडान लिइरहेको छ । रास्वपा यसअघि उपप्रधानसहित तीन मन्त्रालय लिएर सरकारमा सहभागी भएको थियो ।
यसैगरी, जनता समाजवादीले तीन मन्त्रालय दाबी गर्दै आए पनि दुई मन्त्रालय दिने गरी खाका बनेको छ भने नेकपा एकीकृत समाजवादीले पनि तीन मन्त्रालय दाबी गरे पनि दुई मन्त्रालय दिने गरी खाका तयार गरिएको स्रोत बताउछ ।
यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलाई पनि एक÷एक मन्त्रालयसहित सरकारमा सहभागी गराउने गरी तयारी भएको छ ।
यसैगरी, प्रभु साह नेतृत्वको आमजनता पार्टी पनि सरकारमा जानेछ । यस्तै, बाबुराम भट्टराई नेतृत्वको दल नेपाल समाजवादी पार्टी पनि सरकारमा जानेगरी खाका बनाइएको छ । स्वतन्त्र सांसद अमरेशकुमार सिंह पनि सरकारमा भित्रने इच्छा राख्दै आइरहेका छन् । तर, सत्ता गठबन्धनमै रहेको दल राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी हुनेछैन ।